सेयर बजार ओरालो लागेपछि म्युचुअल फण्डको सम्पत्ति घट्यो, केहीको मूल्य १० रुपैयाँभन्दा तल



काठमाडौं । सञ्चालनमा रहेको म्युचुअल फन्डमध्ये अधिकाशंको प्रति इकाई खुद सम्पति मूल्य (न्याभ)मा गिरावट देखिएको छ । भदौको तुलनामा असोजमा धेरै कम्पनीको न्याभ गिरावट देखिएको छ ।

भदौको तुलनामा असोजमा सेयर बजारमा निकै उतार चढाव देखिएको थियो । त्यसको असर म्यूचुअल फण्डको न्याभमा परेको छ ।

२९ वटा कम्पनीमध्ये २३ वटा कम्पनीको न्याभमा गिरावट आएको छ । ३ वटा कम्पनीको न्याभमा भने सुधार देखिएको छ । न्याभमा सुधार आउने कम्पनीमा मेगा म्युचुअल फण्ड–१, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, सिटिजन्स म्यूचु्अल फण्ड–१ को न्याभमा सुधार आएको हो ।

कम्पनीहरुको न्याभमा गिरावट आएपनि प्रति इकाइ १० रुपैयाँ भन्दा कम थोरै कम्पनीको रहेको छ । असोज मसान्तसम्म आइपुग्दा एनआईसी एसिया सेलेक्ट फण्ड–३० को ९ रुपैयाँ ९३ पैसा, आरबीबी म्यूचुअल फण्ड–१ को ९ रुपैयाँ ७२ पैसा, मेगा म्यूचुअल फण्ड–१ को ९ रुपैयाँ ९९ पैसा, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ९ रुपैयाँ ८९ पैसा, एनआईबीएल समृद्धि फण्ड–२ को ९ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै नयाँ कम्पनीको रुपमा रहेको नबिल ब्यालेन्स फण्ड–३ को ९ रुपैयाँ ८७ पैसा रहेको छ । असोज महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई सम्मुन्नत स्किम–१ को २१ रुपैयाँ ३३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशित गरेको तथ्याङक अनुसार असोज मसान्तमा २१ अर्ब ९ करोड ६२ लाख ८९ हजार ८६५ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेका छन् । भदौमा २१ अर्ब ५० करोड ३ लाख ८९ हजार ३४७ रुपैयाँ लगानी गरेको थिए । बजारमा देखिएको उतार चढावको कारण कम्पनीहरुले भदौको तुलनामा असोज महिनामा सूचिकृत कम्पनीमा गर्ने लगानी पनि घटाएका छन् ।

यो अवधिमा करिब २० वटा कम्पनीको सूचीकृत सेयरमा गरेको लगानी घटेको छ ।

भदौको तुलनामा असोजमा म्यूचुअल फण्डका बैंकमा राखेको मौज्दात पनि घटेको छ । भदौमा ९ अर्ब ५६ करोड ४४ लाख ५ हजार ८५३ रुपैयाँ बैंक मौज्दात रहेपनि असोजमा आइपुग्दा यो घटेर ८ अर्ब ९१ करोड ४६ लाख १८ हजार ६३० रुपैयाँमा सिमिति बनेको छ । यो अवधिमा करिब १ दर्जन कम्पनीको बैंकमा राखेको मौज्दात घटेको देखिएको छ ।

सेयर बजारमा लगानी गर्नकै लागि भनेर फण्डको व्यवस्था गरिएको हो । फण्डहरुले पनि बजार हेरेर लगानी गर्ने गरेका छन् । बजार बढेको समयमा लगानी बढाउने र घटेको समयमा मुद्दती निक्षेपमा राखेर ब्याज खाने गरेको आरोप फण्डहरुलाई सँधै लाग्ने गरेको छ ।


क्लिकमान्डु