विद्युतीय गाडीमा पनि स्थापित ब्राण्डहरुको पकड, यस्ता छन् बजारमा पाइने इलेक्ट्रिक कारहरु



काठमाडौं । पछिल्लो समय विद्युतको उपलब्धता बढेसँगै विद्युतीय सवारीको प्रयोग गर्न सरकारका मन्त्रीहरुले जोडतोडका साथ भाषणा गरिरहेका छन् ।


यसले बजारमा विद्युतीय गाडीको चर्चा बढेको छ । चर्चामात्र होइन, केही ठूला कम्पनीले विद्युतीय गाडी (इभी)लाई प्राथमिकतामा राखेर व्यापार गर्न थालेपछि मुलुकमा यसको प्रयोग बढ्न थालेको हो ।

जस्तै, स्थापित अटो कम्पनी हुण्डाई, किया, निशान, टाटा निक्सन, महिन्द्रालगायतका ब्राण्डहरुले विद्युतीय गाडीहरु भित्र्याइरहेका छन् । ति गाडीको बिक्री पनि बढेको छ ।

महिन्द्राको आधिकारीक बिक्रेता अग्नि इनर्जीका कार्यकारी वरिष्ठ प्रबन्धक प्रमोद भण्डारीका अनुसार नेपालमा नयाँ ब्राण्डका विद्युतीय गाडीभन्दा स्थापित ब्राण्डका गाडीहरुमा ग्राहकले बढी विश्वास गरेको बताउँछन् । ‘स्थापित ब्राण्डको गाडीहरुले नेपाली बजारमा आफ्नो राम्रो छाप पारेका छन्,’ उनले भने, ‘बजारमा पनि उनीहरुकै गाडीहरु देखिन्छ ।’

विद्युतीय गाडीको माग बढ्न थालेपछि नयाँ अटो कम्पनीहरुले पनि यस्ता गाडी भित्र्याइरहेका छन् । जस्तो कि दिगो, एमजी, पीजिएट, बीवाईडीहरु नयाँ हुन् । उनीहरुले पनि नेपालमा यी गाडी बिक्री गरिरहेका छन् ।

विद्युतीय गाडी चलाउँदा धेरै सस्तो पर्ने भण्डारीको पनि भनाइ छ । ‘चार्जिङ्ग स्टेशनका विषयमा भने मुख्य समस्या छ,’ उनले भने ।

नेपालमा भएका सम्पूर्ण विद्युतीय सवारीलाई एक चोटी ब्याट्री फुलचार्ज गर्दा जम्मा १५–९० युनिट विद्युत् खपत हुन्छ । सरकारले नेपालमा विद्युत् खपत गरे बापत उपभोक्ताका लागि प्रति युनिट ११ रुपैयाँ तोकेको छ । यो खर्चमा १५० देखि ५२० किलोमिटरको दुरी पार गर्न सकिन्छ । जसको खर्च प्रति किलोमिटर १.१ रुपैयाँ देखि १.९ रुपैयाँ सम्म खर्च लाग्छ ।

सरकारले गरेको भन्सार छुटको व्यवस्था र पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिका कारण विद्युतीय सवारी उपभोग गर्दा सस्तो पर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।

‘अहिले देशमा विद्युत खेर गइरहेको अवस्थामा सरकारले विद्युत खपत धेरै होस् भन्ने धारणाको विकासले विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको छ,’भेटुवालले भने, ‘चालु आवमा सरकारले विद्युतीय सवारीमा आयात गर्दा जम्मा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र १० हजार आरडीटी लाग्ने व्यवस्था गरेको छ ।’

सरकारले भन्सार छुटदेखि हरेक कुरामा विद्युतीय सवारीका लागि सहुलियत दिँदा यो अझ सस्तो पर्न गएको छ ।

५० चार्जिङ्ग स्टेशन स्थापना हुँदै

नेपाल विद्युत् प्राधिकरणद्वारा एक वर्षभित्र देशभरका विभिन्न ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणको लागि तयारी गरेको छ । यसै क्रममा प्राधिकरणको विद्युतीय सवारी चार्जिङ् पूर्वाधार विकास आयोजना र चिनियाँ कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पाेरेसनबीच ठेक्का सम्झौतामा हस्ताक्षर समेत भइसकेको प्रवक्ता भेटुवालले बताए ।

चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले २०७६ माघमा टेन्डर प्रक्रिया अघि बढाएको थियो । परियोजनाको लागत लगभग ३७ करोड ८० लाख रुपैयाँ बराबरको रहेको छ ।

