आइएमई ग्रुपको प्रवेशसँगै आक्रामक बन्यो मिदास, विद्यार्थीले एक वर्षमा ३ हजार तिरे पुग्ने
२० वर्षसम्म लाखौं विद्यार्थीका लागि कोर्स बुकलाई सहयोगी हुने गरी पाठ्यसामग्रीलाई एनिमेसनका माध्यमबाट सहज बनाएर सिडी, डिभिडी, पेनड्राइभ र एसडीकार्डमार्फत् बिक्री गर्दै आएको मिदास इक्लास अब भने अनलाइनमार्फत् हरेक विद्यार्थीको मोबाइल र ल्यापटपमा पुग्दैछ ।
काठमाडौं । २० वर्षअघि परम्परागत शिक्षण शैलीलाई परिवर्तन गर्ने लक्ष्य लिएर शुरु भएको मिदास इ-लर्निङ क्लास आज मुलुकको शिक्षामा डिजिटल क्रान्तिको सपना बोकेर अघिबढेको छ ।
सबै तहका विद्यार्थीका लागि लर्निङ प्रोसेस सिकाइदेखि उनीहरुको क्षमता अभिवृद्धि र रुचि अनुसारको क्रियाकलापमा संलग्न गराउँदै सहरदेखि दूरदराजका विद्यार्थीलाई एउटै प्लेटफर्ममा ल्याउने योजनाअनुसार मिदास अघिबढेको छ ।
विद्यार्थीमात्रै होइन, अभिभावक, शिक्षक र पढ्ने विद्यालयबीचको इकोसिस्टमलाई बलियो बनाउने लक्ष्यका साथ मिदास यतिबेला आक्रामकरुपमा सेवा बिस्तार गरिरहेको छ ।
र, यसलाई हाँक्दै छन्, छत्रहरि कार्की । अर्थात्, कम्पनीका संस्थापक र सीइओ ।
अष्ट्रेलियामा अध्ययनका क्रममा आफ्नै कम्पनी सञ्चालन गर्दै आएका कार्कीलाई २०५७ सालतिर अष्ट्रेलियामै रहँदा उनको कम्पनीका लागि ठूलो प्राजेक्ट आयो ।
प्रोजेक्टका लागि २/४ जना जनशक्ति भएरमात्रै पुग्दनथ्यो ठूलो संख्यामा जनशक्ति आवश्यकता थियो । उनले त्यो प्रोजेक्ट नेपालमै गर्ने सोचले केही समयका लागि नेपाल आए । र, मिदास नामको कम्पनी दर्ता गरे अनि काम गर्न थाले ।
केही समयमा उनको त्यो प्रोजेक्ट सकियो । उनी अष्ट्रेलिया फर्किने योजना बनाउँदै गर्दा २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । देशमा कर्फ्यू लाग्यो । राजनीतिक अवस्था परिवर्तन भयो ।
फलस्वरुप उनी तत्कालै अष्ट्रेलिया जान पएनन् ।
‘अष्ट्रेलियामा विद्यार्थीका रुपमा जागिर पनि गर्नुपर्ने हुँदा अध्ययनका लागि पर्याप्त समय हुँदैनथ्यो, मैले पढाइ पूरा गर्नका लागि भिडियो सामग्रीहरु बढी हेर्दथे, त्यसपछि कोर्स बुक पढ्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘मैले त्यहाँ सिकेको सीप र अनुभव मिदासमार्फत् नेपालमा पनि लागू गर्न खोजेको हो ।’
उसो त मिदास नाममा अष्ट्रेलियामा उनले पहिल्यै दर्ता गरिसकेका थिए । अष्ट्रेलियामा मिदास आइटी कम्पनीका रुपमा थियो ।
हाल मिदासले इलर्निङमात्रै होइन, स्वास्थ्य तथा कृषिको क्षेत्रमा पनि काम गर्ने योजना बनाइरहेको छ । स्वास्थ्यको हकमा त धेरै काम गर्नका लागि प्रक्रिया शुरु भइसकेको धेरै भइसकेको छ ।
मिदास शुरु हुनुमा इन्डोनेसियामा तत्कालीन समयमा विद्यार्थीमाझ गरिएको एउटा प्रयोग पनि उनका लागि सहयोगी बन्यो । वा, भनौं नेपालमा काम गर्नका लागि हौसायो ।
सन् १९९९ मा नेपाल र इन्डोनेसियाको अर्थतन्त्रको आकार लगभग उस्तै थियो । अधिकांश जनता कृषिमा आधारित थिए । फरक यत्ति हो कि नेपालका किसानले हलो जोत्थे भने इन्डोनेसियाका किसान माछा मार्थे ।
अधिकांश जनसंख्या गरिबीमै रहँदा इन्डोनेसियामा अधिकांश बालबालिका विद्यालय जान पाउँदैथे । त्यो समस्या समाधानका लागि विद्यार्थीहरु विहान स्कुल नै नआइदिने भएपछि शिक्षकले पढाएको कुरा रेकर्ड गर्ने र स्कुलमै विहान १० बजेदेखि टेलिभिजनमा बजाउन थालिएको रहेछ ।
