निर्यातित वस्तुमा तेलको हिस्सा ७३%, आन्तरिक उत्पादन कमजोर बन्दै



काठमाडौं । करिब डेढ दशकअघिको निर्यात १ खर्ब पुर्याउने नेपालको लक्ष्य गत वर्ष पूरा भएको छ । सरकारले २०६४ सालमा पहिलो पटक तीन वर्षीय अन्तरिम योजना अनुसार १ खर्ब पुर्याउने लक्ष्य लिएको थियो ।

गत वर्ष शुरुदेखि नै दोहोरो अंकले वृद्धिदर हासिल गरेको नेपालले चालु आव २०७७/७८ मा निर्यातको लक्ष्य पूरा गरेको हो । गत वर्ष १ खर्ब ४१ अर्ब मूल्य बराबरको वस्तु निर्यात गरेको थियो । उक्त निर्यातित मूल्यमा तेलको महत्वपूर्ण भूमिका रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
चालु आर्थिक वर्षको शुरुवाती महिनादेखिको तथ्याङ्क हेर्ने हो भने आयात निर्यात उच्च रुपमा बढेको छ । चालु आवको भदौ मसान्तसम्मको तथ्याङ्ककाअनुसार ७५ प्रतिशतले आयात बढ्दा ११५ प्रतिशतले निर्यात बढेको छ


उक्त अवधिमा नेपालले हालसम्मकै उच्च आयात निर्यात गरी नयाँ रेकर्ड कायम गरेको छ । जसमा नेपालले दुई महिनाकै अवधिमा मात्रै ४४ अर्ब बराबरको निर्यात गर्न सफल भएको छ । तर, सो अवधिमा उक्त मूल्य बराबरको निर्यात गरेपनि नेपाली उद्योगीहरू भने सन्तुष्ट छैनन् ।

हालको निर्यातको अवस्था हेर्ने हो भने निर्यातित वस्तुको अधिकांश हिस्सा तेलको रहेको छ । जसमा दुई महिनाको अवधिमा ४४ अर्बको निर्यात हुँदा २५ अर्बको मात्रै तेल निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ । जुन शतप्रतिशत निर्यातित वस्तुको ७३.०६ प्रतिशत तेलको हिस्सा रहेको छ । बाँकी २७ प्रतिशत हिस्सा अन्य वस्तुको रहेको छ ।

तेलको लागि आवश्यक कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन । नेपालले विभिन्न तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर निकासी गर्दै आएका छन् । त्यसमा नेपाल वनस्पति घ्यू तथा तेल उद्योगलाई मात्रै प्रत्यक्ष लाभ भएको छ । तर, विगतको दिनमा उल्लेख्य निर्यात हुँदै आएको वस्तुको अवस्था निकै कमजोर बनेको व्यवसायीहरू बताउँछन् ।

नेपालबाट मुख्यतया अलैंची, कार्पेट, पस्मिना, सल, हस्तकला, चिया, फेल्ट, अदुवा, फुटवेयर र धागो निर्यात हुँदै आएको छ । कोभिडकै समय भएपनि नेपालले उल्लेख्य निर्यात गरेपनि नेपालबाट निर्यात हुने मुख्य वस्तुको अवस्था भने निकै कमजोर भएको उद्योगीहरूको भनाइ छ ।

नेपाल निर्यात व्यवसायी संघका उपाध्यक्ष चण्डीप्रसाद अर्यालले नेपालमा उत्पादन भई निर्यात हुनेको अवस्था निकै कमजोर बनेको बताए ।

नका अनुसार कोभिड–१९ कै समयमा उल्लेख्य निर्यात भएको छ । त्यसमा परिमाणभन्दा मूल्यले फरक परेकाले निर्यात मूल्य बढी भएको हो ।
‘कोभिडका कारण नेपालबाट मुख्य निर्यात हुने कार्पेट, हस्तकला, पस्मिना, फुटवेयरलगायत नेपाली उद्योगले उत्पादन गर्ने वस्तुको निर्यातित परिमाणमा निकै कम भएको छ,’ उनले क्लिकमान्डूसँग भने ।

