सहकारीले जलविद्युतमा लगानी बढाउनुपर्छ, इन्डक्सन प्रयोग गरे ४२ अर्ब जोगिन्छः उर्जामन्त्री



काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री फम्फा भुसालले जलविद्युतमा सहकारीले लगानी बढाउनुपर्नेमा उनले जोड दिएकी छिन् ।

सहकारीले जलविद्युतमा लगानी बढाएर बढी भन्दा बढी उत्पादन गरेर पेट्रोलियम पदार्थको आयात रोक्न सकिने बताइन् ।

‘अब सहकारीले जलविद्युतमा लगानी गर्दै विद्युतीय चुल्हो प्रयोगमा जोड दिनुपर्छ’ उनले भनिन्, ‘हरेकको घरमा इन्डक्सन चुल्हो प्रयोग गरेर ४२ अर्बको एलपी ग्यासको आयात रोक्न सकिन्छ ।’

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विद्युतीय सवारी प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले पेट्रोलियम पदार्थको आयातले अर्थतन्त्र धराशायी हुनुका साथै वातावरण प्रदुषित भएकाले अब विद्युतीय गाडी प्रयोग गर्नुपर्ने बताइन ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटमा सहकारी समाजवादको आधार भएको उनको भनाइ छ । संगठित भएर सामूहिक ढंगले व्यवसाय गर्ने भएकाले सहकारी व्यवसायको महत्व अझ चुलिदैँ गएको धारणा राखिन् ।

समाजमा सहकारीले रचनात्मक काम गरेको भएपनि केही बदमासी र खराबीका कारण यस क्षेत्र बदनामी हुन पुगेको बताइन् ।

सहकारी क्षेत्रले निक्षेप पनि बढीमा लिएर कर्जामा पनि बढी लिएको भन्दै अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन सुझाव दिइन् । आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएकाले सहकारीले अर्थतन्त्रमा सशक्त भूमिका खेल्नुपर्ने उनले बताइन् । राज्यले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर निर्धारण गरेपनि अझै कम गरेर उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

कृषिमा ६८ प्रतिशत जनता आश्रित भएपनि वर्षेनी २ खर्ब भन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुखद भएको बताइन् । सहकारीमार्फत उत्पादन, रोजगारी र उद्यमशीलता बढाउन उनले निर्देशन दिइन् । खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न प्राथमिकता दिएको उनले बताइन् ।


क्लिकमान्डु