विद्यार्थीहरु काम सकाएपछि टेलिभिजन हेर्न विद्यालय जान थालेछन् । यसरी विद्यार्थीलाई विद्यालयसम्म तान्ने काम टेलिभिजनले गरेको रहेछ ।
‘जब म सन् २००० मा नेपाल आइपुगे, तब मैले यहाँ पनि किन यो काम नगर्ने भन्ने सोचले मिसादको शुरु भयो,’ उनले भने, ‘पुस्तकमा पढेको कुरालाई भिडियोमार्फत् पढियो भने त्यो मस्तिष्कमा रहने सम्भावना धेरै रहन्छ ।’
उनका अनुसार भिडियो हेर्दै सिकाइको प्रक्रिया अघि बढाउँदा आँखा, कान र मस्तिष्क एकैसाथ काम गर्न पाउँछन् । यसले स्मरणशक्ति र बुझ्ने प्रक्रिया अझ बढी बढ्ने उनको भनाइ छ ।
जस्तै, पुस्तकमा पृथ्वीले सूर्यको परिक्रमा र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ भन्ने कुरा त पढ्यौं । तर, केही बुझेनौं । त्यसैलाई भिडियोका माध्यमबाट यसरी घुम्छ भनेर देखाउन सकियो भने त्यो छिट्टै र कहिल्यै नबिर्सने गरी बालमस्तिष्कमा बस्छ । पुस्तक पढेकै भरमा मात्रै बुझ्न गाह्रो हुन्छ ।
उसो त कार्कीलाई शुरुका दिनमा निजी लगानीमा व्यवसायिक काम गर्ने र पैसा कमाउने योजना थिएन । उनलाई लाग्थ्यो, शिक्षालाई डिजिटल माध्यमबाट सहरसँगै दूरदराजसम्म पुर्याउन सरकारको सहयोग चाहिन्छ । र, सरकार तयार पनि हुन्छ ।
उनले यसका लागि कक्षा १, कक्षा ५ र कक्षा ८ को विषयमा आधारित रहेर एनिमेटेड भिडियो बनाएर मन्त्रालयका सबै जसो कर्मचारी र मन्त्रीकहाँसम्म कैयन घण्टा, कैयन महिना र कैयन वर्ष बिताए । तर, हात लाग्यो शून्य ।
‘मन सबैले पराए तर काम गर्न कोही तयार भएनन्,’ उनले भने ।
त्यसपछि अंकल, अन्टीलगायतका केही व्यक्तिहरुसँग पैसा जुटाएर उनले मिदास कम्पनी शुरु गरे ।
कम्पनीले सिडीमा एनिमेटेड भिडियो तयार त पार्यो । तर, बजारसम्मको नेटवर्क भएन । यसको समाधान खोज्दै जाँदा एकता बुक्स जोडिन आइपुग्यो ।
‘एकता बुक्सको नेटवर्क राम्रो थियो, एकता बुक्सका रामचन्द्र दाईसँग कुराकानी भएपछि हामीले गर्ने उत्पादन विद्यार्थी, अभिभावकसँग पुर्याउने काम शुरु भयो,’ उनले भने ।
तर, एउटा समस्या थियो, पेमेन्टको ।
हामीले डिजिटल शिक्षा त भनियो । तर, पेमेन्ट लिने प्रक्रिया भने सहज भएन । त्यो बेलामा वालेट थिएनन् अनलाइन भुक्तानी हुने कुरै भएन । यो समस्या पछिल्लो २/३ वर्षअघिसम्म रह्यो ।
‘सिडी, डिभिडी, एसडी कार्ड, पेनड्राइभबाट पाठ्य सामग्री बिक्री त भयो तर पैसा उठाउने सहज उपाय थिएन । त्यसैले पुस्तक पसललाई २५ प्रतिशत कमिसनमा जिम्मा लगायौं,’ उनले भने, ‘पछि इसेवासँग पेमेन्टका लागि सहकार्य गर्दा १८ प्रतिशत कमिसन बुझाएर पेमेन्ट लिन थाल्यौं ।’
मिदासको शुरुवात सिडीबाट भयो । अर्थात्, सिडीमा पाठ्यसामग्री भर्ने र बजारमा पठाउने । तर, सिडीमा एउटा समस्या थियो । धेरै सामग्री नै नअट्ने । सिडीमा बढीमा ३÷७ सय एमबीको मात्रै भिडियो अट्न सक्थ्यो । पछि ७÷८ सय एमबीसम्मको आउन थाल्यो । तर, त्यो पनि पर्याप्त थिएन ।
‘सिडीमा धेरै सामग्री अटोस भन्नका लागि फ्लास एनिमेसन प्रयोग गर्दथ्यौं,’ उनले भने ।
काम गर्दै जाँदा अर्को समस्या थपियो एनिमेसन गर्ने आर्टिस्ट नै भएनन् ।
