कुमारी बैंकको नक्कली जग्गा धितो प्रकरणः राष्ट्र बैंकले अनुसन्धान थाल्यो



काठमाडौं । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित विरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ५ जनालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार मूल्याङ्कनकर्ता राजेश चौरासिया, शेषकुमार महर्जन, कुसन प्रधान, मुक्तिलाल गौतम र बैंकको पर्सा शाखाका ऋण अधिकृत सोनु ठाकुरलाई पक्राउ गरेको हो । सीआईबीले कात्तिक ११ गते ४ जना र राजेश चौरसियालाई कात्तिक २१ गते पक्राउ गरेको थियो ।

पटक पटक गरेर ४ जनालाई सीआईबीले पक्राउ गरी करिब तीन सातायता धमाधम बयान लिइरहेको छ । उक्त प्रकरणमा मुछिएकाहरुसँग लिएको बयानका आधारमा अनुसन्धान प्रतिवेदन बन्ने क्रममा अन्तिम चरणमा पुगेको छ ।

स्रोतका अनुसार बयानको क्रममा बैंकको उच्च नेतृत्वको पनि संलग्नता रहेको आशंकामा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुजमणि तिमल्सिनालाई बोलाएको छ । सीआईबीले तिमल्सिनालाई बोलाएर आवश्यक कागज गराएर छोडेको छ ।

उक्त प्रकरणमा भएको अनुसन्धानले बैंकका माथिल्लो तहका कर्मचारीको समेत संलग्नता देखिन थालेपछि तिमल्सिनालाई पनि बोलाएर कागज गरेको हो । अनुसन्धानको लागि आवश्यकताको आधारमा अन्य व्यक्तिलाई पनि बोलाउने क्रममा रहेका छन् । अहिलेसम्म अभियुक्तहरुसँग पनि लिएको बयानको क्रममा कीर्ते भएको स्वीकारेका छन् ।

प्रहरीका अनुसार शेषकुमार महर्जन र मुक्तिलाल गौतमले कुसन प्रधानसँग पैसा लिनुपर्ने थियो । त्यो लिन खोज्दा कुसनले उक्त जग्गाको लालपुर्जा दिएका थिए । आफ्नो जग्गा बैंकमा राखेर अरुले नै १९ करोड रुपैयाँ लिएको अमात्यले भदौमा मात्रै थाहा पाएको प्रारम्भिक बयानबाट पत्ता लागेको छ ।

यो विषयमा नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान शुरु गरेको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार राष्ट्र बैंकले स्थलगत अनुसन्धान शुरु गरिसकेको छ ।

घटनाको निरीक्षणका लागि गएको समूहले बनाएको प्रतिवेदनको आधारमा घट्नाक्रमलाई हेरेर बाफियाअनुसार कारबाही गर्ने हो वा होइन, बैंकिङ कसुर आकर्षित हुने हो कि भन्ने थाहा हुने पोखरेलले बताए ।

बैंकको कुन प्रकृतिको घटना भएको हो र कस्तो कारबाही गर्ने भन्ने कुरा स्थलगत निरीक्षणको क्रममा आएको प्रतिवेदनपछि मात्रै थाहा हुने उनको भनाइ छ ।


क्लिकमान्डु