३ महिनामा एनसीएचएलबाट ४१ खर्बको कारोबार



काठमाडौं । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ने.रु. ४१.२ खर्ब बराबरको १ करोड ७१ लाख भन्दा बढि कारोबारहरु प्रोसेस र फर्छ्यौट गरेको छ ।

पछिल्लो आवको तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७% ले बृद्धि भएको हो ।

पहिलो त्रैमासमा इसीसीमा जम्मा २८.९ खर्ब बराबरको ४१ लाख ५३ हजार भन्दा बढी चेक कारोबार भएको छ ।

बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार ५.५ खर्ब बराबरको ३२ लाख ८६ हजार भन्दा बढि भएको छ ।

त्यस्तै गरी बैंक वित्तिय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्टआईपीएसमा ने.रु. ६.९ खर्ब बराबरको ९७ लाख ४७ हजार भन्दा बढि कारोबारहरु भएको छ ।

एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्टआईपीएसबाट गरिने कारोबारहरुमा उल्लेख्य बृद्धी भएको छ ।

विद्युतिय कारोबारको स्वीकार्यता तथा प्रयोग बृद्धीसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतिय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको देखिन्छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक/वित्तिय संस्थाहरु, पिएसपि, पिएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतिय भुक्तानीमा ल्याउन आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ । यसै क्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको काम समेत अगाडी बढाएको छ, जसको पहिलो चरणको तयारी सकिएर लागु हुने चरणमा रहेको छ ।


क्लिकमान्डु