सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलसमक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत् प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्वलगायतका विषय समेटिएको प्रतिवेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न बाणिज्य बैंकमार्फत् सुनको आपूर्ति हुँदा आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन गोल्ड बैंकमार्फत् आपूर्ति गर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

यस्तै विभिन्न नाकाबाट सुनको वितरण गर्नुपर्ने नीतिगत ब्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्द्रित रहेकाले त्यसलाई विकेन्द्रित गर्दै सहजरुपमा तोकिएका नाकाबाट व्यवसायीले कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्ने खाँचो औंल्याए ।

व्यवसायीसँगको भेटमा कार्यकारी निर्देशन पौडेलले व्यवसायीका तर्फबाट बुझाइएको प्रतिवेदन ग्रहण गर्दै व्यवसायीका मागलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए । भेटमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।


क्लिकमान्डु