नेपालमा हल्ला मात्रै भियतनाममा चीनले ८६ करोड ८० लाख डलर लागतमा बनायो सिटी मेट्रो



एजेन्सी । नेपालमा रेल परियोजनाको चर्चा हुँदा भियतनाममा सामान्य हल्ला पनि भएको थिएन । नेपालमा रेल सेवाको चर्चा हुन थालेकै २० वर्ष जति हुन लाग्यो ।

पछिल्लो पटक २०६२/६३ को जनआन्दोलनपछि नेपालमा ठूला भौतिक पूर्वाधारको विकासको बारेमा राजनीतिक दल र तिनका नेताले राम्रै भाषण दिए । उनीहरुका पूरा नहुने घोषणापत्रमा समेत यी विषय समावेश भए ।

तर, काम भने कुने भएन । नेपाली समाजमा भनिए जस्तै वरको सिन्को पर सार्ने समेत काम भएन । नेपालमा चलाउनका लागि भनेर ल्याइएको रेल पाल ओढेर वर्षाको पानी र जाडोको ठिही तापेर बसिरहेको छ ।

रेल चलाउने विषयमा अघिल्ला प्रधानमन्त्री केपी ओलीले कामभन्दा बढी हल्ला गरे । वर्तमान सरकारले पनि त्यसमा कुनै चासो दिएको छैन । उत्तरी छिमेकी देश चीनसँग जोड्ने भनिएको रेलमार्ग पनि अध्ययन भन्दा अगाडि बढ्न सकेको छैन ।

तर, नेपालमा भन्दा पछि चर्चा भएको भियतनाममा भने चिनियाँ सहयोगमा रेलमार्ग सञ्चालनमा आएको छ । त्यो पनि अत्याधु्ुनिक सुविधा सम्पन्न ।

भियतनामको राजधानी हनोईका अधिकारीले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह–हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन शुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् । उनीहरुले आफूहरुको देशमा नयाँ प्रविधिको रेल चलेकामा असाध्यै खुसी मात्रै भएका छैनन् । त्यसका लागि चीन सरकारलाई धन्यवाद समेत दिएका छन् ।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ । मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म निःशुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।

शनिबार बिहान निःशुल्क रुपमा दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

‘अब मलाई काममा जाँदा हरेक बिहान भिडको चिन्ता लिनु पर्दैन’ हुओङले सिन्ह्वालाई भनिन् सहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् ।

कूल १२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमीभन्दा बढी छ । प्रत्येक रेल प्रतिघण्टा ८० किमीको गतिमा १ हजार यात्रु बोकेर गुड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो । प्रतियात्रु टिकटको मूल्य ३ हजार भियतनामी मुद्रा हुनेछ ।

कूल ८६ करोड ८० लाख अमेरिकी डलर बराबरको लागत रहेको सो रेल्वे परियोजना चीनले अगाडि सारेको वेल्ट एण्ड रोड परियोजनाको एउटा हिस्सा रहेको बताइएको छ । मेट्रो रेल्वे लाइन चीनको चाइना रेल्वे सिक्थ ग्रुपले बनाएको हो ।

सन् २००८ मा प्रारम्भिक रुपमा शुरु गरिएको सो परियोजनाको खास काम भने सन् २०११ देखि भएको हो । परियोजनामा ४१९ मिलियन डलर चीनको बेल्ट एण्ड रोड परियोजनाबाट उपलब्ध भएको छ ।

सन् २०१७ को डिसेम्बरमा सक्ने भनिएको परियोजनामा समय बढेपछि थप २५० मिलियन डलर बढी लागेको छ । भियतनाम सरकारले प्रत्येक वर्ष १४.४ मिलियन डलरका दरले ९ वर्षभित्र तिरिसक्नेछ ।


क्लिकमान्डु