तामाङविरुद्ध १४६९ ले दिए उजुरी, साढे ५ अर्बबढी ठगीको आरोप



काठमाडौं । ठगी आरोपमा प्रकाउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङविरुद्ध शुक्रबारसम्म १ हजार ४६९ जना बचतकर्ताले उजुरी दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार १ हजार ४६९ जना बचतकर्ताले ५ अर्ब ५७ करोड ८४ लाख ९८ हजार ३१४ रुपैयाँ नदिएको भन्दै उजुरी गरेका छन् । ब्यूरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार दैनिक उजुरी आउने क्रम बढेको छ ।

सहकारीमार्फत् लिएको रकम सिभिल हाउजिङमा लगानी गरेका घरजग्गा व्यवसायी इच्छाराज तामाङले सहकारीका बचतकर्ताको बचत हिनामिना गरेको भन्दै उजुरी परेपछि ब्यूरोले पक्राउ गरेर अनुुसन्धान गरिरहेको छ ।

अध्यक्ष तामाङसहित १२ जनालाई ब्यूरोले असोज १८ गते पक्राउ गरेको छ । संगठित रुपमा सहकारीका बचतकर्तालाई ठगेको भन्दै अनुसन्धान जारी रहेको ब्यूरोले बताएको छ । सिभिल को–अपरेटिभ बचत तथा ऋण सहकारी संस्थाका १७१ जना पिडित बचतकर्ताले उजुरी दिएपछि ब्यूरोले १२ जनालाई पक्राउ गरेको थियो ।

सहकारीका निक्षेपकर्ता तथा सर्वसाधरणहरुले सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएपछि उजुरी गरेका हुन् । सहकारीमा सर्वसाधारण तथा पूर्व उच्चपदस्थ कर्मचारी लगायतको बचत रकम रहेको छ ।


क्लिकमान्डु