सेकेन्ड ह्यान्ड गाडीमा उपभोक्ताको आकर्षण, वार्षिक ४७ अर्बको कारोबार



काठमाडौं । जीवनमा कम्तीमा पनि एउटा चिटिक्क परेको घर र सस्तै भए पनि सानो कार होस् भन्ने अधिकांशको चाहना हुन्छ ।

तर बढ्दो महंगी र सीमित आयस्रोतका कारण सबैको त्यो रहर पूरा नहुन सक्छ ।

सीमित बजेटका कारण महंगा कार खरिद गर्न गाह्रो पर्ने मध्यमवर्गीय परिवारका लागि कार चढ्ने रहर सेकेन्ड ह्यान्ड बजारले पूरा गरिदिएको छ ।

सुविधा उही तर मूल्यमा सस्तो पर्ने भएका कारण सेकेन्ड ह्यान्ड कार खरिद गर्नेको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ । अझ पहिलो पटक कार खरिद गर्ने सोच बनाएका विशेष गरी ‘मिडल क्लास’का लागि सेकेन्ड ह्यान्ड बजारले रहर र आवश्यकता पूरा गर्न सहज बनाएको छ ।

अझ कोरोना महामारीपछि सकेसम्म सार्वजनिक यातायात प्रयोग नगरौं बरु आफ्नै सवारी साधन होस् भन्नेका लागि सेकेन्ड ह्यान्ड बजारका कारण सहज भएको छ ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष तथा आरके अटो सेन्टरका कार्यकारी प्रमुख रमेश कोइरालाका अनुसार हाल नेपालमा सेकेन्ड ह्याण्ड अटो बजारमा मात्र वार्षिक ४६ अर्ब ८० करोडको कारोबार भइरहेको छ ।

उनका अनुसार नेपालमा वार्षिक औसतमा रिकन्डिसन हाउसहरुले ३६ हजार थान सेकेन्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका छन् । औषतमा एउटा गाडीको मूल्य १३ लाख रुपैयाँ मान्ने हो भने यो करिब ४७ अर्ब रुपैयाँको हुने उनको भनाइ छ ।

तर यो तथ्यांक संघमा आवद्ध रिकन्डिसन हाउसले गर्ने व्यापारमा मात्रै आधारित भएको उनको भनाइ छ ।

‘संघमा आवद्ध बाहेकका अरु नेपाल भरी लगभग अझै १ सय ५० वटा जती चारपांग्रे सवारीका रिकन्डिसन हाउस छन्,’ उनले भने ।
हाल संघमा मुलुकभर सञ्चालनमा रहेका १५० वटा रिकन्डिसन कम्पनी आवद्ध छन् ।

‘अरु रिकन्डिसन हाउसहरु संघमा आवद्ध हुन बाँकी छन्,’ उनले भने, ‘त्यस्ता रिकन्डिसन हाउसहरुलाई पनि आवद्ध गराउँदै अघि बढ्छौं ।’

अध्यक्ष कोइरालाका भनाइ अनुसार ती संघमा आवद्ध भएका रिकन्डिसनहरुले महिनामा प्रत्येक शोरुमले सामान्यतया २० वटा सेकेन्ड ह्यान्ड गाडी बेच्ने गरेका छन् ।

‘यसलाई आधार मान्ने हो भने हाल भएका हाम्रा रिकन्डिसन हाउसहरुले महिनामा ३ हजार वटा सेकेन्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका छन्,’ उनले भने, ‘औषतमा वार्षिक ३६ हजारभन्दा बढी कार, जीप, भ्यानलगायतका गाडीहरुको मात्र रिकन्डिसन बजारमा कारोबार हुने गरेको छ ।’

तर दुई पाङ्ग्रे मोटरसाइकलको त्यो भन्दा धेरै कारोबार हुने उनको भनाइ छ । दुई पाङ्ग्रे सवारी साधनको कारोबार गर्ने रिकन्डिसन हाउसहरु हाम्रो संघमा आवद्ध छैनन्,’ उनले भने, ‘तर यो दुई पाङ्ग्रे सवारीको भने चारपांग्रेको भन्दा बढी कारोबार हुन्छ ।’

‘औसतमा प्रत्येक गाडीको १३ लाख रुपैयाँका दरले हिसाब गर्दा पनि वार्षिक ४६ अर्ब ८० करोड रुपैयाँको करोबार हुन्छ,’ उनले भने, ‘यसबाट हामीले कति फाइदामा गाडी बेचेको हो सोही अनुसार कर पनि बुझाउँछौं ।’

