नेपाललाई इयूको कालोसूचीबाट हटाउन पर्यटनमन्त्री आलेको आग्रह



काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउन आग्रह गरेका छन् ।

युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मंगलबार मन्त्रालयमा भएको सिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गरेका हुन् ।

मन्त्री आलेको आग्रहपछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताएका छन् ।

‘नेपाली हवाई क्षेत्रलाई इयूको कालो सूचीबाट हटाउन सकारात्मक प्रयास भएको छ, कालो सूचीबाट हट्ने छ,’ उनले भने ।

छलफका क्रममा दुई पक्षीय सहयोगका बिभिन्न विषयमा छलफल भएको थियो ।

नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनीहरु काठमाडौँमा छन् ।

उक्त कार्यक्रममा नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, हवाइ सुरक्षा बिभागका निर्देशक राजु श्रेष्ठ, मन्त्रालयका सह सचिव टोकराज पाण्डेय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको थियो ।

युरोपियन युनियनले सन् २०१३ मा नेपाली विमान कम्पनीहरु असुरक्षित रहेको भन्दै कालासूचीमा राखेको थियो ।

त्यसयता नेपाली वायुसेवा कम्पनीहरु युरोपियन देशमा उडान गर्न पाएका छैनन् ।


क्लिकमान्डु