मिदासले यसका लागि क्यानडाबाट ४ जना आर्टिस्ट ल्याएर यहाँका तालिम दिन थाल्यो ।
‘क्यानडाबाट आएका ४ जना आर्टिस्टले ललितकला क्याम्पसमा पढ्ने ८० भन्दाबढी विद्यार्थीहरुलाई जम्मा पारेर उनीहरुलाई ट्याबमा एनिमेसन बनाउन सिकाए । यो तालिम ६/७ महिना नै चल्यो,’ उनले भने ।
त्यसरी सिकाएर तयार पारेका जनशक्तिहरुले नर्सरीदेखि कक्षा १० सम्मको पाठ्यसामग्री बनाउनका लागि ४/५ वर्ष लगाए ।
फेरि अर्को समस्या निस्कियो । अब मास स्केलमा जाने समयमा बजारको समस्या आयो । अर्थात्, हरेक घर–घरमा कम्प्युटर थिएन । कम्प्युटरको पहुँच निकै कममा थियो । यस्तो अवस्थामा विद्यार्थीले किनेर पढ्ने भन्ने अवस्था भएन ।
प्रत्येक घरमा जान सक्ने अवस्था नभएपछि विद्यार्थीहरु जम्मा हुने विद्यालयलाई उनीहरुले सेवा दिने लक्ष्य लिए ।
‘विद्यालयमा कम्प्युटर भइहाल्छ । र, त्यो सबै विद्यार्थीका लागि पनि सहज हुने अवस्था थियो, त्यसैले हामी मुलुकभरका १५ सय विद्यालयमा पुग्यौं,’ उनले भने ।
उनीहरु विद्यालय व्यवस्थापनलाई आफ्ना कुराहरु बुझाउँथे । व्यवस्थापकहरु यो त राम्रो कुरा रहेछ, लौ यसरी बच्चाहरु पढाउन पाए त राम्रो हुन्छ भन्ने तर यहाँ पनि अर्को समस्या जन्मियो ।
शिक्षकहरुले कम्प्युटर नै चलाउन जानेनन् । उनीहरुले नै कम्प्युटर चलाउन जाँदैनन् भने विद्यार्थीलाई कसरी सिकाउने ?
जहाँ समस्या, त्यहाँ उपाय ।
कार्कीले शिक्षकलगायत सबैलाई हुने गरी कम्प्युटर सिकाउन सन् २००६ मा नेपाली भाषामा ‘कम्प्युटर गुरु’ भन्ने पुस्तक निकाले ।
‘विन्डोज ९७, अफिस २००० लाई आधार बनाएर तीनवटा सीडीमा लेभल १, २ र ३ गरेर कम्प्युटर गुरुको कोर्स तयार भयो । त्यो समय या निकै धेरै बिक्री भयो,’ उनले भने ।
समयक्रमसँगै सिडीको जमाना पुरानो हुँदै जाँदा डिभिडीले स्थान लियो । डिभिडीमा स्टोरेज क्षमता बढी हुने भएकाले केही सहज भयो ।
त्यसपछि पेनड्राइभ र एसडी कार्डमा पनि सामग्री बिक्री गर्न थाल्यौं । त्योबेलामा डिभिडी कतिपय अवस्थामा नचल्ने र चले पनि २/४ पटक चलाएपछि बिग्रने समस्या हुनथाल्यो ।
यता पेनड्राइभ सहज भए पनि महंगो भयो । एउटा पेनड्राइभ किन्न १ हजारदेखि २ हजार रुपैयाँ पर्ने तर सामग्री ८ सय रुपैयाँमा तयार हुन्थ्यो । यसरी कम्तीमा ३ हजार रुपैयाँमा बिक्री गर्दा समस्या हुन थाल्यो ।
त्यसैले यो पब्लिकलाई बिक्री गर्न सम्भव भएन ।
‘यद्यपि डिभिडीमा भने पाठ्यसामग्री बिक्री गर्दै आएका थियौं,’ उनले भने ।
लागत कम होस् भनेर मिदासले एकैपटक ठूलो संख्यामा एसडी कार्ड पनि ल्यायो । त्यो बेलामा ४÷५ सय रुपैयाँ एसडी कार्ड ल्याइएको थियो । तर, त्यसमा पनि ल्यापटपमा प्रयोग गर्न अर्को डिभाइस चाहिने र समस्या भयो ।
यद्यपि डिभिडीको बजार भने भूकम्पपछिसम्म पनि राम्रोसँग चल्यो । वर्षेनि १ लाखभन्दा बढी डिभिडीको बिक्री हुने अवस्था सिर्जना भएको थियो ।
कम्पनी शुरु भएको १५ वर्षसम्म कार्कीका लागि अवस्था त्यत्ति सहज भएन । अर्थात्, कम्पनी घाटामा कहिल्यै गएन तर जति नाफा हुन्छ त्यति लगानी बढ्दै गयो ।
कारण बदलिँदो अवस्थासँगै प्रत्येक पटक लगानी बढ्दै जान्थ्यो । प्रविधिले जसरी फड्को मारिरहेको छ सोही अनुसार चल्नका लागि लगानी बढ्दै गयो ।
