नेप्सले बनाउँदै छ डिजिटल सेवाको ‘हाटबजार’, छिट्टै नयाँ प्लेटफर्म ल्याउने तयारी



काठमाडौं । ६ वर्षअघि सेवा शुरु भएकाे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले मुलुकको डिजिटल भुक्तानीमा थुप्रै नयाँ प्रविधि ल्याइसकेको छ ।

उसले बैंकिङ क्षेत्रका यस्ता प्रविधि ल्याएको छ, जुन विकसित देशमा भर्खर प्रयोगमा आइरहेका छन् । उसले पछिल्लो एकवर्षमा ग्रीन पिन, कार्डलेस लगायतका सुविधा ल्याइसकेको छ ।

नेप्सले अब आफ्नो सेवालाई कार्डमा मात्र सीमित नभएर दायरा बढाउने आक्रामक योजना बनाइरहेको छ ।

यसै वर्षदेखि नयाँ ‘डिजिटल सोलुसन’ ल्याउने तयारी गरिरहेको नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बा बताउँछन् । जुन प्लेटफर्म बैंकिङ सेवामात्र नभएर सम्पूर्ण किसिमको विद्युतीय भुक्तानी सेवा उपलब्ध हुनेछन् ।

‘जसरी हाट बजारमा हरेक किसिमको सामान किनबेच हुन्छ, हामीले पनि सबै किसिमको भुक्तानी र सेवा उपलब्ध हुने डिजिटल सोलुसन ल्याउँदै छौ,’ नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बाले क्लिकमाण्डुसँग भने, ‘यसै आर्थिक वर्षभित्र उक्त सेवा सार्वजनिक गर्दैछौं ।’

‘डिजिटल इन्टरभेन्सन’ भनेर पछिल्लो एकवर्षदेखि यसको रोडम्यापमा लागिरहेको छ ।

यस रोडम्यापअनुसार कार्डसँगसँगै डिजिटल भुक्तानीका सेवा पनि उपलब्ध गराउने संचलक समितिको निर्णयअनुसार कार्यान्वयनको चरणमा लागिसकेको छ ।

अहिले भएका जति पनि फाइनान्सियल सोलुसन छन्, त्यसलाई एउटै प्लेटफर्ममा ल्याएर ओम्नी च्यानलको अनुभव कसरी बैंकलाई दिन सकिन्छ भन्ने बारेमा काम भइरहेको उनले बताए ।

‘यो आर्थिक वर्षको अन्तसम्ममा हामीले नयाँ सोलुसन ल्याउँदै छौं,’ सुब्बाले भने ।

नयाँ डिजिटल सोलुसन भनेको अहिले भुक्तानी प्रणालीभित्र भएका जति पनि विद्युतीय माध्यमहरु छन् तिनीहरुको सेवा दिने हो ।

मोबाइल एपदेखि सबै विद्युतीय भुक्तानी संयुक्तरुपमा जानुपर्छ भन्ने उनको योजना छ । जसले बैंकका हरेक कामलाई डिजिटल प्रविधिबाट गर्न सकियोस् ।

उनीहरुको ल्याउन खोजेको सेवा भनेको ‘एग्रिगेटेड सुपर एप’को हो । जहाँ बैंकको सेवामात्र होइन इन्स्योरेन्स किन्न सकियोस्, प्रिमियमपनि तिर्न सकियोस् ।

‘त्यो एक हाट बजार जस्तो होस्,’ सुब्बा भन्छन्, ‘हाटबजारमा जस्तै सबै सेवा एकै ठाउँबाट लिन सकियोस् ।’

‘बैंकका ग्राहक खाता खोल्न बैंक धाउने र खाता खोलिसकेपछिका सेवा लिन बैंकमै जाने प्रवृत्तिलाई अन्त्य गर्न चाहन्छौं,’ सुब्बा भन्छन्, ‘हाम्रो उद्देश्य हरेक बैंकको सेवा लिन काउन्टरमा भिड नहोस् भन्ने हो ।’

यसो हुनसकेमा बैंक र ग्राहक दुबैलाई फाइदा हुनेछ । बैंकले सहज र सुलभ सेवा दिनसक्ने छन् भने ग्राहकलाई पनि समयको बचत, सुविधा र सस्तो सेवा हुनेछ ।

