माघदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य



काठमाडौं । यातायात व्यवस्था विभागले माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । विभागका अनुसार माघदेखि सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने भएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुषालले नवीकरण गरिने सवारीसाधनमा अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने बताए ।

विभागले गत मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उनका अनुसार विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भए–नभएको हेर्न गेट बनाउने काम भइरहेको बताए ।

नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता डा भुषालले बताए । कम्पनीले प्लेट छापेर यातायात व्यवस्था कार्यालयमा पठाइरहेको उल्लेख गरे । उनका अनुसार अबको एक वर्षभित्र सबै सवारीसाधनमा इम्बोस्ड जडान गरिसकिने योजना छ ।

पहिले अदालतमा मुद्दा परेका कारण र पछिल्लो समय कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त भएको हो । विभागले २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।

गत जेठमा अवधि सकिएकामा केही समय पहिले मात्रै अवधि थपिएको हो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपाराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचनाप्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो ।

सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ ।


क्लिकमान्डु