मनाङ जाने बेंसीसहर-चामे सडक फेरि ठप्प, फेरि सञ्चालन हुन ५ दिन लाग्ने



काठमाडौं । मनाङ जोड्ने एक मात्र सडकखण्ड बेंसीसहर–चामे फेरि अवरुद्ध भएको छ । दशैँ अघि झण्डै ४ महिनापछि मात्रै खुलेको सडक बेमौसमी भीषण वर्षाले बाढीपहिरो आउँदा सडक क्षतविक्षत भएको हो ।

यस क्षेत्र हुँदै हजारौँ पर्यटकहरु मनाङ जाने गर्दछन् । ट्रेकिङका लागि पनि यो बाटो हुँदै धेरै पर्यटकहरु जाने गरेको मनाङका डीएसपी सुवास खड्काले बताए ।

हाल यो सडक ठप्प भएको छ । यस सडक क्षेत्रमा पर्ने विभिन्न ६/७ ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको पनि उनले बताए ।
‘झण्डै ४ महिनापछि खुलेको बेँसीसहर–चामे सडक अत्यधिक वर्षा भएका कारण फेरि पुनः अवरुद्ध भएको हो,’ उनले भने ।

बेंसीसहरदेखि मनाङसम्मको ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यार्दीसम्म ३५ किलोमिटर रहेको छ । तर, म्यार्दी–चामे खण्डको ठाउँठाउँमा सडक क्षतविक्षत भएको छ । अहिले यस क्षेत्रमा सवारीसाधन चल्न सकेका छैनन् ।

आजसम्म पनि वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन र भत्केको सडक मर्मत गर्न समस्या भइरहेको उनको भनाइ छ । पानी रोकिनेबित्तिकै पहिरो हटाउने र मर्मतसमेत थाल्ने उनले बताए ।

‘ठाउँठाउँमा पहिरो गएको छ । ठाडो खोलाले बाटो कटान गरेको छ । अस्थायी काठे पुलहरु विगारेको छ,’ उनले भने, ‘भ्राताङदेखिमाथि खानखर्कसम्म बाटो राम्रो रहेको छ ।’

तालबजारबाट चामेसम्म बाटो एकदम नराम्रो भएको पनि उनले बताए । ३ दिन अघिदेखि लगातार आएको पानीले बाटोमा बाढीपहिरो धाएको उनको भनाइ छ । अहिले गाडी चल्न सक्ने सम्भावना नरहेको पनि उनले बताए ।

‘पानि रोकिएर मर्मतको काम अघि बढ्न पाएपनि अझै बाटो सञ्चालन हुन ४ देखि ५ लाग्ने छ,’ उनले भने, ‘हामीले सम्बनिधत निकायसँग समन्वय गरिसकेका छौँ । अहिले पनि पानी परिरहेको अवस्था छ । अब यो पानी रोकिने बित्तिकै काम शुरु गछौं ।’

बाटो सानो भएका कारण अस्थायीरुपमा समेत गाडी नचल्ने उनको भनाइ छ ।

‘मर्मत गर्दै गाडी चलाउन सक्के अवस्था छैन,’ उनले भने, ‘मुख्य समस्या भनेको काम गरिरहेको डोजरलाई ओभरक्रस गर्नसमेत नमिल्ने बाटो छ ।’

खात्रो, न्यालघारी, एक्लेभट्टी, तिमाङ, थान्चोक, कोटो, तलेखुदेखि जंगल क्षेत्र, चामेको पल्साङ, लामालेलगायतका दर्जनौं ठाउँहरुमा सडक अवरुद्ध भएको उनले जानकारी दिए ।

पर्यटकलाई समस्या
बेंसीसहर–चामे सडक अवरुद्ध भएसंगै पर्यटकहरुका लागि पनि कोरोनापछिको अर्को समस्या भएको छ । कोरोनापछि बल्लतल्ल यस क्षेत्र हुँदै पर्यटकहरु आवतजावत गर्न थालेका थिए ।

सडक अवरुद्ध भएसंगै अन्नपूर्ण चक्रिय पदमार्ग घुम्न आउने पर्यटक र बटुवालाई समेत जोखिम भएको उनको भनाइ छ ।

‘कोरोना संक्रमणदर घटेसँगै यस क्षेत्रमा पर्यटक आउन थालेका थिए,’ उनले भने, ‘मनाङ पर्यटन व्यवसायीलाई यस क्षेत्रमा आएको बाढीपहिरोले फेरि चिन्ता थपिदिएको छ ।’

त्यस क्षेत्रमा पुगेका पर्यटकहरु भने पैदल यात्रा गर्दै आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । बाटो सञ्चालन हुनपनि अझैं ५ दिन जस्तो लाग्ने भएकाले त्यहाँ रहेका पर्यटकहरु हिडेर भएपनि आफ्नो गन्तव्यतर्फ जान थालेको उनले बताए ।


क्लिकमान्डु