नयाँ डिजिटल सोलुसनसँगै ‘वित्तीय समावेशिता’लाई मुख्य उद्देश्य राखेर अगाडि बढ्न चाहन्छन् सुब्बा । वित्तीय समावेशिताभित्रको ठूलो ‘भर्टिकल’ भनेको डिजिटल फाइनान्स सर्भिस हो ।

यसको अर्थ हो अब डिजिट भुक्तानी विलासिताको सधान रहेन । यो अब आम उपभोक्ताको आवश्यकतको सेवा भइसकेको छ । त्यसैले वित्तीय समावेशिता ठूलो मुद्दा हो ।

सहर केन्द्रित रहेका डिजिटल सेवा अब गाउँगाउँ पुग्नु पर्छ । डिजिटल सेवा अब निश्चित वर्गको मात्र हुनु हुँदैन र समाजको तल्लो तहसम्म पुग्न आवश्यक छ भन्छन् सुब्बा ।

‘शुरुवाती समयमा सहरबाट ‘सेन्सेटाइज’ गर्नु ठीकै हो,’ सुब्बा भन्छन्, ‘अन्ततः यो सेवा हरेक क्षेत्र र तहमा पुग्नुपर्छ ।’

यति भनिरहँदा मुलुकका हरेक क्षेत्रमा डिजिटल सेवा कार्यान्वयन गर्न ठूलो चूनौतीपनि छ ।

जस्तो कि पूर्वाधार ।

हाम्रो मोबाइलमा रहेको क्युआर सबै ठाउँमा प्रयोग हुने अवस्था छैन ।

‘पोइन्ट अफ एक्सेप्टेनस धेरै महत्वपूर्ण विषय हो,’ सुब्बा भन्छन्, ‘इन्टरनेट र कनेक्टिभिटीमा गम्भीर भएर काम गर्नुपर्छ । कनेक्टिभिटी भयो भने नेप्स जस्ता फिनटेकले ल्याएको सोलुसन तल्लो स्तरमा पुग्नसक्छ ।

डिजिटल भुक्तानी जति व्यापक बनायो, आर्थिक क्रान्ति त्यत्ति सहज हुने उनको भनाइ छ । डिजटल भुक्तानी ‘एक्सेप्ट’ गर्ने प्रविधिलाई जति बिस्तार गर्न सकियो, यसको प्रयोग त्यत्ति बढ्ने हो । स-साना पसलदेखि सबै ठाउँमा डिजिटल भुक्तानीका लागि पूर्वाधारमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

डिजिटल भुक्तानीलाई अझ व्यापक बनाउने हो भने सहकारी र लघुवित्तलाई यसको दायरामा ल्याउनु सकिने उनको भनाइ छ । मुलुकभर सहकारीमा ७२ लाखभन्दा धेरै सदस्य छन् । लघुवित्तमा ४५ लाख सदस्य छन् ।

‘मुलुकको आधाभन्दा धेरै जनसंख्या सहकारी र लघुवित्तमा छन्,’ सुब्बा भन्छन्, ‘यी सदस्यमा डिजिटल भुक्तानीको सेवा कार्यान्वयन गर्न सक्नुनै हाम्रो सफलता हो ।’

एक वर्षदेखि ‘डिजिटल इन्टरभेन्सन’

सुब्बाले नेप्सको नेतृत्व लिएको झन्डै १५ महिना बितेको छ । उनले यसअवधिमा नेप्सलाई आक्रामकरुपमा बजारमा लैजाने आधार तयार गरिरहेका छन् ।

त्यसका लागि उनले टीमपनि बनाइरहेका छन् । योसँगै नयाँ टेक्नोलोजी पनि ल्याउने क्रममा छन् ।

उनको नेतृत्वको नेप्सले पछिल्लो एक वर्षमा डिजिटल भुक्तानीमा थुप्रै इनोभेटिभ काम गरेको छ जुन विकसित देशसँग तुलना गर्न सकिन्छ ।

जस्तो कि उनीहरुले पछिल्लो समय ल्याएको सुविधा हो- ग्रीन पिन । ग्रीन पिन भनेको ग्राहक आफैले एटीएममा गएर आफ्नो कार्डको पिन परिवर्तन गर्न सकिने सुविधा हो ।