यस्ता छन बजारमा पाइने विद्युतीय गाडीहरु

निशान इभी

यो गाडीले पछिल्लो समय नेपाली बजारमा राम्रो स्थान पाएको छ । यसलाई नेपालका लागि आधिकारिक विक्रेता पाइनर मोटो कर्पले वर्षको सेप्टेम्बरदेखि नेपालमा विक्री शुरु गरिएको थियो । यसले फुल चार्जमा ३६३ किलोमिटर सम्मको माइलेज दिने कम्पनीको दाबी रहेको छ ।

यो कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी र गाडीमा भने ३ वर्षको मात्र वारेन्टी दिएको छ । यसमा भएको ब्याट्रीलाई आफ्नै घरको ३.६ किलोवाटको पावरमा चार्ज गर्न सकिने कम्पनीले बताएको छ । ब्याट्री चार्ज गर्न ८ घण्टा लाग्छ र त्यसका लागि ४० युनिट विद्युत् खपत हुन्छ । यसको मूल्य नेपाली बजारमा ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

हुण्डाई इभी

हुण्डाई नेपालमा दशकदेखि स्थापित ब्राण्ड हो । यसले पनि नेपालमा विद्युतीय गाडी बेच्दै आएको छ । यो कम्पनीले नेपालमा ३ वटा डिजाइनमा इभी कार ल्याएको छ ।

यसले ल्याएको गाडीको ब्याट्रीले फुल चार्जमा ३१२–४८१ किलोमिटर सम्मको माइलेज दिने कम्पनीको दाबी छ । ब्याट्री फुल चार्जका लागि ३९–६४ युनिट विद्युत् खपत हुने र घरमा चार्ज गर्न ६–९ घण्टा समय लाग्छ । कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेण्टी दिएको छ ।नेपाली बजारमा यसको मूल्य ५५–७१ लाखसम्म रहेको छ ।

दिगो इभी

यो कम्पनीले नेपालमा नयाँ चिनियाँ ब्राण्ड भित्र्याएको हो । यो ब्राण्डको विद्युतीय गाडीहरु नेपाल पछिल्लो समय चलेको ब्राण्डका रुपमा लिएको छ ।
यो ब्राण्डको विद्युतीय गाडीहरुले फुल चार्जमा १५० देखि ३०० किलोमिटर सम्मको माइलेज दिने कमपनीको दाबी छ । यसमा रहेको बयाट्रीहरु चार्ज गर्न लगभग १५ देखि ४५ युनिट सम्म विद्युत् खपत हुन्छ ।

जसको ब्याट्रीलाई चार्ज गर्न १.५–३ घण्टा लाग्ने कम्पनीले बताएको छ । यसको ब्याट्रीमा कम्पनीले ३–५ वर्षको वारेन्टी दिएको छ । यसको मूल्य नेपाली बजारमा १५ लाखदेखि ७७ लाखसम्म रहेको छ ।

महिन्द्रा इभी

नेपालमा दशकौंदेखि नेपालमा इन्धन गाडी बेच्दै आएको स्थापित ब्राण्ड महिन्द्रा हो । यो ब्राण्डले २०१३ देखिनै विद्युतीय कारलाई नेपाली बजारमा ल्याएको नेपालका लागि आधिकारीक बिक्रेता अग्नि इनर्जीले बताएको छ ।

अग्नी इनर्जीले एक दशकमा धेरै थरीका विद्युतीय गाडी नेपाली बजारमा विक्री गरेको छ । अहिले ई–भेरतो मोडलको विद्युतीय कार मात्र बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यो मोडलमा भएको ब्याट्रीले फुल चार्जमा १४० किलोमिटर सम्मको दुरी पार गर्न सक्ने माइलेज दिने कम्पनीको दाबी रहेको छ ।

यसको ब्याट्री फुल चार्ज गर्न १६ युनिट विद्युत खपत हुने र त्यसका लागि ११ घण्टा समय लाग्छ । तर यसमा फास्ट चार्जिङ्गको सुविधा पनि रहेको छ । कम्पनीले यसमा रहेको ब्याट्रीमा ३ वर्षको वारेन्टी दिएको छ ।

यो विद्युतीय कारको मूल्य नेपाली बजारमा २८ लाख ८० हजारसम्म रहेको छ ।

बिवाईडी इभी

यो बिवाईडी ब्रान्डको विद्युतीय कारलाई नेपाली बजारमा हालै सिमेक्स इन्कले ल्याएको हो । यो ब्रान्ड नेपाली बजारमा नयाँ हो । यो ब्रान्डको गाडीमा रहेको ब्याट्रीले फुल चार्जमा ४००–५८० किलोमिटर सम्मको माइलेज दिने कम्पनीको दाबी छ ।