नेपालले उत्पादन गर्ने हस्तकला, कार्पेट, फुटवेयर तथा धागोलगायतका वस्तु उत्पादन गर्नको लागि कच्चा पदार्थमा तेस्रो मुलुकमै भर पर्नुपर्ने हुन्छ । कोभिडले गर्दा विश्वमै कच्चा पदार्थ अभाव भएपछि नेपाली उद्योगले कच्चा पदार्थ उच्च मुल्यमा आयात गर्नुपर्ने बाध्यताले अधिकांश उत्पादित वस्तुको मूल्य बढेको उनको भनाइ छ ।

‘निर्यात वस्तुको मूल्य बढेको छ । तर, परिमाणको अवस्था निकै कमजोर रहेको छ,’ उनले भने ।

नेपाल हस्तकला महासंघ, जुत्ता उत्पादक संघ, नेपाल गलैंचा निर्यात संघ, नेपाल पश्मिना उद्योग संघ, अलैंची उत्पादक संघलगायत अन्य निर्यात गर्ने उद्योगहरूले नेपालबाट निर्यात हुने वस्तु खस्किँदै गएको बताएका छन् ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिडपश्चात निर्यात गर्न निकै मुश्किल भएको बताए । पहिलो चरणको कोरोनाले अर्डर भएको अधिकांश वस्तु समयमै निर्यात गर्न सकेनन् । पछिल्लो दिनहरूमा कोभिड तीब्र रुपमा बढेर अर्डर नै हुन छोड्यो । यसले गर्दा धेरै नेपाली उद्योगी तथा व्यवसायीहरूले व्यवसाय छोड्न बाध्य भएको उनको भनाइ छ ।

साथै, पछिल्लो दिनमा कच्चा पदार्थको मूल्य बढेर चर्को मूल्यका खरिद गरी बिक्री गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए ।

त्यसैगरी, नेपाल फुटवेयर उत्पादक संघकाअनुसार सामान्य अवस्थाको तुलनामा निर्यात निकै खस्किएको जनाएको छ ।

नेपालमा उत्पादन भएको फुटवेयर भारत, डेनमार्क, अष्ट्रेलिया, स्वीजरल्यान्ड, बहराइन, भुटान, क्यानाडा, चीन, अमेरिक र मलेसियालगायत अन्य देशमा निर्यात हुँदै आएको छ । तर, कोभिडले गर्दा भनेअनुसारको वस्तु निर्यात गर्न नसकेको संघका उपाध्यक्ष उत्तम अधिकारी बताउँछन् । साथै, नेपालबाट निर्यातित मुख्य वस्तुको अवस्था खस्किँदै र धारासायी बनेको व्यवसायीहरूको भनाइ छ ।

विगतको दिनमा अलैंची, कार्पेट, पस्मिना, हस्तकलालगायत अन्य वस्तु उच्च रुपमा निर्यात हुँदै आएकोमा कोभिडपश्चात भने उक्त वस्तुको निर्यात निकै कम रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

मुख्य वस्तुको निर्यात मूल्य डेढ अर्ब बढी हुन सकेन
चालु आवको दुई महिनाको अवधिमा २५ अर्बको तेल निर्यात हुँदा मुख्य निर्यात हुने वस्तुको निर्यात मूल्य डेढ अर्ब बढी नाघेको छैन । २५ अर्बको मात्रै तेल निर्यात हुँदा १९ अर्बको अन्य सयौं वस्तु निर्यात भएको छ ।

नेपालबाट दुई महिनाको अवधिमा डेढ अर्ब मूल्य बराबरको ७३ हजार ३ सय ४४ स्क्यारमिटर मात्रै कार्पेट निर्यात गरेको छ । जुन निकै कम हो । साथै, धागो पनि डेढ अर्बको निर्यात भएको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, टेक्स्टायल १ अर्ब ३३ करोड ५० लाखको, फेल्ट १ अर्ब ९ करोडको, अलैंची ९१ करोड ६७ लाखको, ६५ करोड ९३ लाखको चिया, पस्मिनाको सल ४७ करोड ७१ लाखको, जुत्ता १२ करोड ६५ लाखको र अदुवा ९ करोड ६० लाख रुपैयाँको निर्यात भएको छ ।

उक्त तथ्याङ्कले विगतको दिनमा निर्यात हुँदै आएको मुख्य वस्तुको निर्यात कम हुँदै गएको स्पष्ट पार्दछ । त्यसैले, सरकारले उत्पादन गरी निर्यात गर्ने उद्योगलाई कच्चा पदार्थमा सहज बनाएमा केही सहज हुने व्यवसायीहरूको भनाइ छ ।


क्लिकमान्डु