आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

निगमको कार्यकारी निर्देशकका लागि गठित छनौट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त मागेको छ ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सकिनेछन् ।

कार्यकारी प्रमुख हुनका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

साथै, उद्योग वाणिज्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मानोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने छ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा ५ हजार रुपैयाँ सहित दरखास्त दिन सक्नेछन् ।


क्लिकमान्डु