माघे संक्रान्तिमा तरुल र चाकुको खपत बढ्यो



काठामाडौं । माघे संक्रान्तिमा तरुल र चाकुको खपत बढेको छ । गत वर्ष कोरोना महामारीका कारण तरुल र चाकुको खपतमा कमी आएको थियो । यो वर्ष कोरोना महामारीकै समय भएपनि गत वर्षको तुलनामा तरुल र चाकुको खपत बढेको व्यवसायीहरू बताउँछन् ।

तिहार मसला, मिठाईको चाडपर्व भनेजस्तै चाकु, तीलको लड्डु र तरुलको पर्व हो माघे संक्रान्ति । हरेक वर्ष मागको शुरुवातमै मनाइने यो पर्व परम्परागत रहेको छ । माघलाइ चाकु र तरुलको चाड पनि भन्ने गरिन्छ ।

भोलि अर्थात माघ १ गते देशभर माघे संक्रान्ति मनाइँदैछ । सोहीअनुसार उपत्यकाका बजारमा तरुल, सख्खरखण्ड, पिडालु, स्कुसको जरा, सिमल तरुललगायत अन्य विभिन्न प्रकारका कन्दमुल भित्रिएको छ । साथै, बजारमा उच्च रुपमा कारोबार भएको व्यवसायीहरूको भनाइ छ ।

विशेषगरी चिसो मौसममा सबैभन्दा बढी तरुललगायत अन्य कन्दमुल उत्पादन हुने भएकाले चिसो मौसमको शुरुवातीसँगै विभिन्न प्रकारका तरुल बिक्री गर्न थालेका थिए । तर, माघे संक्रान्तिमा विशेष भएकाले उच्च कारोबार भएको छ ।

माघे संक्रान्ति पर्वलाई लक्षित गरेर कालिमाटी तरकारी तथा फलफुल बजारमा उल्लेखनीय कन्दमुल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ । चिसो मौसम अर्थात माघे संक्रान्तिमा अत्यधिक मात्राले तरुलको माग हुने र बिक्री हुने भएकाले सोही अनुसार बजारमा तरुलको आगमन हुने गर्दछ । साथै, आन्तरिक बजारमा उत्पादन भएका अधिकांश तरुल यही चाडपर्वको बेलामा बिक्री हुने व्यवसायीहरू बताउँछन् ।

माघे संक्रान्ति लक्षित गरी गत वर्ष ९ सय ६३ टन तरुल, पिँडालु २ सय ३१ टन र सखरखण्ड २ सय ५४ टन भित्रिएको थियो । तर, यो वर्ष गत वर्षको तुलनामा उक्त कन्दमुलको आगमन बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार गत वर्ष माघे संक्रान्तिका लागि १५ सय मेट्रिक टन कन्दमुल भित्रिएको थियो भने यो वर्ष १८ सय मेट्रिक टन तरुल, पिँडालु र सख्खरखण्ड भित्रिएको छ ।

कालीमाटी बजारमा पुस महिनामा मात्रै १८ सय ४१ मेट्रिक भित्रिएको छ । जसमा १३ सय १९ मेट्रिक टन तरुल, २ सय ९५ मेट्रिक टन पिडालु र २ सय २६ मेट्रिक टन सख्खरखण्ड भित्रिएको श्रेष्ठले बताए ।

समितिको तथ्याङकअनुसार पुसको अन्तिम सातामा मात्रै ८० प्रतिशत बढी तरुल, पिडालु र सख्खरखण्ड भित्रिएको देखिन्छ । जसमा गत पुस २२ गतेदेखि २८ गतेसम्ममा १३ मेट्रिक टन भित्रिएको थियो भने २९ र ३० गते मात्रै ५ सय ४० मेट्रिक टन तरुल, पिडालु र सख्खरखण्ड भित्रिएको छ ।

नेपालमा घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरालगायत पिँडालु, सख्खरखण्ड पाइन्छ ।

समितिले सर्लाहीमा उत्पादन भएको तरुल, पिडालु र सख्खरखण्डको आधारमा मूल्य तय गरेको जनाएको छ । जसमा तरुलको मूल्य प्रतिकेजी ५७ रुपैयाँ, पिडालुको मूल्य ४८ रुपैयाँ र सख्खरखण्डको मूल्य ६५ रुपैयाँ कायम गरेको श्रेष्ठको भनाइ छ ।

तर, बजारमा विभिन्न जिल्लाबाट विभिन्न प्रकारका तरुलको आगमन भएकाले मूल्य धेरै फरक रहेको उनले जानकारी दिए ।

‘बजारमा विभिन्न प्रकारको मूल्य भिन्न भिन्नै छ,’ उनले क्लिकमान्डूसँग भने, ‘हाल बजारमा तरुलको प्रकार अनुसार ६० रुपैयाँ देखि २ सय ५० प्रतिकेजीमा बिक्री भइरहेको छ ।’ साथै, गत वर्षको तुलनामा यो वर्ष तरुलको मूल्यमा खासै फरक नरहेको उनले बताए ।

कुन जिल्लाबाट कति भित्रियाे ?

बजारमा आउने अधिकांश तरुल सर्लाहीबाट उत्पादित तरुल भित्रिन्छन् भने बारा, धार्दिङ, नवलपरासी, चितवन, तनहुँ लगायत जिल्लाबाट पनि केही मात्रामा भित्रिएको छ ।

सर्लाहीबाट मात्रै ५ सय ७१ मेट्रिक टन भित्रिएको छ भने सिन्धुलीबाट १ सय १३ मेट्रिक टन भित्रिएको छ । त्यस्तै, बाराबाट २० मेट्रिक टन, धादिङबाट २ सय ३ मेट्रिक टन, चितवनबाट ४७ मेट्रिक टन, दाङबाट १८ मेट्रिक टन, दोलखाबाट २० मेट्रिक टन, गोर्खाबाट १३ मेट्रिक टन, झापाबाट ४७ मेट्रिक टन, काभ्रेबाट ४९ मेट्रिक टन, मकवानपुरबाट ८१ मेट्रिक टन, मोरङबाट २३ मेट्रिक टन, नवलपरासीबाट ३२ मेट्रिक टन, नुवाकोटबाट २६ मेट्रिक टन, सप्तरीबाट १३ मेट्रिक टन, सुनसरीबाट २ सय २७ मेट्रिक टन, तनहुबाट २४ मेट्रिक टन र भारतबाट २ सय ७६ मेट्रिक टन कालीमाटी बजारमा ल्याइएकाे छ ।

चाकुको माग बढ्यो

माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो ।

जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् ।

चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए । उनले अहिले माघे संक्रान्ति नजिकिएकोले पनि धेरै मानिसहरु चाकु किन्न आइरहेको बताए ।

ज्यानमा फुर्ती, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनको भनाइ छ । उत्पादक महर्जनले गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकोले माग अनुसारको उत्पादन गर्न नसकेको बताए ।


क्लिकमान्डु