अवस्था यतिसम्म पनि आयो कि तलब खुवाउने कहिले कुन लगानीकर्ता त कहिले कुन लगानीकर्ताको चेक साट्नु पर्दथ्यो ।
तर, कार्की हरेस भने खाएनन् । डटेर लागिरहे । उसो त कुनै समय करिब ७/८ करोड रुपैयाँको कारोबार नभएको होइन । यसबीच कम्पनीमा उतारचढावहरु पनि कैयन आए ।
सन् २०१६ सम्म आइपुग्दा अर्को चुनौती थपियो ।
‘हामीकहाँ युट्युब सहज हुन थाल्यो । सामान्य जानकारी युट्युवबाटै प्राप्त हुन थालेपछि मैले एप बेस्डमा जाने निर्णय गरे । सबै कन्टेन्टलाई एप र वेवमा ल्याउनका लागि २/३ वर्ष लाग्यो । सन् २०१८ मा मोबाइल एप र वेव शुरु गर्यौं,’ उनले भने ।
विद्यार्थीका लागि युट्युव र गुगलमा निःशुल्क प्राप्त हुने कन्टेन्ट बढी हावी हुन थालेपछि अब पढाउने विषय कन्टेन्ट दिएको भरमा मात्रै पुग्दैन भन्ने निचोडमा कार्की पुगिसकेका थिए ।
कार्कीलाई अब प्रडक्टलाई रिडिफाइन गर्नुपर्छ भन्ने लाग्यो र यसका लागि काम पनि शुरु गरे ।
कम्पनीको स्लोगन पनि परिवर्तन गरे र राखे, ‘मिदास इ–क्लास, सिम्पिलिफाइङ लर्निङ प्रोसेस’ ।
‘हामीले प्रडक्टमात्रै बिक्री गरेर भएन, त्यसमा ह्युमन टचको आवश्यकता थियो । र, प्रडक्ट लर्निङ प्रोसेसमा बढी फोकस हुनुपर्ने थियो,’ उनले भने ।
सन् २००० तिर झिलिक्क एनिमेसन देख्न पाउनु पनि ठूलो कुरा थियो । त्यसपछि कम्प्युटर सिकाउनमै समय लाग्यो ।
‘अहिले विद्यार्थीहरु डिजिटल्ली अकुपाइड छन् । जस्तै विद्यार्थीहरु फेसबुक, युट्युवजस्ता सामाजिक सञ्जाल र पब्जीजस्ता गेमिङ एपमा अकुपाइड छन् । अब हामीले विद्यार्थीलाई त्यसैगरी लर्निङमा अकुपाइड गराउन सक्नुपर्छ,’ उनले भने ।
तपाईंको लर्निङ प्रोसेस सिक्नु भयो भने तपाईंलाई पछि समस्या हुँदैन भन्ने हिसाबले अहिलेको फोकस त्यसमा केन्द्रित भएका छौं ।
लर्निङ प्रोसेस भनेको कस्तो हो भने, उदाहरणका लागि, तपाईं पहिलो पटक काठमाडौं आउनु भएको छ । र, तपाईं आफैं कोटेश्वर जानु छ भने तपाईंले पहिले कोटेश्वर जाने बस खोज्नुहुन्छ, त्यसपछि हरेक चोक पुग्दा कोटेश्वर आयो कि भनेर खोज्नुहुन्छ, कोटेश्वर पुगेर बसबाट झरेपछि फेरि गन्तव्यसम्म पुग्न बाटो पहिल्याउँदै जानुपर्छ । यति गर्दासम्म तपाईंलाई यसबीचमा भएका सबै स्थानबारे थाहा पाउनुहुन्छ । यो तपाईंको लर्निङ प्रोसेस भयो । अब तपाईंलाई अर्को पटक यो स्थानसम्म पुग्न समस्या हुँदैन ।
तर, यदि बसपार्कमै कोही लिन आयो भने तपाईंलाई यी स्थानबारे जान्नु जरुरी हुँदैन, जान्नु पनि हुँदैन । र, अर्को पटक तपाईंलाई जान गाह्रो हुनसक्छ । त्यसैले अहिले हाम्रो सिकाइको उद्देश्य नै लर्निङ प्रोसेसमा हो ।
अहिलेको हामी धेरै मानिसहरुको चासो लर्निङ प्रोसेसमा भन्दा बढी आउटकममा छ । तर, लर्निङ प्रोसेस सिकियो भने पछि जुनसुकै समस्या आउँदा पनि समस्या हुँदैन । लर्निङ प्रोसेसमा विद्यार्थीले आफैं समस्या समाधानको उपाय खोज्छ । लर्निङ प्रोसेसमा विद्यार्थीसँग जिज्ञासा उत्पन्न हुन्छ । र, समस्या समाधानका लागि योजना बनाउँछ । त्यसैले अहिले मिदासले लर्निङ प्रोसेस सिकाउनमा केन्द्रित छ ।
‘सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर मिल्दैन, त्यसैले विद्यार्थी अनुसार भिडियो हेर्दा लर्निङ प्रोसेसका आधारमा भिडियो राखिएको छ,’ उनले भने, ‘यसले गर्दा कुनै पनि विषयमा जिज्ञासा बढाउँदै समस्या समाधान गराउनेतर्फ केन्द्रित गरी भिडियो तयार पारिएको छ ।’