हामीले अहिलेसम्म बैंकबाट एटीएम कार्ड लिएपछि त्यसको पिनका लागि बैंकले खाममा राखेर दिन्थ्यो ।

‘त्यो वातावरणमैत्री पनि थिएन,’ सुब्बा भन्छन्, ‘अब ग्रीन पिन ल्याएपछि वातावरणमैत्री र सुरक्षित भएको छ ।’

अर्को प्रविधि हो- एनएफसी कन्ट्याक लेस । यसलाई ट्याप एण्ड पे भनिन्छ । आफ्नो कार्डलाई पल्समा नछोइकन कारोबार गर्न सकिने सुविधा हो यो । आफ्नो कार्डलाई पल्समा ट्याप गरियो भने २ हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । कोरोना संक्रमणको यो अवस्थामा कन्ट्याक लेस अत्यन्तै राम्रो सुविधा भएको छ ।

नेप्सले ल्याएको अर्को इनोभेसन भनेको सीआरएन प्रविधि हो । अर्थात, ग्राहकले एटीएममा गएर आफ्नो कार्डमार्फत् डिपोजिट गर्न सक्छन् ।
यो प्रविधि आएपछि आफ्नो रकम डिपोजिट गर्न बैंकमा गएर लाइन लागिरहनु पर्दैन ।

‘यो एक ग्राउन्ड ब्रेकिङ काम हो,’ सुब्बा भन्छन, ‘यो बैंकिङ क्षेत्रको लागि ठूलो उपलब्धी हो ।’

यसबाट पैसा डिपोजिट गर्नेमात्र होइन, त्यो रकम अर्को व्यक्तिले पुनः झिक्न सक्छ । त्यसैले यसलाई ‘क्यास रिसाइकलर मसिन’ भनिन्छ । यो प्रविधि अहिले प्रभु बैकले मात्र प्रयोग गरिरहेको छ ।

नेप्सले अर्को प्रविधि हो- कार्डलेस । यो सुविधासँगै अब पैसा झिक्न एटीएम कार्ड बोकिरहनु पर्दैन । आफ्नो मोबाइल फोन लिएर एटीएम मसिन जाने र मोबाइलको कार्डलेस अप्सनमा थिच्ने ।

मोबाइलबाट आफ्नो बैंकको एप खोल्ने र एपबाट आवश्यक रकम हानेर रकम झिक्न सकिन्छ । त्यसपछि एटीएमले पैसा दिन्छ । यो सुविधा अहिले एनआइसी एसिया, सनराइज, माछापुछ«े बैकलगायमा प्रयोग भइरहेको छ ।

छिट्टै आउने नयाँ प्रविधिहरु

नेप्सले डिजिटल बैंकिङमा थुप्रै नयाँ प्रविधि ल्याउने तयारी गरिरहेको छ । ती सेवाहरु बजारमा आउने तयारी भइरहेको सुब्बाले बताए ।

वेभ सर्भिस– वेभ सर्भिस भनेको आफ्नो कुनै पनि कार्डलाई मोबाइल एप प्रयोग गरेर ब्लक गर्न र अनब्लक गर्न सकिने प्रविधि हो ।

मानौं, ग्राहकको कार्ड हरायो । अब उसले बैंकमा फोन गरेर यो कार्ड ब्लक गरिदिनुस् भनिरहनु पर्दैन । वेस सर्भिस आएपछि मोबाइल बैंकको एपबाट नै तुरुन्तै आफ्नो कार्ड ब्लक गर्न र चाहेको बेला अनब्लक गर्न सकिनेछ ।

‘यो सेवा बैंकहरुले चाडै कार्यान्वयनमा ल्याउँदै छन्,’ सुब्बा भन्छन्, ‘पिन सेट, क्रेटिड कार्डको स्टेटमेन्ट पनि त्यहीबाट हेर्न सकिन्छ ।’

भिजा डाइरेक्ट– भिजा डाइरेक्ट भनेको नेपाल सरकारले घोषणा गरेको १० प्रतिशत भ्याट फिर्ता पाउने प्रविधि हो । नेपाल सरकारले दुई वर्षअघि विद्युतीय कारोबारमा लाग्ने भ्याटको १० प्रतिशत उपभोक्तालाई फिर्ता दिने नीति ल्याएको थियो ।

