ड्युटी आवरभित्र रुकुम पुगेर फर्कने अवस्था नभएपछि नेपालगञ्जमा अवतरण गरिएको होः निगम



काठमाडौं । काठमाडौं–रुकुम (सल्ले) का लागि उडान भएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा नेपाल वायुसेवा निगमले ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज नसक्ने अवस्था भएपछि नेपालगञ्जमा अवतरण भएको स्पष्टिकरण दिएको छ ।

मंसिर ५ गतेका लागि काठमाडौं–रुकुम (सल्ले)का लागि उडान तय भएको थियो । जसमा आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि ५ः१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो ।

तर मौसम प्रतिकुलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो ।

मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेका लागि पुनः सञ्चालन गर्ने तालिका तय भएको र त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइएको थियो ।

तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको ५ बज्न लागेको थियो ।

अर्को दिन बिहान ५ः१५ बजेदेखिनै ड्युटी शुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको निगमको भनाइ छ ।

हवाई उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन÷नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगमले बताएको छ ।

रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुर्याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो ।

निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्यूनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको निगमको भनाइ छ ।

निगमले विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।


क्लिकमान्डु