६ महिनामा हालसम्मकै उच्च मकै आयात, अधिकांश मकै दानामा खपत



काठमाडौं । चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा हालसम्मकै उच्च मकै आयात भएको छ । भन्सार विभागको तथ्याङ्कले चालु आवको साउनदेखि पुस मसान्तसम्ममा अन्य वर्षको तुलनामा सो अवधिमा हालसम्मकै उच्च मकै आयात भएको देखाउँदछ ।

विगतको दिनमा वार्षिक १२ अर्बको हाराहारीमा मकै आयात हुँदै आएको थियो । तर, चालु आवको ६ महिनाको अवधिमै करिब १२ अर्ब रकम बराबरको मकै आयात भएको देखिन्छ ।

चालु आवको पुससम्ममा नेपालले विभिन्न देशबाट ११ अर्ब ७१ करोड ९३ लाख रुपैयाँको ३३ करोड ५२ लाख ३७ हजार केजी मकै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । सो आयातित मकैबाट नेपालले ६ करोड २३ लाख रुपैयाँ राजस्व महसुल संकलन गरेको छ ।

त्यस्तै, गत वर्षको सोही अवधिमा नेपालले ८ अर्ब ८७ करोड ८६ लाख रुपैयाँको मकै आयात गरेको थियो । जसमा चालु आवको तुलनामा करिब ३ अर्बले कमी आयात भएको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा नेपालले १६ अर्ब २ करोड ४ लाख रुपैयाँको ५९ करोड ९ लाख ४१ हजार केजी माकै आयात गरेको थियो । आव २०७६/७७ मा १४ अर्ब ७५ करोड ३० लाख रुपैयाँको, आव २०७५/७६ मा १२ अर्ब ९४ करोड ७० लाख रुपैयाँको र आव २०७४/७५ मा १२ अर्ब ५५ करोड ४६ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

उक्त आयातित मकैमा भारतको सबैभन्दा ठूलो हिस्सा रहेको छ । भारतबाट मात्रै ६ महिनाको अवधिमा भारतबाट मात्रै १० अर्ब ६४ करोड ३३ लाख रुपैयाँको आयात भएको देखिन्छ । भारतपश्चात नेपालले अर्जेन्टिनाबाट बढी आयात गरेको छ । उक्त देशबाट ६ महिनाको अवधिमा ८० करोड ९८ लाख रुपैयाँको अयात भएको छ । साथै, ब्राजिल, साउथ अफ्रिका, टर्की र क्यानाडाबाट आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

उत्पादनमा वृद्धि भएपनि आयातमै भर पर्नुपर्ने
नेपालमा हरेक वर्ष मकैको उत्पादन बढेको सरकारी तथ्याङ्क छ । तर, उत्पादन वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएपनि आयात भने दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । तर, सरकारी तथ्याङ्कले वार्षिक रुपमा उत्पादन बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेपनि वास्तवमा उत्पादन घट्दै गएको कृषि विज्ञ डा. कृष्ण पौडेल बताउँछन् ।

नेपालमा गत वर्ष २०७७/७८ मा नेपालमा २९ लाख २६ हजार ९४८ मेट्रिक टन आयात गरेको कृषि तथा पश्ुपन्छी मन्त्रालयले जनाएको छ । तर, सोही अवधिमा गत वर्ष विभिन्न देशबाट १६ अर्बको मकै आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त आयातित भएको मकै हालसम्मकै उच्च हो ।

मन्त्रालयको पछिल्लो ५ वर्षको उत्पादनको तथ्याङ्क हेर्दा वार्षिक रुपमा निरन्तर बढ्दै गएको देखिन्छ । आव २०७३/७४ मा नेपालमा २३ लाख १२१ मेट्रिक टन मकै उत्पादन गरेको थियो । आव २०७४/७५ मा २५ लाख ५५ हजार ८४७ मेट्रिक टन, आव २०७५/७६ मा २७ लाख १३ हजार ६३५ मेट्रिक टन, आव २०७६/७७ मा २८ लाख ३५ हजार ६७४ मेट्रिक टन र आव २०७७/७८ मा २९ लाख २६ हजार ९४८ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

तर, पछिल्लो वर्षहरूमा उत्पादन बढेपनि यो वर्ष भने मौसम अनुकुल नहुँदा उत्पादन कम हुन सक्ने अनुमान गरेको छ । जसले गर्दा आयात हुन पुगेको सरोकारवालाहरूको भनाइ छ ।

कृषि विज्ञ पौडेलले चालु आर्थिक वर्षमा मौसम अनुकुल नहुँदा उत्पादन कम भएको बताउँछन् । उनकाअनुसार सरकारी तथ्याङ्कमा वार्षिक रुपमा निरन्तर बढेको देखाए पनि वास्तवमा बढेको छैन ।

‘यो वर्षैभरी पानी प¥यो । मकैलाई चाहिने तापक्रम पुगेन र बाली लगाउन ढिलो भयो । जसले गर्दा उत्पादन कम भएको देखिन्छ,’ उनले भने । त्यसैगरी, मकैलाई आवश्यक पर्याप्त रसायन मल पनि उपलब्ध नहुँदा उत्पादनमा असर पुगेको उनले जिकिर गरे ।

नेपालमा हरेक वर्ष उत्पादन कम हुने तर माग बढ्नेले गर्दा उच्च आयात भएको उनको भनाइ छ । नेपालमा उत्पादन र आयात भएको मकै खानाको लागि कम प्रयोग हुने गर्दछ । नेपालमा मकैलाई खाद्यान्न अर्थात खानाको लागि निकै न्यून प्रयोग हुने गर्दछ । तर, पछिल्ला दिनहरूमा मानिसले खानेभन्दा बढी पशुपन्छीका लागि बढी प्रयोग हुने हुँदा मकैको माग उच्च रहेको छ ।

‘नेपालमा उत्पादन र आयात भएको मकै अधिकांश दानाको रुपमा खपत भइरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने । गत वर्ष १६ अर्बको आयात भएकोमा चालु आवको ६ महिनको अवधिमै करिब १२ अर्बको आयात भएको भन्सार तथ्याङ्क छ । आगामी ६ महिनामा अझै १२ अर्बको आयात हुने उनको दाबी छ ।

बजारमा मकै आयात गरेर विभिन्न प्रकारका खाद्यान्न उत्पादन गर्दै आएका छन् । उक्त क्षेत्रमा निकै न्यून मकै प्रयोग हुने उनको भनाइ छ ।
‘नेपालमा पशुपन्छीको व्यवसायिक शुरु भएपछि उच्च रुपमा दाना खपत हुँदै आएको छ । जसले गर्दा आयातको आकार ठूलो हुँदै गएको हो,’ उनले भने ।

त्यसैले, सरकारले रणनीति अपनाएर कृषि बाली उत्पादनमा जोड दिनुपर्ने बताए ।


क्लिकमान्डु