बाढीपहिरोका कारण सडक तथा पुलमा १ अर्ब ३० करोड क्षति



काठमाडौं । अविरल बेमौसमी वर्षासँगै बाढीपहिरोका कारण सडक तथा पुलमा करौडोको क्षति भएको छ ।

देशभर परेको वर्षाका कारण सडकमा मात्र प्रारम्भिक रुपमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको सडक विभाग योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए । त्यस्तै पुलमा पनि प्रारम्भिक क्षतिको अनुमानित रकम १ अर्ब ५ करोडको रहेको नेपालले बताए ।

विभागकाअनुसार बिहीबारसम्म ५ वटा राजमार्गका १७ स्थानमा यातायात अवरुद्ध भएको बताएको छ । नेपालले अहिले नै क्षति भएको विवरण संकलन प्रारम्भिक भएकाले यकिन गर्न नसकिने बताएका छन् ।

सडकमा बढी क्षतिको कारण नै औषतभन्दा अधिक वर्षाका कारण आएको अत्यधिक बाढीपहिरोका कारण सडक अबरुद्ध हुन गएको नेपालको भनाइ छ ।

१७ स्थानमा अवरुद्ध भएका सडकहरु हाल एकतर्फी रुपमा ७ वटा र दुईतर्फी रुपमा ३ वटा संचालनमा रहेका छन् । अरु ७ वटा सडक भने संचालन हुन हप्ता दिन लाग्ने उपमहानिर्देशक नेपालको भनाइ छ ।

साथै कोभिड महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण समयमै निर्माण व्यवसायीहरुले कार्य सम्पन्न गर्न नपाएकाले निर्माणाधीन पुलहरुमा बढी क्षति पुगेको नेपालको भनाइ छ ।

निर्माणाधीन ८ वटा पुलहरुमा आंसिकरुपमा र पूर्णक्षति भएको नेपालले बताए । निर्माण सम्पन्न पूरा भएको काठको पुल, बेली ब्रिज, आरसीसी कल्भर्ट र आरसीसी पुल गरेर १५ वटा पुलहरु क्षति ग्रस्त भएको सडक विभागले जनाएको छ ।

पछिल्लो समय आएको बेमौसमी वर्षाका कारण सबैभन्दा बढी डुम्रे–बेशीसहर–चामे, सुर्खेत तल्लो डुंगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक, खोड्पे–चैनपुर (बझाङ) धनगढी–सहजपुर–वुडर–स्याउले, सातबाँझ–थाकतोली–दार्चुला–टिंकर, पुष्पलाल (मध्य पहाडी) राजमार्ग र सिद्धार्थ राजमार्गलगायतमा क्षति पुगेपछि राजमार्गहरु अवरुद्ध भएको पनि नेपालले बताए ।

हाल केही सडक एकतर्फी रुपमा खुला भए पनि पूर्ण रुपमा दुईतर्फी खुलाउन करिब १ साता लाग्ने नेपालले जानकारी दिएका छन् । बेंसीसहर–चामे सडक खुल्न भने अझैं ६ दिन लाग्ने भएको छ । नेपालकाअनुसार यस क्षेत्रमा अहिले मर्मतको काम भइरहेकाले डोजर बाहेक अरु जान सक्ने स्थिति छैन ।

‘यसअघि पनि जारी वर्षा सिजनमा सडक तथा पुलमा करिब २ अर्ब ५ करोड रुपैयाँको क्षति पुगेको थियो,’ उनले भने ।


क्लिकमान्डु