इनरुवा सबस्टेसन डुवानमाः कमाण्डवाल बगायो, उपकरणहरुमा क्षति



काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ ।


सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।


बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुवेका छन् । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुवानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए ।


‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत् सुरक्षित स्थानमा सारिएको छ’, घिसिङले भने ।


४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।


क्लिकमान्डु