एमसीसी जस्ताको त्यस्तै पारित हुन्छः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट जस्ताको त्यस्तै पारित हुने बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताए ।

‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ उनले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो होइन, एमसीसी नेपालको हितमा छ, निशर्त पास गर्नुपर्दछ ।’

५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि विरोधका कारण संसदबाट पारित हुन सकेको छैन । एमसीसी आजका दिनमा सबैभन्दा विवादित बनेको छ ।

साथै, प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने बताए । उनले बेमौसमी वर्र्षात्ले सुदूरपश्चिमको अवस्था भयावह भएकोमा दुःख व्यक्त गरे । प्रधानमन्त्री देउवाले वर्षातपछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन समेत दिए ।

‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुखद् कुरा हो, पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरु मरेका छन्, सबै ठाउँमा बाढीले धेरै ठूलो क्षति गरेको छ, बझाङ, डोटी लगायत सबै ठाउँमा ठूलो नोक्शान भएको छ, खेतको धान बगेको छ, कुहिएको छ, अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, भयानक दुःख छ, हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौं ।’ उनले भने ।


क्लिकमान्डु