सरकारले नीति ल्याएपनि प्रविधिको अभावमा यो कार्यान्वयन हुन सकेको थिएन । अब भने नेप्सले उक्त नीति कार्यान्वयनका लागि भिजा डाइरेक्ट भन्ने सेवा ल्याएको सुब्बाले बताए ।

‘यो सेवा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन,’ सुब्बाले भने, ‘अब हामीले डिसेम्बरदेखि शुरु गर्दै छौं ।’

कार्डबाट कार्डमा भुक्तानी– नेप्सले ल्याउने लागेको अर्को सुविधा भनेको कार्डबाट कार्डमा रकम पठाउन सक्ने सुविधा हो ।

एटीएमका कार्ड हालेर आफूले रकम पठाउन चाहेको अर्को व्यक्तिको कार्डको नम्बर हालेपछि उसको बैंकमा रकम भुक्तानी गर्न सकिन्छ । यो सेवा पनि डिसेम्बरमा शुरु हुदैछ ।

नेप्सको बजार प्रवेश

विश्वभर बैंकिङ सेवामा कार्डको प्रचलन आइरहेको बेलामा नेपालमा पनि त्यस्तै प्रविधि भित्रिए । भिजा कार्डले भारतसहित नेपालमा पनि आफ्नो सेवा बिस्तार गरिरहेको थियो ।

त्यही बेला नेपालका केही बैंकहरुले महसुस गरे, ‘हामी आफ्नै कार्ड किन नबनाउने ।’ यो प्रविधि महंगो पनि थियो । त्यसमाथि सुरक्षाका हिसाबले अझ धेरै संवेदनशिल विषय हो ।

भिजा कार्डले पनि ‘नेपाल सानो बजार छ, बैंकहरु मिलेर गर्दा राम्रो हुन्छ’ भनिसकेको थियो ।

त्यसो त नेपाला त्यो बेला स्वदेशकै कार्ड प्रचनलमा रहेको थियो । तर, त्यो पर्याप्त थिएन । यी सबै कुरालाई मूल्यांकन गर्दै केही बैंकहरु मिलेर सन् २०१५ मा शुरु गरे, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ।

संस्थापकको रुपमा रहेर सनराइज बैंक, माछापुछ्रे, सिद्धार्थ, सिटिजन, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई, एनआईसी एसिया, बैंक अफ काठमाण्डू संस्थापक तथा सेयर होल्डर भएर नेप्स शुरुवात गरे ।

‘यो विशुद्ध कमर्सियल बैंकहरुको ओनरसिपमा शुरु भएको हो,’ नेप्सका सीईओ सुब्बा भन्छन्, ‘अहिले यसमा कमर्सियल र विकास बैंक गरेर १५ वटा सदस्य बैंक छन् ।’

मुलुकमा सञ्चालनमा रहेका ठूला बैंकहरुले सञ्चालन गर्ने नेप्समा विश्वस्तर उत्कृष्ट टेक्नोलोजी ल्याउनु पर्छ भन्ने सञ्चालक समितिको निर्णय थियो ।

उनीहरुले बीपीसी बैंकिङ टेक्नोलोजी कम्पनीको स्मार्टभिष्टा प्रविधि ल्याए । त्यही प्रविधिलाई अपग्रेड गर्दै अहिलेसम्म प्रयोग गरिरहेका छन् । टेक्नोलोजीलाई आजसम्म अपग्रेड गर्दै आजसम्म सेवा दिइरहेको छ ।

नयाँ प्रविधि ल्याएसँगै नेप्सले मुख्यगरी तीनवटा सेवा शुरु गर्यो । एटीएम सेवा, पल्स र इ–कमर्शको सेवा हो । बैंकले ग्राहकलाई उपलब्ध गराउने डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएमको प्रविधिको नेप्सले दिन शुरु गर्यो ।

‘हामीले सदस्य बैंहरुको पूर्वदेखि पश्चिमसम्म २ हजार बढी एटीएम मेसिनका लागि सेवा दिन्छौं,’ सुब्बा भन्छन् , ‘झन्डै ३५ लाख कार्ड होल्डर हुनुहुन्छ ।’

२० हजारभन्दा धेरै पल्स मेसिनहरु छन् । विभिन्न होटल, रेष्टुरेन्ट, डिमार्टमेन्ट स्टोरहरु, इ-कमर्श साइटमा प्रयोग भइरहेका छन् ।

