ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले ‘माइक्रोम्यानेजमेन्ट’ गरेकै होः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीको स्थिरताका लागि ब्याजदर नियन्त्रणको नीति लिएको बताएका छन् ।

‘राष्ट्र बैंकले समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले कर्जाको ब्याज निकै माथि पुग्ने थियो,’ आइतबार लेखासमितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले भने ।

ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले लिएको नीतिमा धेरैले माइक्रोम्यानेजमेन्ट गरेको आरोप लगाए तर वित्तीय प्रणालीको स्थिरताका लागि यो हस्तक्षेप आवश्यक भएको उनको भनाइ थियो ।

‘यो वर्ष राष्ट्र बैकंले सबै प्रकारका उपकरण प्रयोग गरेर बजारमा २७ खर्ब २१ अर्ब रकम बजारमा पठाएका छौं । यो रकम इतिहासमा धेरै हो’ उनले भने ।

उनले कर्जाको प्रयोग आन्तरिक परिचालनभन्दा आयातमा बढी प्रयोग भएको हुँदा बजारमा तरलता अभाव भएको बताए ।

‘हाम्रो अधिक तरलता क्षमता २ खर्ब रुपैयाँ मात्रै हो। यो वर्ष ४ महिनामा ३ खर्बको आयात हुँदा तरलतामा चाप परेको हो’ उनले भने ।


क्लिकमान्डु