यति गर्दा पनि विद्यार्थीले विषयवस्तु बुझेन वा उसको जिज्ञासा मेटिएन भने हरेक समयमा अनलाइनमा शिक्षकहरु उपस्थित छन् । जहाँ विद्यार्थीहरुले अनलाइनमा च्याट वा प्रत्यक्ष भिडियोमा फेस टु फेस अन्तरक्रिया गरी जिज्ञासा मेट्न सक्छन् ।
साथै, सँगसँगै अन्तिम चरणमा परीक्षामा कसरी प्रस्तुत हुने, परीक्षालाई कसरी लिने भन्ने विषय सिकाउने प्रयास गरिन्छ । अघिल्ला चरणहरुमा सिकेको, जाने बुझेको विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने अन्तिम चरणमा आउँछ ।
त्यसबाहेक पनि पाठ्यक्रममा पढेको कुरालाई प्रोजेक्ट वर्कमा लागू गरिन्छ । जस्तै, कसरी स्वस्थ रहने, कसरी व्यवहारिक जीवनमा कार्यान्वयन गर्ने, किचनमा के काम कसरी गर्ने, वातावरणसँग सम्बन्धितम काम कसरी गर्ने भन्ने विषयमा पनि सिकाइन्छ ।
अब यसरी सिकेको कुरालाई कथामा, लेखमा, आर्टमा, म्यूजिकलगायतका माध्यमबाट प्रस्तुत गर्न लगाउँछौं । जस्तै, नङ काट्यो भने मात्रै पनि नङको चित्र बनाउन सक्यो । यसरी सबै विद्यार्थीहरुले यी काम गर्दै १० वटा चरण पार गरिसकेपछि उनीहरुले राम्रो काम गरे वापत केही रिवार्ड प्वान्ट अनुसार गिफ्ट कार्डहरु पनि पाउँछन् ।
यसका साथै मिदासमा विद्यार्थीहरुले आफ्नो इच्छा अनुसारको काम गर्न पाउँछन् । शिक्षक र अभिभावकले जहिले पनि पढ, होमवर्क गर भनेर मात्रै पुग्दैन भन्ने उद्देश्यले ‘हवी सेक्सन’ राखिएको कार्कीको भनाइ छ ।
उनीहरुको रुचि, चाहना र इच्छाअनुसार अनलाइनबाटै भ्वाइलिन र गितार सिक्न पाउँछन्, नृत्य सिक्न पाउँछन्, गीत गाउन सिक्न पाउँछन् ।
उनीहरु एक महिना बाँसुरी सिक्छन् भने अर्को महिना नृत्य सिक्न पाउँछन् । यसको उद्देश्य मिदासमार्फत् विद्यार्थीले उनीहरुको रुचिअनुसार विषयमा जानकारी राखुन भन्ने हो । यसको अर्थ जीवन जिउन सहज बनाउन खोजिएको हो । उनीहरुको आत्मविश्वास बढाउने मात्रै होइन, आफ्नो रुचि र क्षमता कुन क्षेत्रमा छ भन्ने स्वयं पहिचान गर्न पनि सहज हुन्छ ।
‘मिदासको उद्देश्य ‘एभ्री वान सुड बि क्यापेल एण्ड बि कन्फिडेन्ट’ नै हो,’ उनले भने ।
‘शुरुमा हामीसँग ७ लाख विद्यार्थीहरु आबद्ध थिए । तर, सन् २०२२ को जनवरी १ देखि आजसम्म १ लाख १० हजारभन्दा बढी विद्यार्थी आबद्ध भएका छन् । तर, दैनिक अध्ययन गर्ने विद्यार्थीहरु २५ हजारको आसपासमा छन् भने दैनिक २ हजारभन्दा बढीले अनलाइनमा प्रत्यक्षरुपमा शिक्षकसँग पपिन अन्तरक्रिया गरिरहेका हुन्छन्,’ उनले भने ।
मिदास इ–लर्निङ विद्यार्थीको मनोरञ्जनका लागि हो, उनीहरुको रुचि अनुसारको सिकाइका लागि हो । त्यही रुचि वा सौख पूरा गर्ने क्रममा उनीहरुले पढाइ पनि पूरा गर्छन् । यो लर्निङको एउटा प्रोसेस पनि हो ।
‘विद्यार्थीहरुलाई पढ्न कहिल्यै मन पर्दैन, कुनै पनि तहको विद्यार्थीलाई पढ्न रहर लाग्दैन, शिक्षकले होमवर्क दिने काम पढोस् भनेरै हो, विद्यार्थीलाई आफ्नो सौख पूरा गर्न भने मनपर्छ र उनीहरु सौख आजका दिनमा डिजिटल प्लेटफर्ममा इंगेज नै हुने हो,’ उनी भन्छन्, ‘विद्यार्थीहरुको रुचिमा आबद्ध बनाएर पढाइलाई पनि सँगै लगिएको हो ।’
मिदासमा विद्यार्थीले कसरी पढ्ने त ?
