साढे २ करोड लगानीमा कुरिनटारमा जिपलाइन



काठमाडौं । कुरिनटार स्थिति रिभर फन बिच रिसोर्टले त्रिशुली नदी वारपार गर्ने गरी जिपलाइन सेवा संचालनमा ल्याएको छ ।

बाह्र बर्षदेखि रिसोर्ट ब्यवसाय गरिरहेको यस रिसोर्टले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी जिपलाइन शुरु गरेको हो ।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदीमाथि पर्छ । जिपलाइनको अवधि शरीरको तौलअनुसार ४२ देखि ४५ सेकेन्डको हुनेछ । त्रिशुलीमाथिको जिपलाइन भएकाले अझ बढी सहासिक र रोमान्चक हुने रिभर फन बिच रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । जिपलाइन निर्माणको लागि २१ करोड ५० लाख रुपैयाँ लगानी लागेको अधिकारीले क्लिकमाण्डूसँग बताए ।

काठमाडौंबाट चितवन र पोखरा जाने हावइवेमा रहेको यो जीपलाइन काठमाडौंबाट ८७ किलोमिटरको दूरीमा छ । अधिकारी दुई दशक देखि र्याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन । नदि माथिको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने अधिकारी बताउँछन् ।

परीक्षण उडान सफलतापूर्वक भए पनि यसको औपचारिक उद्घाटन हुन भने बाँकी छ । बाँकी केही प्रकृया पूरा गरेर एक महिनाभित्र औपचारिक उद्घाटन गर्ने अधिकारीले बताए । ‘औपचारिक उद्घाटन हुन केही दिन बाँकी भए पनि जिपलाइन संचालनमा आइसकेको छ,’ अधिकारीले भने, ‘अहिले जिपलाइन गर्नेको संख्या वृद्धि हुँदै गएको छ ।’

जिपलाइन खेल्न प्रति व्यक्ती नेपाली र भारतीय नागरिकको लागि १ हजार ७ सय र अन्य विदेशको लागि २५ डलर तोकिएको छ । यसमा फोटो र भिडियो पनि आउने छ । जिपलाइन संचालनमा आएको उद्घाटनको अवसरमा एक महिनाको लागि ३० प्रतिशत छुट राखिएको रिसोर्टले जनाएको छ । फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफिमा परिचित कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए ।

चुमखोल साइटमा १८ मिटर अग्लो पाँच तले टावर निर्माण भइरहेको छ । यसको चौथो तलाबाट जिपलाइन सुरु हुन्छ । जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने मिल्नेछ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ सन्चालन गर्ने तयारी रहेको छ । क्याफेमा ‘टकअवे’ सुविधा पनि राखिने अधिकारीले बताए ।

९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भैरहेको अधिकारीले बताए । जिपलाइनसँगै यस रिसोर्टले मिनि जिपलाइन, पिङ, रोप कोर्ष, किड्स एड्भेन्चर पार्क निर्माण गरिरहेको छ । कफि बार, कक्टेल, मक्टेल, क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सन्चालन गरिने बताइएको छ ।

जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ । रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरु समेत थप भैरहेको छ ।


क्लिकमान्डु