विदेशी मुद्रा सीडीमा गणना गर्न नदिने व्यवस्थासँगै बैंकबाट नक्कली निक्षेप हरायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा विदेशी मुद्रालाई गणना गर्न नदिने व्यवस्था गरेसँगै बैंकमा भएको नक्कली निक्षेप हराएको छ ।

भदौको दोस्रो सातादेखि बैंकहरुले विदेशी मुद्रामा नक्कली निक्षेप खडा गरेर सीडी रेसियोलाई ९० प्रतिशतभन्दा तल देखाएका थिए । जसमा सबैभन्दा बढी नक्कली निक्षेप एनआईसी एशिया बैंकले देखाएको थियो ।

राष्ट्र बैंकले बैंकहरुले विदेशी मुद्रामा नक्कली निक्षेप देखाएर सीडी रेसियो ९० प्रतिशतभन्दा तल बनाएको चाल पाएपछि यसमा कडाई गर्दै ब्याजपनि नपाइने र सीडीमा गणना गर्न नपाइने व्यवस्था लागु गरेको थियो ।

बैंकहरुमा विदेशी मुद्रामा असोज मसान्तसम्ममा १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । कात्तिकको ५ गते बैंकहरुसँग १ खर्ब ३५ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप रहेको छ । भदौको दोस्रो सातामा हुने विदेशी मुद्राको स्थिती बैंकमा रहेको छ । राष्ट्र बैंकको निर्देशनले बैंकहरुमा जसरी विदेशी मुद्राको निक्षेप बढेको थियो त्यही गरेर घटेको छ ।

ब्याजदर बृद्धिले निक्षेप बढेन

बैंकहरुले कात्तिकको २ दिन ब्याजदर बढाएपनि समग्र प्रणालीम निक्षेप नबढेको देखिएको छ । असोज मसान्तसम्ममा बैंकहरुमा स्वदेशी मुद्रामा ४१ खर्ब १८ अर्ब निक्षेप थियो । कात्तिक ५ सम्म ४१ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

ब्याज बढाएका बैंकहरुले ब्याज नबढाएका बैंकबाट निक्षेप तानेपनि प्रणालीमा भने पैसा नबढेको देखिएको छ । कात्तिक २ गते राती ब्याजदर बृद्धिमा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि बैंकहरुले ब्याजदर घटाएका थिए ।

कात्तिक लागेसँगै बैंकहरुमा कर्जा प्रवाह ठप्प रहेको छ । ३९ खर्ब ९८ अर्ब रुपैयाँ असोज मसान्तसम्म बैंकहरुले कर्जा दिएका थिए । कात्तिकको पहिलो साता कर्जा नबढेको देखिन्छ ।


क्लिकमान्डु