सुब्बाका अनुसार बैंकहरुले वार्षिक २०-२५ प्रतिशतले कार्डको संख्या बढिरहेको छ । बजारमा अन्य फिनटेक कम्पनीहरु थपिदै गएपनि नेप्सको कार्डको संख्या वृद्धि हुदै गएको उनको भनाइ छ ।

‘मुलुकभर प्रयोग भइरहेका कार्डमा ४० देखि ४५ प्रतिशत बजार हिस्सा नेप्सले ओगटेको छ,’ सुब्बा भन्छन, ‘सबैभन्दा धेरै हिस्सा हामीसँगै छ ।’

दुई वर्षअघि चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेर गैरकानूनी रुपमा पैसा झिके । त्यसको मारमा नेप्स पर्यो । त्यस घटनाले बजारमा केही हल्ला भए पनि नेप्सको सुरक्षा र बजारमा असर नगरेको सुब्बा बताउँछन् ।

जति धेरै प्रविधि प्रयोग हुदै जान्छ ह्याकिङको समस्या पनि बढ्दै जान्छ । यो नेपालमा मात्र नभएर विश्वभरको लागि चूनौती भएको उनको भनाइ छ ।

सुरक्षाको विषयलाई नेप्सले सधै अग्रस्थानमा राखेर काम गरिरहेको छ । त्यसका लागि भनेर ग्लोबल स्ट्यान्डर्डको अप्रेसन सेन्टर (सफ्ट) स्थापना गरेको छ ।

‘नेपालमा हामीमात्र त्यस्तो कम्पनी जसले सफ्ट प्रयोग गरिरहेका छौं,’ सुब्बा भन्छन्, ‘हाम्रो सिस्टममा २४ घण्टा मनिटरिङ गर्न ठूलो लगानी गरेका छौं ।’

नेप्सको मात्र नभएर हरेक फिनेटकले सुरक्षालाई सबैभन्दा बढी ध्यान दिनुपर्ने र लगानी पनि बढी गर्नुपर्ने उनको धारण छ ।

सुब्बाको यात्राः ग्रीनलेज बैंकदेखि नेप्ससम्म
बैंकिङ क्षेत्र र फिनटेकमा लामो अनुभव संगालेका सुब्बाको करिअर ग्रीनलेज बैंकबाट शुरु भएको थियो ।

सन् १९८९ मा उनी नेपाल ग्रीनलेज बैंकमा प्रवेश गरे । त्यहाँ १० वर्ष काम गरे ।

त्यसपछि उनको यात्रा विदेशतिर भयो । थाइल्याण्डमा वेस्टर अमेरिकन विश्वविद्यालय स्थापना हुँदै गर्दा उनी त्यहाँ डिनका रुपमा काम गर्ने अवसर पाए ।

एक दशक त्यही विश्व विद्यालयमा काम गरिरहेको बेला नेपालमा बैंकिङ एकेडेमी खोल्ने कुरा भइहेको थियो । एसियाली विकास बैंकको सहयोगमा नेसनल बैंकिङ ट्रनिङ इन्स्टिच्युट खोल्ने तयारी भइरहेको थियो ।

उनी स्वदेशीसहित विदेशी आकांक्षीसँग प्रतिष्पर्धा गर्दै नेसनल बैंकिङ इन्स्टिच्युटको नेतृत्व गर्ने मौका पाए । त्यहाँ पनि उनले दश वर्ष काम गरे ।
इन्स्टिच्युट छोडेर उनी प्राइस वाटर हाउस भन्ने एक ग्लोबल फर्ममा संलग्न भएका थिए । ६/७ महिनामात्र भएको थियो । त्यही बेला उनलाई नेप्सबाट अनुरोध आयो, ‘नेप्सको नेतृत्व गनुपर्यो ।’

१५ महिना अघि नेप्समा आएका ५३ वर्षे सुब्बा नयाँ जोशसहित यसलाई उचाईमा पुर्याउने योजनामा छन् ।

‘म उत्साहित छु । हामीले नेप्सबाट नयाँ डिजिटल सोलुसनसहित ‘डिजिटल इन्टरभेन्सन’ गरिरहेका छौं,’ उनी भन्छन् ।


सन्तोष न्यौपाने