कोरालाका अनुसार कुनै रिकन्डिसनले एउटा व्यक्तिसँग १३ लाख रुपैयाँमा गाडी किनेर अर्को व्यक्तिलाई १४ लाख ५० हजार रुपैयाँमा बिक्री गर्यो भने उसले १ लाख ५० हजार रुपैयाँको १३ प्रतिशत भ्याट सरकारलाई बुझाउनु पर्छ ।

रिकन्डिसन हाउसहरुले एउटा गाडीमा १ लाखदेखि २ लाखसम्मको मार्जिनमा गाडी बिक्री गर्ने उनको भनाइ छ ।

‘वार्षिक १५० रिकन्डिसन हाउसले ३६ हजार वटा गाडी बिक्री गर्दा औसतमा प्रत्येक गाडीको १ लाख रुपैयाँको नाफा राख्दा पनि ३ अर्ब ६० करोड रुपैयाँ नाफा हुन्छ,’ उनले भने, ‘यसबाट मात्र सरकारले १३ प्रतिशत भ्याटका दरले ४६ करोड ८० लाख रुपैयाँ प्राप्त गर्छ ।’

संघमा आवद्ध नभएका रिकन्डिसनको हकमा
संघमा आवद्ध नभएका रिकन्डिसन हाउसहरुले पनि सेकेन्ड ह्याण्ड गाडीको कारोबार गर्छन् ।

‘यस्ता संघमा आवद्ध नभएका १५० वटा जति साना र ठूला गरी रिकन्डिसन हाउसहरु छन्,’ उनले भने, ‘त्यस्ता रिकन्डिसनहरुले पनि महिनामा एउटादेखि ५ वटासम्म गाडीको कारोबार गर्ने अनुमान छ ।’

नयाँको भन्दा सेकेन्ड हण्डमा लगानी बढी
कोइरालाका अनुसार नयाँ गाडी किन्नेभन्दा सेकेन्ड हण्ड गाडीको व्यापार गर्नेले बढी लगानी गर्नु परेको छ ।

‘नयाँ गाडी आयात गर्न बैंकले ऋण दिन्छ,’ उनले भने, ‘तर हाम्रो व्यापारमा भनेको नगदमा बढी हुन्छ । गाडी नगदमा खरिद गरी कति समय होल्ड गर्नुपर्छ थाहा हुँदैन ।’

यसले गर्दा नगदमा कारोबार हुने हुँदा आफ्नो लगानी बढी हुने उनको भनाइ छ ।

‘बैंकले ऋण दिने बेला नयाँ गाडीलाई भन्दा सेकेन्ड ह्यान्ड गाडीका लागि भनेपछि फरक ढङ्गले हेर्छन्,’ उनले भने, ‘बैंकले हाम्रा लागि धेरै सेक्युरिटी खोज्ने लगायत ब्याजमा वृद्धि गर्ने खाल्का झन्झट उत्पन्न गर्ने गरेको छ ।’

अध्यक्ष कोइरालाको भनाइ अनुसार काठमाडौं उपत्यकामा मात्रै १ सयभन्दा बढी कम्पनीले शोरुम नै राखेर सेकेन्ड ह्यान्ड कारहरुको बिक्री गर्दै आएका छन् ।

अहिले नेपालभर चार पाङ्ग्रे र दुई पाङ्ग्रे सेकेन्ड ह्यान्ड सवारी साधन बेच्ने साना ठूला रिकन्डिसन शोरुम २ हजारभन्दा बढी छन् । साथै सेकेन्ड हन्ड सवारीका लागि आवश्यक पर्ने पाटपुर्जा बेच्ने ३ हजार वटा होल्सेलर र रिटेलर पसलहरु नेपालमा भएको उनको भनाइ छ ।

तरलता अभावले आधा व्यापार धट्यो
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको चाप बढ्न थालेपछि यसको असर सेकेन्ड ह्याण्ड सवारीको कारोबारमा परेको छ । कोइरालाका अनुसार बजारमा तरलता अभाव भएदेखि रिकन्डिसन हाउसहरुको पनि व्यापार आधा घटेको छ ।

पछिल्लो समय तरलता अभावले गर्दा पहिलाको तुलनामा सेकेन्ड ह्याण्ड गाडीको व्यापार आधा भन्दा कम भएको कोइरालाले बताए ।

‘नयाँ गाडीहरु शोरुमले दिन सकेका छैनन्,’ उनले भने, ‘नयाँ गाडी किन्दा एक्सचेन्ज हुने गाडीहरु धेरै रिकन्डिसनमा आउने हो । तर त्यसो हुन सकेको छैन ।’


क्लिकमान्डु