कोरोनाले रोकिएको कोरियन भाषा परीक्षा सञ्चालन हुने



काठमाडौं । कोरोनाका कारण रोकिएको अनुमति प्रणाली (ईपीएस) कोरिया रोजगारीको भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

वैदेशिक रोजगार विभाग र कोरिया मानव संशाधन विभाग (एचआरडी) सँग परीक्षा सञ्चालन गर्ने सहमति भएकाले परीक्षा सञ्चालन गर्ने भएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले कोरोनाले रोकिएका भाषा परीक्षाको सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
उनकाअनुसार कोरिया सरकारले पछिल्लो समय नेपालको रोजगारी प्रति सकारात्मक देखाएपछि विस्तारै सञ्चालन गर्ने तयारी भएको छ ।

‘अहिले पनि कोरोना महामारीकै समय भएकाले आवश्यक प्राटोकलको तयारी गरिरहेका छौं । तर, कहिले हुने भन्नेबारे मिति तय भएको छैन । मिति तय भएमा सूचना निकाल्छौं,’ उनले क्लिकमान्डूसँग भने ।

छलफल भएअनुसार अबको भाषा परीक्षा कम्प्यूटर प्रणालीमार्फत् हुने जनाएको छ । त्यसैले, विभागले उक्त पूर्वाधारको तयारी गरिरहेको उनको भनाइ छ ।

नेपालले सन् २००७ सालमा कामदार लैजाने सम्झौता भएसँगै सन् २००८ बाट भाषा परीक्षा सञ्चालन गरी कोरिया रोजगारी जाने गर्दै आएका छन् ।

तर, कोभिड २०१९ देखि भाषा परीक्षा सञ्चालन हुन सकेको छैन । २०२० का लागि सो वर्ष ९२ हजारले आवेदन दिएका थिए ।

उक्त आवेदन दिएकामध्ये करिब ७ हजारले उत्तीर्ण गरेका थिए । तर, कोरोना महामारीका कारण हालसम्म उक्त परीक्षार्थीहरू कोरिया जान पाएका छैनन् ।

त्यस्तै, बिदामा नेपाल फर्किएका श्रमिकलाई नेपाल फर्काउन थालिसकेका छन् ।

गत कात्तिक १० गते ५० जनालाई कोरिया लैजाने तयारी भएकोमा ४८ जना मात्रै कोरिया प्रस्थान भएका छन् । त्यसैले कोरिया सरकारले नेपाल श्रमिक प्रति सकारात्मक देखिएकाले विस्तारै परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।


क्लिकमान्डु