ठूला देशहरुमा ऊर्जाको चरम संकट, नेपालमा समेत पर्न सक्छ यस्तो प्रभाव



C

काठमाडौं । यतिबेला संसारभर नै ऊर्जा संकट देखा परेको छ । विशेष गरी भारत र चीन सबैभन्दा बढी मारमा परेका छन् ।

भारतमा त कति घण्टासम्म लोडसेडिङ हुन्छ भनेर अहिल्यै घोषणा गर्न नसकिने भन्दै समाचार विवरणहरु सार्वजनिक भएका छन् ।

राजधानी नयाँ दिल्लीदेखि आर्थिक राजधानी मुम्बईसम्म ऊर्जा संकटको मारमा परेको छ । कोइलाको चरम अभाव भएपछि ऊर्जा उत्पादक प्लान्टहरुले बिजुली उत्पादन कटौती गरेका छन् ।

यस्तै अवस्था छ चीनमा पनि छ । चीनको उत्तर पूर्वी क्षेत्रमा ऊर्जाको चरम संकट देखा परेको छ । कोइलाको मूल्यवृद्धि तथा अमेरिकाले लगाएको अघोषित प्रतिबन्धका कारण पनि कोइलाको अभाव देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

ऊर्जा अभावमा चीनका करिब ४० प्रतिशत उद्योग धन्दामा प्रत्यक्ष प्रभाव परेको छ । चीनको आर्थिक वृद्धिदरलाई समेत यसले प्रभाव पार्ने अनुमानहरु सार्वजनिक भएका छन् ।

अन्य देशको अर्थतन्त्रमा कोरोनाले प्रत्यक्ष प्रभाव पारेको भएपनि चीनमा त्यसको खासै असर देखिएको थिएन । तर पछिल्ला दिनमा देखिएको कोइला अभावका कारण ऊर्जा उत्पादनमा ठूलो समस्या देखिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै, यूरोपमा समेत ऊर्जाको समस्या देखिएको छ । ऊर्जाको मूल्यमा न्यूनतम ३६ देखि ४८ प्रतिशतसम्म वृद्धि भएको छ ।

इकोनोमिक्सका अनुसार यूरोपेली बजारमा ४८ प्रतिशतसम्म ऊर्जाको मूल्य वृद्धि भएको छ । पछिल्ला केही सातामा गरिएको निरन्तरको अध्ययन अनुसार बेलायत सबैभन्दा ठूलो मारमा परेको छ ।

चालकहरुको अभावका कारण इन्धन आपूर्ति प्रणाली नै खलबल्एिको छ । खासगी होलसेल प्राइस इन्डेक्समा नै ठूलो बदलाव देखिएको यूरोपेली सञ्चारमाध्यमहरुको भनाइ छ ।

जर्मनीमा ३६ प्रतिशतले ऊर्जाको मूल्यवृद्धि हुँदा फ्रान्समा ४८ प्रतिशतले बढेको छ । जानकारहरुका अनुसार प्रति मेगावाट घण्टाका लागि १६० यूरो तिर्नुपरेको छ । यस्तै बेलायतमा प्रतिमेगावाट घण्टाका लागि मात्रै ३८५ यूरो पुगेको छ ।

केही साता पहिले १४७ यूरो प्रति मेगावाट घण्टामा पाइने ऊर्जाको मूल्यमा झण्डै दोब्बरले वृद्धि भएको छ ।

जानकारहरुका अनुसार बेलायतमा प्रति मेगावाट घण्टा बराबरको ऊर्जाको मूल्य अझै वृद्धि हुन सक्ने देखिएको छ ।

ऊर्जाका कारण संसारभर नै प्रभाव परेका कारण त्यसले कोरोनाको भन्दा ठूलो समस्या ल्याउन सक्ने अनुमान गरिएको छ । प्रत्यक्ष प्रभावमा परेका चीन र भारतले त्यसबाट कसरी बाहिर निस्कने भन्ने बारेमा हालसम्म कुनै रणनीति बनाएका छैनन् ।

खास गरी आगामी हिउँदमा नेपालमा समेत प्रभाव पर्न सक्ने देखिएको छ । हाल नेपाल विद्युत् प्राधिकरणले झण्डै ३०० मेगावाट बराबरको बिजुली बिहारलाई पैचो दिएपनि हिउँदमा उसले दिनसक्ने अवस्था नरहन सक्ने देखिन्छ ।

कोइलाको जोहो हुन नसके त्यसको मार नेपालमा समेत पर्ने देखिन्छ । ऊर्जाको अभाव हुने बित्तिकै दैनिक उपभोग्य वस्तुको उत्पादन लागत बढ्न जान्छ । त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने छन् । बजारमा अनियन्त्रित मूल्यवृद्धि हुन जाने इकोनोमिक्स लगायतको प्रक्षेपण रहेको छ ।


क्लिकमान्डु