एनसेलको आम्दानीमा सामान्य सुधार, तेस्रो त्रैमासिक कमाइ १० अर्ब १६ करोड



काठमाडौं । निजीक्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको आम्दानीमा सामान्य सुधार भएको छ ।

गत वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) वित्तीय विवरणको तुलनामा यस वर्ष सामान्य सुधार भएको हो ।

एनसेलले यस वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) अवधिमा १० अर्ब १५ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिमा उसको आम्दानी १० अर्ब ३ करोड ६० लाख रुपैयाँ थियो । यस हिसाबले हेर्दा उसले आम्दानी १.२१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

उसले यस अवधिमा गरेको आम्दानीमा ३० प्रतिशत हिस्सा डेटाको रहेको छ । जसअनुसार डेटाबाट ३ अर्ब ४ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको यस्तो आम्दानी २४ प्रतिशत थियो ।

तेस्रो त्रैमासिकमा गरेको आम्दानी भने पहिलो र दोस्रोको भन्दा कम हो । एनसेलले पहिलो त्रैमासिकमा १० करोड ५३ करोड र दोस्रोमा १० अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

तेस्रो त्रैमासिकमा एनसेलको कुल आम्दानीको ४१.७ प्रतिशत सञ्चालन खर्च भएको छ । जसमा सबैभन्दा धेरै खर्च नेटवर्क बिस्तारमा गरेको छ । उसले १५.९ प्रतिशत नेटवर्कमा खर्च गरेको छ भने सेल्स र मार्केटिङमा ८ प्रतिशत खर्च भएको छ ।

वित्तीय विवरणअनुसार हाल उसका ग्राहक १ करोड ६४ लाख छन् । त्यसमा पोष्टपेड सिम चलाउन ४ लाख ४९ हजार र प्रिपेड सिम चलाउनको संख्या १ करोड ६० लाख छ ।

एनसेलका कुल ग्राहकमध्ये आधाभन्दा धेरै ५४.४ प्रतिशतले डेटा खपत गरिरहेका छन् । त्यस्तै, एनसेलको नेटवर्कमा स्मार्टफोन चलाउनेको संख्या ६५ प्रतिशत छ । ६५ प्रतिशत भनेको १ करोड ७ लाख हुन आउँछ ।

हाल एनसेलका ३ हजार ३ सय ५९ थ्रिजी बीटीएस टावर र ३ हजार ५ सय ३३ फोरजीका टावर रहेका छन् ।


क्लिकमान्डु