विद्यालयमा कृषि, गाई, कुखुरा फर्म र बगैँचापनि हुनुपर्योः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्मा यस्तो बताएका हुन् ।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्यो, मन्त्री शर्माले भने, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्यो ।’ उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उनले भने, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उनले स्पष्ट पारे ।

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताए । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउँँदै यस्ताे धारणा राखेका हुन् । ‘अब ठुलो-मेगा विद्यालय बनाउनुपर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उनले भने, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’

उनले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रिकृत गर्नुपर्ने बताए । पछिल्लो समय केही स्थानबाहेक सडक पूर्वाधार विकास भएकाले त्यो सम्भव हुने शर्माको भनाइ छ ।


क्लिकमान्डु