मिसादको मोबाइल एप वा वेवसाइटमा लनइन गरेर विद्यार्थीले नर्सरी, एलकेजी र यूकेजीदेखि १० कक्षासम्मका सबै विषय भिडियोबारे अध्ययन गर्न सक्छन् । यसका लागि कम्पनीले शुरुको १५ दिन निःशुल्क सेवा उपलब्ध गराएको छ ।
अर्थात्, विद्यार्थीले पहिलो १५ दिनमा पैसा नबुझाई सबै सेवा उपयोग गर्न पाउँछन् । तर, यो पहिलो १५ दिनमा शिक्षकसँग अनलाइनमा प्रत्यक्ष सम्पर्क गरी जिज्ञासा राख्न भने पाउँदैनन् ।
हाल विद्यार्थीका लागि मिदासले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विद्यालयस्तरको पाठ्यक्रममा आधारित रहेर भिजुअल सामग्री उपलब्ध गराएको छ ।
त्यसैगरी कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान विषय पढ्ने विद्यार्थीहरुले कोर्स अध्ययन गर्न सक्छन् भने बीबीएस पहिलो वर्षदेखि चौथो वर्षसम्मका विद्यार्थीले अध्ययन गर्न सक्छन् ।
खर्च कति लाग्छ ?
सबै कक्षाका विद्यार्थीका लागि मासिक एउटा विद्यार्थीका लागि ३७५ रुपैयाँ शुल्क लाग्छ भने वार्षिकरुपमा तिर्ने हो भने ३ हजार रुपैयाँ भए पुग्छ ।
यदि साथमा शिक्षकसँग पनि साक्षात्कार गर्ने भने मासिक ९९० रुपैयाँ बुझाउनु पर्छ भने वार्षिकरुपमा ८ हजार रुपैयाँ बुझाए पुग्छ ।
मिदासले प्याकेजलाई १ महिना, ३ महिना, ६ महिना र १ वर्षमा विभाजन गरेको छ ।
गत वर्षसम्म ९ लाख पटक एप डाउनलोड भएको थियो भने हाल नयाँ भर्सनको एप १ लाख १० हजारभन्दा बढी लाउनलोड भएको छ भने यो एक वर्षमा ५ लाखभन्दा बढी पटक डाउनलोड हुने अपेक्षा गरिएको छ भने ५ लाखमध्ये ३ लाख सक्रिय प्रयोगकर्ता हुनेछन् भन्ने अपेक्षा हो ।
रिवार्ड प्वाइन्ट
विद्यार्थीहरुले मिदासमा पढ्नेमात्रै होइन पढाइसँगै गेम खेल्दा रिवार्ड प्वान्ट पाउँछन् । र, यसरी निश्चित रिवार्ड प्वाइन्ट पूरा गरेपछि उनीहरुले गिफ्ट ह्याम्परहरु पाउँछन् । फनपार्कको टिकटदेखि मुभी टिकट वा रेष्टुराँको गिफ्टह्याम्पर पाउँछन् ।
तर, यसका लागि उनीहरुले पढ्नु भने पर्छ । मिदासको एप वा वेवमा हरेक दिन आउने क्वीजमा भाग लिनुपर्छ । भाग लिँदा उत्तर मिलाएमा उनीहरुले रिवार्ड प्वाइन्ट पाउँछन् । त्यसका साथै, नियमित अध्ययन, अतिरिक्त क्रिकलापमा सहभागी भए पनि प्वाइन्ट पाउँछन् । जसलाई उनीहरुले गिफ्ट भौचरमा कन्टर्ट गर्न पनि सक्छन् ।
अभिभावकले के खोज्छन् ?
