बुटवल–पाल्पा सडक खण्ड वर्षाका कारण अवरुद्ध, पहिरो हटाउन अझैं समय लाग्ने



काठमाडौं । निरन्तरको वर्षाले सोमबार बिहानैदेखि बुटवल–पाल्पा सडकखण्ड दिनभर नै अवरोध भएको छ । जिल्ला प्रहरी पाल्पाकाअनुसार अहिले त्यस सडकखण्डमा पर्ने झुम्सामा विहानदेखि गएको पहिरोले बाटो अवरुद्ध भएको छ ।

हाल त्यस क्षेत्रमा सिमसिम पानी परिहेका कारण पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

‘झुम्सामा आएको पहिरो अझैँ आइरहेको छ । पहिरो पन्छाउन जेसीवी र जनशक्ति तयारी अवस्थामा तैनाथ छन् तर अत्यधिक वर्षाका कारण काम गर्न सकिने अवस्था छैन,’ त्वातीले भने ।

रातिको समयमा पाल्पा–बुटवल खण्ड भएर यात्रा गर्न निकै जोखिमपूर्ण रहेकाले आकस्मिकबाहेकको यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रहसमेत गरेको छ ।

यससडक खण्डको गौडेपुल, कालीमाटी, हिउँदे खोला, झुम्सा, दोभान, सिद्धबाबालगायतका दर्जनभन्दा बढी ठाउँमा ढुंगासहितको पहिरो जाँदा यात्रुले घन्टौँ जाममा बस्नुपरि रहेको छ । सडक लामो समय बन्द नभए पनि सानोतिनो पहिरोका कारण पनि यात्रुले समस्या भोग्नुपरेको उनको भनाइ छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा यात्रुले सास्ती भोग्नुपर्ने नियति नै बनेको छ । निर्माण व्यवसायी या सरकारको तर्फबाट राम्रो र समयमा नै काम हुन नसक्दा यस्तो सास्ती भोग्नुपरेको आम नागरिकहरु बताउँछन् ।

यस सडक खण्ड हुँदै पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, बागलुङ, कास्कीसम्मका आम नागरिकले यात्रा गर्ने गरेको त्वातीले बताए ।


क्लिकमान्डु