
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएइका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सामूदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताए ।
समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताए ।
‘गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा हो’, उनले भने, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनुपर्छ । सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्छ । मूलतः सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्न सक्छौँ ।’
मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए ।
‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ । त्यसबाट मात्रै समाजवादको आधार तयार हुनसक्छ’, माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले भने, ‘यो हाम्रो भावी कार्यदिशा हो ।’
त्यस्तै समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने पनि मन्त्री शर्माले बताए । उनले हिमाल, पहाड, तराई÷मधेस, कर्णाली, दलित, जनजातिलगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने बताए ।
यसैगरी मन्त्री शर्माले प्रत्येक सदस्यको समान अधिकार भएको एक मात्र पार्टी माओवादी केन्द्र भएको दाबी गर्नुभयो । उनले पार्टी केन्द्रदेखि इकाइसम्मका सम्पूर्ण सदस्यको समान अधिकार भएको बताए ।
पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको बताउँदै मन्त्री शर्माले माओवादीले पुनः पूर्णसमानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा व्यक्त गरे ।
गरिब, उत्पीडित, दलित, अल्पसंख्यकलगायतले चुनाव लड्न सक्ने प्रणाली नभएकाले अब सबैको समान प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता उनले बताए ।
‘यो देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ । त्यसले कम्तीमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन गर्न पाउनेछ’, उनले भने, ‘यो हाम्रो एजेन्डा बाँकी छ । यसलाई पुनः अगाडि लैजानुपर्छ ।’
प्रतिक्रिया