कर्मचारीसँग सीइओ रेग्मीको सामान्य भनाभन मात्रै भएको होः पर्यटन बोर्ड



काठमाडौं । त्रिभुवन विमानस्थलमा सीइओ धनञ्जय रेग्मीले कर्मचारीसँग हातपाथ भएको विषयमा पर्यटन बोर्डले स्पष्टिकरण दिएको छ ।

बोर्डले जारी गरेको विज्ञप्तिमा उक्तदिन भन्सार चेकजाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी चेकजाँच छिटो गर्न आग्रहगर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको र सोहीक्रममा बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथी कुटपिट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरिएको छ ।

बोर्डले सीइओ रेग्मीले मदिरा सेवन गरेको भन्ने विषय गलत भएको समेत दाबी गरेको छ ।

‘कुनैपनि विषयमा समाचार सम्प्रेषण गर्नु अघि दुवै पक्षको दृष्टिकोण समावेश गर्नुपर्ने सामान्य मान्यतालाई समेत वेवास्ता गर्दै एकपक्षीय रुपमा बोर्डका कार्यकारी प्रमुख र बोर्डको छविमा समेत आँचआउने गरी प्रकाशित समाचार प्रतिनेपाल पर्यटन बोर्ड घोर भत्सर्ना गर्दछ,’ बोर्डले भनेको छ ।

सीइओ रेग्मी बेलायतमा नोभेम्बर १ तारिखदेखि आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी भई शनिबार विहान नेपाल फर्कने क्रममा विमानस्थलमा भन्सारका कर्मचारीसँग भनाभन भएको थियो ।

रेग्मीले ६ वटा मदिराका बोतल बोकेको विषयमा भनाभन भएको थियो । उनले कर्मचारीलाई हातपाथ गरेपछि ५ हजार जरिवाना तिराइएको थियो ।


क्लिकमान्डु