ब्याजदर बढाएर एनआइसी एशिया बैंकले ३ दिनमा १० अर्ब उठायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार दिएको निर्देशन बुधबार कार्यान्वयन भएन ।

नेपाल राष्ट्र बैंकले मंगलबार राती ब्याजदर घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले बुधबार वेवसाइट मार्फत नयाँ ब्याजदरको सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था लागु गरेपनि बढी ब्याजदर दिएका बैंकहरुले ३ गते अर्थात बुधबार नयाँ ब्याजदर सार्वजनिक गरेनन् ।

व्यक्तिगत तर्फ सबैभन्दा बढी ब्याजदर दिएको एनआईसी एशिया बैंकले ११.१० प्रतिशत नै ब्याजदर दिने सूचना वेवसाइटमा राखेको छ ।

केही बैंकले बुधबारदेखि नै राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेपनि ब्याजदर बढाएका बैंकहरुले भने बुधबार सो निर्देशन पालना गरेनन् ।

व्यक्तिगत तर्फ सबैभन्दा बढी ब्याजदर दिएको एनआईसी एशिया बैंकले १० अर्बजति अरु बैंकको निक्षेप तानेको अनुमान बैंकरको छ ।

‘तीन दिनमा मेरो बैंकमा मात्र डेढ अर्ब रुपैयाँ निक्षेप घटेको छ, समय सकिएको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको पैसा एनआईसीमा लैजाने भन्दै ग्राहकले झिकेर लगे,’ एक बैंकका सीइओले भने । मंगलबार राती दिएको निर्देशन बुधबारदेखि कार्यान्वयन गर्नुपर्ने भएपनि बढी ब्याजदर दिएका बैंकहरुले कार्यान्वयन नगरेको गुनासो बैंकरको छ ।

‘राष्ट्र बैंकले भने अनुसार ब्याजदर बृद्धि नगरेका हामीहरु मारमा पर्यौ, राष्ट्र बैंकले ब्याजदर नबढाउने निर्देशन समेत बुधबारपनि कार्यान्वयन भएन, हाम्रो पैसा एनआईसीमा गयो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले गुनासो पोख्दै भने । ति बैंकका सीइओका अनुसार बुधबार मात्रै ५० करोडजति रकम एनआईसी एशियामा लैजाने भन्दै ग्राहकले लगेका छन् ।

बुधबार राष्ट्र बैंकका नियमन विभागका प्रमुख देवकुमार ढकालले सबै बैंकका सीइओलाई फोन गरेर ब्याजदर कति हुन्छ भनेर जिज्ञासा राखेका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुने छ ।

‘राष्ट्र बैंकको निर्देशन अनुसार सिंगल डिजिटमा डिपोजिटको रेट हुने छ,’ एक बैंकका सीइओले भने ।

यस्तै बिडिङमा संस्थागतमा सबैभन्दा बढी ब्याजदर दिएको हिमालयन बैंकले कर्मचारी सञ्चय कोष र नागरिक लगानीको कोषको निक्षेप जोगाउन सफल भएको छ । केही रकम हिमालयनले तानेको छ ।


क्लिकमान्डु