बाबा रामदेवलाई नेपालको सद्भावना दुत बन्न पर्यटन बोर्डको प्रस्ताव



काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनका लागि जोड दिँदै भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ ।

नेपालमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल आएका रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।

बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दुतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सिईओ)डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रर्वद्धनका लागि पहल गरिरहेको उनले बताए ।

‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रर्वद्धन गरिरहकै छौं । नेपाललाई मुलतःसाहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ । तर नेपाल साहसिक गन्त्वयका साथै संस्कृति, प्रकृति, र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रर्वद्र्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,’ उनले भने ।

यसैबीच योगगुरु रामदेव तथा आर्चाय बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनलाई अघि बढाउने विषयमा छलफल भएको छ ।

योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रर्वद्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताए ।

‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्नेछु’ उनले भने ।

योगगुरु रामदेवले नेपालमा आएर यहाँले धार्मिक आध्यात्मिक तथा सांस्कृतिक पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह समेत गरेका छन् ।

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । यस्तै आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको एकदिने योग शिविरमा सहभागी समेत भएका छन् ।


क्लिकमान्डु