अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा ठूला अर्बपति



एजेन्सी । भारतीय सत्तासँग मिलेर व्यवसाय गरिरहेको आरोप लागेको गौतम अडानीले कूल सम्पत्तिमा मुकेश अम्बानीलाई पछि पारेका छन् ।

यसअघि मुकेश अम्बानी भारतका सबैभन्दा शीर्ष स्थानमा रहेका धनीका रुपमा परिचित थिए ।

धनीहरुको सूची सार्वजनिक गर्ने फोब्र्सका अनुसार गौतम अडानीको कूल सम्पत्ति ९०.८ बिलियन डलर बराबर पुगेको छ ।

यस्तै, फोब्र्सका अनुसार मुकेश अम्बानीको सम्पत्ति भने मात्रै ९० बिलियन डलर बराबर रहेको छ ।

अम्बानीको तुलनामा अडानीको कूल नेटवर्थ १००० करोड भारु भन्दा बढी भन्दा बढी रहेको छ ।

पछिल्ला दिनमा भारतीय सेयर बजारमा व्यापक मात्रामा मन्दी देखिएको छ । जसको कारण रिलायन्सको सेयर मूल्यमा भारी मात्रामा गिरावट आएको छ । त्यसको असर मुकेश अम्बानीको कमाईमा पनि भारी मात्रामा गिरावट आएको छ । त्यसैको असर उनको कूल सम्पत्तिमा पनि देखा परेको छ ।

विवरण अनुसार जनवरी २५ मा नै गौतम अडानीको कमाईमा वृद्धि भई भारतीय अर्बपतिको सूचीमा अगाडि देखिएका हुन् । फोब्र्सको रियल टाइ नेटवर्थमा शुक्रबार पनि गौतम अडानी नै अगाडि देखिएका छन् । संसारभरका धनीहरुको सूचीमा अडानी ११ नम्बरमा छन् भने अम्बानी १२ औं नम्बरमा छन् ।


स्टक एक्सचेञ्चजको विवरण अनुसार रिलायन्सको सेयर मूल्यमा दुई दिनमा नै १५५ भारु बराबरको गिरावट आएको छ । पछिल्ला ५ दिनको कारोबारमा रिलायन्सको सेयर मूल्यमा २०० भारुको गिरावट देखिएको छ । फोब्र्सका अनुसार दुई दिनमा मात्रै अम्बानीको सम्पत्तिमा ७ अर्ब डलरको गिरावट देखिएको छ ।

उता गौतम अडानीको सम्पत्ति भने दिन दुई गुणा रात चार गुणाको दरमा बढेको देखिन्छ । फोब्र्स रियल टाइम विवरणअनुसार ३१ ीडसेम्बरमा गौतम अडानीको नेटवर्थ ७८ अर्ब डलर बराबर थियो । यस्तै, १८ जनवरीमा आइपुग्दा ९३ अर्ब डलर बराबर पुगेको थियो ।

जनवरी २५ मा आइपुग्दा अडानीको कूल नेटवर्थ ९० अर्ब डलरमा सिमित भयो । यस आधारमा अडानीको नेटवर्थ हरेक दिन ६००० करोड भारु भन्दा बढीले बढेको देखिन्छ ।

अडानी समूहको ६ कम्पनीको सेयर भारतीय सेयर बजारमा सूचीकृत छ । यस वर्षको जनवरीमा ती सबै कम्पनीको सेयर मूल्य न्यनतम ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशतसम्म वृद्धि भएको छ ।

खासरुपमा समूहको स्वामित्वमा रहेको इनर्जी कम्पनीको सेयरमा सबैभन्दा उच्च गतिमा वृद्धि भएको छ । त्यसमा पनि अडानी इनर्जीको सेयर मूल्यमा ४५ प्रतिशतले वृद्धि भएको छ । यसका अलावा अडानी ट्रान्समिशन कम्पनी र अडानी पावरको पनि कम समयमै बढी रिटर्न प्राप्त भएको छ ।

यी दुई भारतीयले हरेक क्षेत्रमा आफूलाई खरो रुपमा प्रतिस्पर्धामा उतारेका छन् । स्वच्छ ऊर्जादेखि नयाँ नयाँ क्षेत्रमा लगानीको दौड पनि उत्तिकै चलीरहेको छ । अम्बानीको कम्पनी रिलायन्स जियोले भारतका १००० शहरमा टेलिकम क्षेत्रको पाँचौ पुस्ताको ५ जी परीक्षण गरिरहेको छ ।


क्लिकमान्डु