बैकर्स संघका अध्यक्षप्रति सीइओहरु असन्तुष्ट, आफ्नो बैंकलाई मात्र तरलता सहज गराएको आरोप



काठमाडौं । दशैंको ५ दिनको विदापछि कार्यालय खुल्नु अघि नेपाल बैकर्स संघको कार्यसमितिको बैठक आइतबार बस्यो । बैकर्स संघको अध्यक्षकारुपमा भुवन दाहालको कार्यकाल यही कात्तिकमा सकिन लागेको छ ।

आइतबार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम दिनपनि थियो । कात्तिक १ गतेदेखि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्ने हुँदा संघका अध्यक्ष दाहालले बैठकमा राष्ट्र बैंकले डबल डिजिटमा निक्षेपको ब्याजदर नजओस भन्ने चाहना राखेको बताए ।

संघका उपाध्यक्ष रहेका कृषि विकास बैंकका सीइओ अनिल उपाध्यक्षले १० प्रतिशतभन्दा कम ब्याजदर लिनुपर्ने बताए ।

बैकर्स संघका अध्यक्ष उपाध्यक्षबाट दाहाल सीइओ रहेको सानिमा बैंकले असोज महिनामा ब्याजदर बढाएको थियो । भदौ महिनामा सानिमा बैंकले एकवर्षे मुद्दती निक्षेपमा ७.२७ प्रतिशत दिएको थियो । असोज महिनामा ९.०१ प्रतिशत थियो ।

सानिमाले भदौको तुलनामा असोज महिनामा २३ प्रतिशतले ब्याजदर बढाएको थियो । जसबाट असोज महिनामा १० अर्ब ६७ करोड रुपैयाँ निक्षेप बढाउन सफल भयो । कात्तिकका लागि भने सानिमा बैंकले ८.०१ प्रतिशत ब्याजदर अफर गरेको थियो ।

अध्यक्ष र उपाध्यक्षबाट डबल डिजिटमा ब्याजदर नबढाउन अनुरोध भएपछि बैठकमा उपस्थित केही सीइओले आपत्ति जनाएका थिए ।

एकजनाले सीइओले अध्यक्ष दाहालप्रति असन्तोष व्यक्त गर्दै भने, ‘भुवन सर आफू अध्यक्ष भएर असोजमा ब्याज बढाएर १० अर्ब रुपैयाँ निक्षेप बढाउने,अरुलाई नबढाउनुहोस् भन्न कसरी मिल्छ ?’।

बैठकमा संघका उपाध्यक्ष उपाध्यक्ष डबल डिजिटमा जान नहुने र भद्र सहमति गर्नुपर्ने पक्षमा थिए । जबकी कृषि विकास बैंकले सोही दिन नै ७ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत पुर्याएको थियो । दाहाल व्यक्तिगत रुपमा भने भद्र सहमति गर्नुपर्ने पक्षमा थिएनन् ।

संघका अध्यक्षले आफ्नो बैंकलाई मात्र फाइदा उठाउने काम गरेको हुँदा संघको औचित्यमा नै प्रश्न उठेको एक बैंकका सीइओले बताए ।
‘संघको नेतृत्वमा जाने व्यक्तिले व्यक्तिगत लोभलाई त्याग्नुपर्छ,यो पटक संघको अध्यक्षबाट आफ्नो संस्थालाई मात्र फाइदा हुने काम भयो,’ती बैंकका सीइओले भने ।

असोजमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले बढाएको थियो । सनराइज बैंकले २० अर्ब रुपैयाँ निक्षेप बढाउन सफल भएको थियो ।

संघको बैठकमा बैंकहरुले आफ्नो तरलताको स्थिती हेरेर ब्याजदर बढाउनेमा सहमति भयो । आइतबार बेलुका नै एनआईसी,लक्ष्मी तथा हिमालयन बैंकले ११ प्रतिशत हाराहारीमा ब्याजदर लिएको हल्ला बैंकहरुमा भइसकेको थियो ।