अभिभावकहरु जहिले पनि सन्तानले राम्रो पढोस् । धेरैभन्दा धेरै पढोस । र, परीक्षामा राम्रो अंक ल्याओस भन्ने चाहन्छन् । तर, बच्चालाई पढाइमात्रै होइन, अतिरिक्त क्रियाकलाप पनि चाहिन्छ । यसका लागि मिदासले सम्बोधन गरिसकेको छ ।
अब अभिभावकलाई राम्रो विद्यालयमा अध्यापन गराउने राम्रो शिक्षक पनि चाहिन्छ ।
जस्तैः कुनै अभिभावक भोजपुरमा छ । र, उसले काठमाडौं ल्याएर सन्तान पढाउन सक्दैन भने मिदासमार्फत् काठमाडौंका राम्रा भनिएको विद्यालयका राम्रा शिक्षकसँग मिदासमार्फत् पढ्न पाउँछन् । त्यो पनि न्यूनतम शुल्कमात्रै बुझाएर । यसरी मिदासले दूरदराजका विद्यार्थी र काठमाडौंका राम्रा विद्यालयमा अध्यापन गराउने राम्रा भनिने शिक्षकसँग जोड्ने कामसमेत गरिरहेको छ ।
अभिभावकका लागि के फाइदा ?
मिदास इ-लर्निङमा यदि पहिलो पटक प्रवेश गर्नु भएको छ । र, तपाईंलाई केही जानकारी छैन भने तपाईंका लागि १२/१५ जना काउन्सिलरहरु तयार हुनुहुन्छ । जसले तपाईंलाई काउन्सिलिङ गर्नुहुनेछ । हाल दैनिक ४ हजारदेखि ५ हजार अभिभावकहरु अहिले दैनिक काउन्सुलरसँग अन्तरक्रिया गरिरहेको हुनुहुन्छ ।
मिदासभित्र छिर्ने वित्तिकै २ मिनेटको सानो भिडियो आउँछ । र, त्यहाँबाट सीधै जुम मिटिङमा पुग्न सकिन्छ । जहाँ काउन्सिलरहरुसँग अन्तरक्रिया गर्न पाइन्छ ।
शिक्षकले कसरी फाइदा लिने ?
मिदासमा यसअघि ४० हजार शिक्षक जोडिएका थिए भने हाल नयाँ भर्सन आएपछि जोडिने शिक्षकहरुको संख्या न्यून छ । यद्यपि शैक्षिक सत्र शुरु हुने समय आएपछि मिदाससँग सहकार्य गर्ने शिक्षकहरुको संख्या बढ्ने कार्कीको विश्वास छ ।
विशेषगरी निजी विद्यालयका शिक्षकका लागि नियमितरुपमा लिने परीक्षा समस्या हो । प्रत्येक महिना ४÷५ वटा क्लासका लागि प्रश्नपत्रको सेट बनाउनु, परीक्षा पनि, उत्तरपुस्तिकार जाँच गर्नु र साथमा विद्यालय समयमा अध्यापनको काम त छँदै छ । यस्तो अवस्थामा शिक्षकले मिदासलाई सहयोगी तथा सिक्ने प्लेटफर्मका रुपमा प्रयोग गर्न सक्छन् ।
पहिलो मिदासमा जोडिने शिक्षकलाई प्रत्येक पटक प्रश्नपत्रको सेट बनाइराख्नु पर्दैन । मिदासले शिक्षकलाई उसका विद्यार्थीका लागि सोधिने प्रश्न प्रश्नको सेट नै मिलाएर दिन्छ ।
यसका लागि शिक्षकले आफूले के पढाएको हो त्यो भने पढाई सकिएपछि मिदासलाई जानकारी दिनुपर्ने हुन्छ । सोही जानकारी अनुसार विद्यार्थीले प्रश्नपत्र पाउँछन् ।
यसो गर्दा शिक्षकलाई रिवार्ड प्वाइन्ट प्राप्त हुन्छ । जुन रिवार्ड प्वान्टबाट उनीहरुले उपहार प्राप्त गर्न सक्छन् । साथै, कहिलेकाहीँ शिक्षकलाई कुनै विषयमा थप जानकारी आवश्यक भयो वा सिक्न चाहेमा मिदासमा मेन्टरहरु पनि उपलब्ध हुनुहुन्छ ।
यति गर्दा शिक्षकहरुले मिदासको सेवा उपयोग गरेवापत शुल्क भने बुझाउनु पर्दैन ।
विद्यालय कसरी जोडिने ?
मिदासमा विद्यालय म्यानेजमेन्टका लागि सेवा उपलब्ध छ । विद्यालयले मिदासमा जोडिएर विद्यार्थी र शिक्षकका लागि सेवा लिन सक्छ र निःशुल्करुपमा मिदासको सेवा उपयोग गर्न सक्छ ।
मिदासले विद्यालयका लागि प्रश्नपत्रहरुको सेट उपलब्ध गराउनुका साथै भिडियो सामग्रीमार्फत् शैक्षिक सामग्री समेत उपलब्ध गराउँछ । साथै, विद्यालयमार्फत् आउने विद्यार्थीहरुबाट थप सुविधाहरु पनि प्राप्त गर्नेछ ।
शिक्षकले कति कमाउँछन् ?
