केही बैंक एग्रेसिभ हुँदा प्रणालीमै समस्या आयोः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरु एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको बताएका छन् ।

मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु आवको शुरुमै निजी क्षेत्रमा गएको कर्जाका कारण तरलतामा चाप परेको बताए ।

‘चालु आवको शुरुमै ३२ प्रतिशत क्रेडिट चाप बढेको थियो र बैंकहरुले घाँटी हेरेर हाड ननिलेका कारण समस्या आएको हो,’ उनले भने ।

गभर्नर अधिकारीले यस समयमा रेमिट्यान्स नबढेको र पुँजीगत खर्च पनि कम भएकाले तरलतामा चाप परेको बताए ।

उनले ब्याजदर समय अनुकुल बनाएर वित्तीय अवस्था स्वस्थ बनाउन समेत बैंकहरुलाई आग्रह गरे ।

प्रतिष्पर्धाबाट मूल्य तय हुनुपर्ने त्यसको लाभ सबै ग्राहकले पाउनुपर्ने उनको धारणा छ ।

बैंकको भूमिका सहजकर्ताको हुनुपर्ने र अस्वस्थ प्रतिष्पर्धा नगर्न समेत उनले आग्रह गरे ।

‘तत्कालै नाफा नखोज्ने, नियममा लुपहोल नखोज्न र दीर्घकालीन सोच राखेर काम गर्नुपर्छ,’ उनले भने ।

उनले तरलता अलिकति अभाव हुँदा नआत्तिन समेत आग्रह गरे ।

गभर्नर अधिकारिले बैंकिङ क्षेत्रको वृद्धिदर आर्थिक क्षेत्रको वृद्धिदरसँग मेल खानु आवश्यक भएको समेत बताए ।


क्लिकमान्डु