एमाले महाधिवेशनले चितवनका होटल व्यवसायीलाई भ्याइनभ्याइ, ६५ सय रुम तयार



काठमाडौं । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा एमालेको महाधिवेशनमा चिवतन र सौराहाका होटल व्यवसायीलाई भ्याननभ्याइ भएको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म ठप्प चितवन र सौराहका होटलमा दशैं अगाडिदेखि आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । तर महाधिवेशनलाई लक्षित गरी होटल बुकिङ धमाधम भइरहेको होटल व्यवसायी संघ सौराहका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

उनका अनुसार सौराहमा मात्रै १२० वटा होटलमा ६५ सय रुम छन् । जसमा अहिले महाधिवेशनका लागि धमाधम बुकिङ भइरहेको छ । त्यसबाहेक चितवनमा रहेका होटलमा पनि बुकिङ भइरहेको छ ।

‘महाधिवेशनका लागि करिब ६५ सय रुम बुकिङ गर्नुपर्नेछ । जसमध्ये अहिले करिब ६० प्रतिशत बुकिइ भइसकेका छन्,’ उनले भने, ‘अन्य बुकिङहरु क्यान्सिल गरेर भए पनि महाधिवेशनका लागि कतिपय होटलमा बुकिङ भइरहेको छ ।’

उनका अनुसार सौराहाका होटलमा मंसिर ९ गतेदेखि १३ गतेसम्मका लागि होटल पाउन गाह्रो छ ।

‘महाधिवेशनकै लागि पनि होटल अपुग हुने अवस्था छ, यस्तो अवस्थामा पर्यटनका लागि होटल खाली छैनन्,’ उनले भने ।

दशैंअघिदेखि आन्तरिक पर्यटनको चहलपहल बढ्दै जाँदा सौराहका होटलमा बुकिङ अत्यधिक बढेको थियो । हाल चाडपर्व सकिएपछि ५ प्रतिशत जति आन्तरिक पर्यटक र करिब १० प्रतिशत जति भारतीय पर्यटकको बुकिङ आइरहेको छ । त्यसबाहेक अन्य देशका विदेशीहरुको हकमा १÷२ प्रतिशत मात्रै बुकिङ भएको छ ।

नेकपा एमालेले चिवतनमा महाधिवेशन गर्दा सबैभन्दा बढी फाइदा त्यहाँका होटल व्यवसायीलाई भएको भट्टराईको भनाइ छ ।

‘लामो समयसम्म होटल बन्द जस्तै भए, लकडाउन हटेपछि होटल राम्रोसँग सञ्चालन हुन नसकेको अवस्थामा महाधिवेशनका कारण होटलमा व्यापाक चहलपहल बढेको छ,’ उनले भने ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चिवतनका सौराहमा आन्तरिक पर्यटकको पनि व्यापार चहलपहल हुन थालेको छ ।


क्लिकमान्डु