संसद अवरुद्ध गरेर ओलीजी लगातार प्रतिगमनकै बाटोमा हिँडिरहेका छन्ः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् ।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद् अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताए ।

उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना बिपरित् नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे । उनले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको पुष्टि हुने बताए ।

‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिन भित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन । संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन । तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली काँग्रेसको महाधिवेशनमा आउनुहुन्न की भनेको आउनु भयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने । यो भन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरु केही हुन्छ ?

उहाँको अघि यो त प्रस्ट नै छ ।’ प्रचण्डले भने, ‘निर्वाचन आयोगले मान्यता दिएको छ । अदालतले निर्णय गरिदिएको छ । संसदले स्वीकार गरेको छ । ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ । त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्र बिरोधी निरंकुश हो भन्ने कुरा पस्ट नै देखिन्छ ।’
अध्यक्ष दाहालले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए । उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावी समेत गरे । उनले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।

‘उओलीले अहिले पनि संसद अवरोध गर्नुको कारण भनेको के हो भने, उहाँले तर्र्क राख्नुभएको हामीले सुनेका छौँ । गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटि सरकार बन्न दिने । यदी नेपाली काँग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन ।’ उनले भने, ‘यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ । उहाँले जस्ता शक्तिहरुसँग सहकार्य गर्ने कोशिस गरिरहनु भएको छ, ती सबै प्रतिगमनका पक्षधरहरुसँग नै गरिरहनु भएको छ । उहाँको निरन्तर प्रयासले तपाईहामी सबैलाई नकारात्मक ढंगले शतर्क हुन मद्दत गरेको छ । उहाँ प्रतिगमनकारी तरिकाले अघि बढ्नुहुन्छ भने हामी संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर अरु शक्तिलाई पनि आफ्नो वरिपरी गोलबन्दी गरेर प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्ने गरी प्रश्तुत हुन्छौँ ।’


क्लिकमान्डु