यसमा रहेको ब्याट्री फुल चार्ज गर्न १०–१२ घण्टा लाग्छ । त्यसका लागि ६०–७० युनिट विद्युत खपत हुनेछ । यो घरमै चार्ज गर्न सकिने पनि कम्पनीले बताएको छ । यसमा फास्ट चार्जिङ्कको समेत सुविधा छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष सम्मको वारेन्टी दिएको छ ।

नेपाली बजारमा यसको मुल्य ५७ लाख ५० हजारसम्म रहेको छ ।

एमजी इभी

यो ब्राण्ड सन् २०१८ देखि नेपाली बजारमा आएको हो । यो ब्रान्डलाई पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको हो ।
यसले पछिल्लो समय नेपालमा राम्रो व्यापार गरिरहेको कम्पनी प्यारा माउन्टले बताएको छ ।

यसमा रहेको ब्याट्री फुल चार्ज गर्न ४४.५ युनिट विद्युत् खपत हुन्छ । यसलाई फुल चार्ज गर्न ५–८ घण्टा लाग्छ । यसमा फास्ट चार्जिङको पनि सुविधा रहेको छ । यो कम्पनीको गाडीले ६० किलोमीटर प्रतिघण्टामा ४२८ किलोमिटर सम्मको माइलेज प्रदान दिने कम्पनीको दाबी छ । ब्याट्रीमा कम्पनीले ८ वर्ष सम्मको वारेण्टी दिएको छ ।

नेपालमा यो ब्रान्डको इलेक्ट्रोनिक गाडिको मूल्य ५० देखि ६० लाखसम्म रहेको छ ।

टाटा इभी

यो नेपालको स्थापित पूरानो ब्राण्ड हो । यसले नेपालमा लाखौं इन्धन गाडी बिक्री गरिसकेको छ । गत वर्ष यो कम्पनीले पनि नेपालमा नयाँ विद्युतीय कार ल्याएको हो ।

यसको ब्याट्री फुलचार्ज गर्दा २५०–३१२ किलोमिटरसम्मको दूरी पार गर्न सक्ने माइलेज दिने कम्पनीको दाबी छ । ब्याट्री फुलचार्ज गर्न ८ घण्टासम्म लाग्छ भने यो फुलचार्ज हुन ३० युनिट विद्युत् खपत हुन्छ ।

यसको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ । यो ब्राण्डका विद्युतीय कारको मूल्य नेपाली बजारमा ३५ लाखदेखि ४० लाखसम्म पर्ने रहेको छ ।

किया सभी

यो ब्राण्डको कार पछिल्लो समय नेपाली बजारमा प्रसस्त देखिएको छ । यो ब्राण्डले नेपालमा विगत ३ वर्षदेखि विद्युतीय कार बिक्री गरिरहेको छ ।
यसको विद्युतीय कारमा रहेको ब्याट्रीले फुलचार्जमा २१२–४८० किलोमिटरसम्म दुरी पार गर्न सकिन माइलेज दिने कम्पनीको दाबी छ । ब्याट्री फुलचार्ज गर्न ९–१० घण्टा समय लाग्छ भने त्यसका लागि विद्युत् खपत ६४–९० युनिटसम्म हुन्छ । यसको ब्याट्रीमा ५–१० वर्ष सम्मको वारेन्टी रहेको छ ।
यसको मूल्य नेपाली बजारमा ५६ लाखदेखि ७० लाखसम्म रहेको छ ।

पिगट इभी

शाङ्ग्रिला मोर्टस्ले २०१९ मा विद्युतीय कार नेपाली बजारमा ल्याएको हो । यो ब्राण्डको विद्युतिय कारले फुलचार्जमा १७० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । जसको ब्याट्री चार्ज गर्नको लागि २२ युनिट विद्युत् खपत हुन्छ भने चार्ज गर्न ८–१५ घण्टा लाग्छ ।
यो कम्पनीले आफ्नो विद्युतिय कारमा हुने ब्याट्रीका लागि भने ५ वर्ष सम्मको वारेन्टी दिएको छ । यो ब्राण्डले ल्याएको विद्युतीय सवारीको मूल्य नेपाली बजारमा ५५–६० लाखसम्म रहेको छ ।


क्लिकमान्डु