सरकारले ६० लाख बढी पीफाइजर डोज सिधै खरिद गर्ने



काठमाडौं । सरकारले करिब ६१ लाख पीफाइजर डोज सिधै खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

सरकारले आज राजपत्रमा प्रकाशन गर्दै एक पटकका लागि पीफाइजर डोज खरिद गर्न बाधा अड्काउ फुकाउ गरेसँगै सिधै खरिद गर्ने सक्ने भएको हो ।

सरकारले कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

यसका लागि खोपको तत्काल आपूर्ति हुन आवश्यक भएको तथा अहिले विश्वव्यापी रुपमा खोपको सहज उपलब्धता नभएको सन्दर्भमा खोपको आपूर्तिमा सुनिश्चितता गर्न एक पटकका लागि सिधै खरिद गर्न सक्ने राजपत्रमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ को उपदफा (१) बमोजिम खोप उत्पादक कम्पनीसँग सोझै खरिद गर्ने प्रक्रिया अघि बढाइकोमा सम्बन्धित कम्पनीले कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी भएमा मात्रै खोप आपूर्ति गर्न सक्ने सर्त निर्धारण गरेको छ ।

तर, सार्वजनिक खरिद ऐन, २०६३ मा कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरिद गर्ने व्यवस्था नरहेको हुँदा खरिद गर्न बाधा परेकोले स्वास्थ्य सेवा विभागको विशेष परिस्थितिलाई ध्यानमा राखी बाधा अड्चाउ फुकाएको राजपत्रमा उल्लेख छ ।

राजपत्रमा एकपटकको लागि पीफाइजर खोेप उत्पादनसँग वार्ताद्वारा निर्धारण गरिएको मूल्यमा कार्य सम्पादन र पेश्की जमानत विना अग्रिम भुक्तानी गर्ने गरी खोप खरिद गर्न सक्ने जनाएको छ । साथै, उक्त खोपका लागि रकम राष्ट्र बैंकमार्फत् भुक्तानी गरी ६० लाख ९ सय डोज खोप सोझै खरिद गर्न सक्ने गरी ऐनको दफा ७४ख ले दिएको अधिकार प्रयोग गरेको जनाएको छ ।


क्लिकमान्डु