मिदासमा आबद्ध भएर मिदासमार्फत् अध्यापन गराउने शिक्षकहरुले आम्दानी पनि गर्न सक्छन् । यसका लागि मिदासको निश्चित प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
त्यो के भने, शिक्षकले अनलाइनमार्फत् अध्यापन गराउनका लागि शुरुमा पहिलो १५ दिन तालिम लिनुपर्छ । यसका लागि शुल्क भने बुझाउनु पर्दैन ।
मिदासले ट्याबसमेत दिएर दैनिक २ घण्टा लगातार १५ दिनसम्म पढाउँछ । यदि त्यो १५ दिनको तालिमबाट समक्ष भएर अनलाइनमा पढाउने भयो भने उक्त शिक्षकले तालिम लिँदा १५ दिन वापतको पैसा पनि पाउँछ भने त्यसपछि अनलाइनमा दैनिक २ घण्टा अनलाइनबाट विद्यार्थीलाई अध्यापन गराउँदा मासिका औसतमा १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँ कमाउन सकिन्छ । त्यसबाहेक स्नातक तहको कोर्स अध्यापन गराउँदा मासिक ४० हजार रुपैयाँसम्म पनि कमाउन सकिन्छ ।
यसरी मिदासमा जोडिने शिक्षकहरुको संख्या ३ सयभन्दा बढी छ । जो हरेक समय विद्यार्थीहरुका जिज्ञासा मेट्न तयार भएर बस्छन् ।
त्यतिमात्रै होइन, तपाईंले कोर्स बाहेकका अन्य विषय जुन विद्यार्थीका लागि काम लाग्छन् । ती विषयमा केन्द्रित रहेर भिडियो बनाउन सकियो भने पनि मिदास तपाईंका लागि उपयुक्त प्लेटफर्म हो ।
जस्तै, तितौरा बनाउने तरिका भिडियो बनाएर मिदासमार्फत् सिकाउन सकिन्छ । हाल मिदासमा ‘स्किलस ल्याव’ अन्तर्गतका १५ जना जति शिक्षकहरु आबद्ध छन् ।
तर, यस्तो कोर्स भने महंगो हुन्छ । अनलाइनबाट भ्याइलिन बजाउने लगायतका सीप सिक्न सक्ने हो भने त्यसको खर्च पनि धेरै हुने भएकाले महंगो भएको हो ।
आक्रामक बन्न आइएमइको प्रवेश
लामो समयसम्म डिजिटल शिक्षाको क्षेत्रमा काम गरिरहेको मिदासका लागि नयाँ भर्सनमा जान र बृहत् सञ्जाल बिस्तारका लागि तीन वटा पक्ष बलियो बनाउन जरुरी थियो ।
पहिलो शिक्षाको गुणस्तर अथात् राम्रो प्रडक्ट यो मिदाससँग पहिल्यै थियो । तर यो प्रडक्टलाई बजारसम्म लैजानका लागि ठूलो लगानी र नेटवर्क थिएन ।
त्यसैका लागि आइएमई ग्रुपको प्रवेश भएको हो ।
‘४ वर्षअघितिर हो सायद पहिलो पटक कुराकानी भएको थियो । तर, खासगरी पछिल्लो समयमा कोरोनाका कारण लकडाउन भएपछि बढेको अनलाइनको महत्वपछि सहकार्यको प्रक्रिया छिटो अघिबढ्यो,’ कार्कीले भने ।
उसो त मिदासले कम्पनीमा लगानीकर्ता थप गरेको पहिलो पटक भने होइन । यसअघि पनि लगानीकर्ताहरु आउने र जाने क्रम जारी नै थियो । एक समयमा २४ जना लगानीकर्तासम्म थिएन । अहिले त्यो संख्या घटेर १८ मा सीमित भएको छ । साथै, आइएमईको प्रवेशसँगै यो संख्या अझै घट्ने क्रममा छ । र, अब आइएमइसँगै आक्रामक भएर अघि बढ्न खोजेको हो ।
अबका दिन
कार्कीको योजना मुलुकका हरेक विद्यार्थीहरु मिदाससँग जोड्ने हो । तर, यसका लागि मोबाइल, ल्यापटप र इन्टरनेटको पहुँच आवश्यक छ ।
‘आजका दिनमा मिदास सबै ठाउँमा पुग्न सक्दैन, किनभने इन्टरनेट र मोबाइलको पहुँच सबै ठाउँमा थिएन, तर जहाँ–जहाँ पुगेको छ ती विद्यार्थीहरुलाई मिदाससँग जोड्ने हाम्रो योजना हो,’ उनले भने ।
उनले तीन वर्षभित्रमा कम्तीमा १५ लाख विद्यार्थी योजना बुनेका छन् । विद्यार्थीहरुलाई विभिन्न सेवा सुविधा दिँदै आकर्षित गर्ने अनेकन योजना बनाएका पनि छन् ।