५० रुपैयाँमा आइपीओ ल्याउन लागेको हाथवेले बुल मार्केटमा साढे ३ अर्ब कमायो



काठमाडौं । सेयर बजारको खेलाडीका रुपमा परिचित हाथवे इन्भेष्टमेन्ट कम्पनीले गत वर्ष अर्थात् सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा करिब २५८ प्रतिशतले आम्दानी बढाएको छ ।

सर्वसाधारणका लागि आइपीओ ल्याउने तयारीमा रहेको कमपनीले सन् २०२१ मा ३ अर्ब ५२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कोरोना महामारीपछिको समयमा सेयर बजारले बुलिस ट्रेन्ड समातेपछि कम्पनीको आम्दानीमा व्यापक वृद्धि भएको हो ।

कम्पनीले सन् २०२० मा ९८ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै कम्पनीले सन् २०२२ को पहिलो क्वाटरमा ९२ करोड २० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।

यसअघि कम्पनी गत कात्तिक महिनामा चुक्त पुँजीको ३० प्रतिशत रकम बराबरको सेयर आइपीओमार्फत् सर्वसाधारणका लागि निष्कासन गर्ने समेत निर्णय गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीले ३६ विभिन्न व्यक्ति र निजी संस्थाकोलगानी छ । जसमध्ये मुख्य लगानीकर्तामा आइएमई ग्रुप छ । जसमध्ये आइएमई ग्रुपका हेमराज ढकालको ३०.१ प्रतिशत सेयर छ । ढकाल आइएमई ग्रुपका सह-संस्थापक समेत हुन् । साथै, एसआर हाइड्रोपावजर एण्ड इन्भेष्टमेन्ट कम्पनीपको २८.१ प्रतिशत, अम्बिकाप्रसाद पौडेलको ९.६ प्रतिशत। निमिसा इन्भेष्टमेन्टको ५.७ प्रतिशत र बाँकी रहेको विभिन्न ३२ जनाको लगानी कम्पनीमा छ ।

सन् २००९ मा स्थापना भएपनि सन् २०११ देखि सञ्चालन भएको हो । कम्पनीले हाल विभिन्न सूचीकृत तथा सूचिकृत नभएका कम्पनी, रियल स्टेटलगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।

कम्पनीले हालै ५० करोड रुपैयाँ कर्जाका लागि रेटिङ समेत गराएको छ ।


क्लिकमान्डु