नायिका वर्षा शिवाकोटीले छिट्टै बिजनेश शुरु गर्ने, सेयर बजारमा पनि हात हालिन्



काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका वर्षा शिवाकोटीले बिजनेश शुरु गर्ने भएकी छन् । पछिल्लो समय सेयर बजारमा लगानी गरेर राम्रो कमाइ गर्न सफल भएकी शिवाकोटीले छिट्टै नयाँ बिजनेश शुरु गर्ने बताइन् ।

‘अहिले मेरो आर्थिक अवस्था राम्रो छ, यही बेलामा आफ्नै केही बिजनेश गर्ने सोचमा छु, छिट्टै तपाईंहरुमाझ बिजनेश लिएर आउँछु,’ क्लिकमाण्डूसँगको कुराकानीमा नायिका शिवाकोटीले भनिन् ।

स्वास्थ्य सेवाको क्षेत्रमा आफूले बिजनेश गर्न लागेको उनले जानकारी दिइन् ।


‘मलाई स्वास्थ्य सेवा क्षेत्रमा व्यवसाय गर्न इच्छा छ, सोही अनुसार तयारी पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘यो मेरो केही अनुभव भएको क्षेत्र पनि हो । स्किन क्लिनिकमा डेढ वर्षजति काम गर्दा यो क्षेत्र बुझ्ने मौका पाएँ । स्वास्थ्य सम्बन्धी बिजनेश चाँडै शुरु गर्दैछु ।’


साथै, सानो लगानीमा राम्रै नाफा हुने अन्य क्षेत्रमा लगानी गर्ने तयारी पनि गरिरहेको उनले सुनाइन् ।

बीबीएकी विद्यार्थी रहेकी शिवाकोटी मोडलिङमा लागिन् । र, त्यसैलाई करियर बनाइरहेकी छन्।


‘म बीबीएकी विद्यार्थी हुँ, त्यसैले पनि होला आम्दानी र खर्चको विवरण प्रत्येक दिन डायरीमा टिप्छु,’ उनले आफ्नो फाइनान्सियल प्लानिङ सुनाउँदै भनिन्, ‘मेरो डायरील नै मेरो ब्यालेन्सिट हो । कमाइको ५० देखि ६० प्रतिशत बचत गर्छु ।’


पछिल्लो समय आफूले सेयर बजारमा लगानी गर्न थालेको पनि उनले खुलाइन् ।


‘सेयर बजार बुम भएको छ भन्ने थाहा पाएर मैले पनि लगानी गरेकी हु, बजारमै निरन्तर लागिरहेका लगानीकर्ताहरुलाई मैले केही रकम जिम्मा लगाएकी छु, मलाई नाफा चाहिन्छ भनेकी छु,’ उनले भनिन्, ‘पछिल्लो ६ महिनामा लगानीको आधा कमाएकी छु ।’


आफ्नो नाममा ३० देखि ४० लाख रुपैयाँको पोर्टफोलियो रहेको उनले बताइन् ।


क्लिकमान्डु