भाटभटेनीले यो वर्ष थप ४ वटा आउटलेट खोल्ने, लगानी ३० अर्ब पुग्यो



काठमाडौं । आक्रामक रुपमा शाखा बिस्तार गरिरहेको भाटभटेनी सुपरमार्केटले यसवर्ष थप ४ वटा आउटलेट बिस्तार गर्ने भएको छ ।

कम्पनीका सञ्चालक मिनबहादुर गुरुङले यसवर्ष काठमाडौंको टोखा, ललितपुरको सानागाउँ, हेटौंडा र धनगढीमा शाखा बिस्तार गर्न लागेको जानकारी दिए ।

उनका अनुसार हेटौंडामा आगामी माघ ४ गतेदेखि सुपरमार्केट सञ्चालनमा आउनेछ भने धनगढीमा आगामी वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।

साथै, काठमाडौंको टोखामा मंसिर १५ गतेदेखि र ललितपुरको सानागाउँमा माघ महिनादेखि सुपरमार्केट सञ्चालन हुनेछ ।

कम्पनीले पछिल्लो समय इटहरिमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका ४ वटा आउटलेट बिस्तारसँगै देशभर कुल आउटलेटको संख्या २३ पुग्नेछ ।

गुरूङका अनुसार ४ वटा आउटलेटमा करिब ४ अर्ब रूपैयाँ लगानी भइसकेको छ भने आउटलेटको संख्या २३ वटा पुगेपछि कुल लगानी ३० अर्ब रूपैयाँ पुग्नेछ ।

कम्पनीका सञ्चालक गुरुङले भाटभटेनी सुपरमार्केटलाई देशको सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा बिस्तार गर्ने आफ्नो लक्ष्य रहेको सुनाए ।

३७ वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा शुरु भएको भाटभटेनीले हाल देशका विभिन्न स्थानमा १९ वटा आउटलेट सञ्चालन गर्दै आएको छ ।

हाल कम्पनीमा १२ लाख सक्रिय सदस्य छन् भने दैनिक औसतमा ४० हजार पटक कारोबार हुँदै आएको छ । भाटभटेनीले वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । जसमा करिब ८ अर्ब रुपैयाँ विद्युतीय भुक्तानीमार्फत् हुँदै आएको छ ।

गुरुङले चालु आवमा ३० अर्ब रुपैयाँको कारोबार पुर्याउने लक्ष्य लिइएको बताए ।

शुरुवाती समयमा एकजना कर्मचारी राखेर कोल्ड स्टोर सञ्चालन भएको भाटभटेनी सुपरमार्केटमा हाल ६ हजारभन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् ।


क्लिकमान्डु