सोमबार बिहाना एनआईसी सहित ब्याजदर प्रकाशित नभएका बैंकको दर सार्वजनिक भयो । व्यक्तिगततर्फ एनआईसी एशिया बैंकले १ वर्षको मुद्दति निक्षेपमा ११.१० प्रतिशत ब्याजदर दिने योजना सार्वजनिक गर्यो ।

हिमालयन बैंकले संस्थागत मुद्दति बिडिङतर्फ सबैभन्दा बढी ११.६७ प्रतिशत ब्याजदर दिने योजना ल्याएको थियो । लक्ष्मी बैंकले ११.०५ प्रतिशत ब्याजदर दिने योजना ल्याएको थियो ।

बैंकहरु एकाएक ब्याजदर युद्धमा उत्रेपछि राष्ट्र बैंकले मंगलबार ब्याजदर १० प्रतिशतभन्दा बढाउन नपाइने तथा व्यक्तिगत तर्फको मुद्दति निक्षेपको ब्याजदर संस्थागतको भन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने र १ गते बढाएको ब्याजदर परिवर्तन गर्नुपर्ने नीति ल्यायो ।

नीतिले सबैभन्दा बढी मार एनआईसी एशियासहित हिमालयन, लक्ष्मी बैंकहरुलाई पर्यो । असोज र कात्तिक महिनामा नै ब्याजदर नबढाएका बैंकहरुलाई मंसिरमा ब्याज बढाउने योजनामा थप मार पार्यो । राष्ट्र बैंकको नीतिको सबैभन्दा बढी फाइदा भने असोज महिनामा ब्याज बढाएका सानिमा तथा सनराइज बैंकलाई हुने भयो ।

बैंकरहरु संघका अध्यक्ष दाहालसँग असन्तुष्ट हुनुको पछाडि असोज महिनामा आफूले ब्याज पठाएर निक्षेप तान्ने र अरुलाई बढाउन नदिने काम गरेकोमा रहेको छ ।

‘२ वर्षे कार्यकालको अन्तिम महिनामा भुवन दाईले आफूलाई मात्र हित हेर्ने काम गर्नुभयो, राष्ट्र बैंकले पनि उहाँले भनेको मान्यो, यसले अरु बैंकलाई समस्या पर्यो,’ एक बैंकका सीइओले भने ।

बैंकहरुले भने एनआईसी एशियाले गरेको गल्तीमा राष्ट्र बैंकले सबैलाई असजिलो हुने नीति ल्याएको बताएका छन् । बैकर्स संघको अध्यक्षले गर्नुपर्ने भूमिका कार्यकालको अन्तिममा नभएको महशुस बुझाई ती सीइओको छ ।

क्लिकमाण्डूले बुधबार कुरा गरेर आधा दर्जन बैंकका सीइओहरु संघका अध्यक्ष दाहाल र उपाध्यक्ष उपाध्यक्षसँग समेत सन्तुष्ट देखिएनन् ।

बैकर्स संघका अध्यक्ष दाहाल भने आफूले सानिमा बैंकलाई फाइदा हुने मात्र काम अध्यक्षको रुपमा नगरेको बताउँछन् ।


‘असोज महिनामा ब्याज बढी हुने बैंकमा सानिमा पाचौं स्थानमा थियो, निक्षेप बढ्नेमा दोस्रोमा भएको हो,’दाहालले भने । आफूले संघको बैठकमा राष्ट्र बैंकले डबल डिजिटमा ब्याजदर नहोस् भन्ने सन्देश सुनाएको र आफ्नो बैंकलाई मात्र हेरेर निर्णय नगरेको बताए ।

‘मेरो साढे ८ हुँदा अरुले १० लिदा हुन्छ भनेपछि कसरी सानिमाले फाइदा लिएको कुरा आयो,डेढ प्रतिशत बिन्दुको फाइदा त अरु बैंकले लिन सक्ने अवस्था थियो,’दाहालले थपे ।


क्लिकमान्डु