हिमालयन बैंकको बोर्डले फेरि पनि मर्जरको प्रस्ताव पास गर्न सकेन



काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्न नसकेर सकिएको छ ।

शुक्रबार हिमालयन बैंकले नेपाल वार्षिक साधारणसभा बोलाउने तथा नेपाल इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव साधारणसभामा लैजाने विषयमा निर्णय गर्न बैठक बोलाएको थियो । शुक्रबार बोलाएको सञ्चालक समितिको बैठकले मर्जरको बारेमा निर्णय गर्ने अपेक्षा थियो ।

तर,सञ्चालक समितिमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विषयमा कुनै निर्णय हुन सकेन । सञ्चालक समितिको बैठक १० दिनभित्र बसेर कुनै निष्कर्ष निकाल्ने निचोड सञ्चालक समितिले लिएको छ ।

हिमालयन बैंकका सञ्चालक समितिका २ जना सदस्य कांग्रेस महाधिवेशनमा व्यस्थ रहेको हुँदा सञ्चालक समितिको बैठक १० दिनपछि बस्न लागेको हो । मर्जर समितिका संयोजक रहेका सुनिल थापा नेपाली कांग्रेसका सहमहामन्त्री हुन् भने आशीष शर्मा कपिलवस्तुबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

१० दिनपछि बैठक बसेर मर्जरको बारेमा निर्णय लिने हिमालयन बैंकका एक सञ्चालकले बताए । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गत बैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए । सो अनुसार राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति समेत दिएको थियो ।

तर,सम्झौता गरेको ६ महिना हुँदापनि एकीकृत कारोबारको निर्णय हुन सकेको छैन । नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारणसभाको मिति तय गरेको छ । हिमालयन बैंकको वार्षिक प्रतिवेदन स्वीकृत गर्दा राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्टसँग मर्जरमा जाने निर्णय गर्नुपर्ने शर्त राखेको छ ।

जसको कारण हिमालयन बैंकले वार्षिक साधारणसभा बोलाउन सकेको छैन ।

हिमालयन बैंकका सञ्चालक समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ मर्जरको लागि सकारात्मक छैनन् । महालेखाले देखाएको प्रतिवेदनलाई आधार मानेर श्रेष्ठले मर्जर गर्न नहुने लबिङ गरेका छन् ।


क्लिकमान्डु