बैंकहरु ब्याजदरको प्रतिष्पर्धामा उत्रिदाको असर सेयर बजारमा



काठमाडौं । मंगलबार सेयर बजार राताम्मे भएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार १०० भन्दा बढीले घटेर २५ सयभन्दा तल झरेको नेप्से कारोबार बन्द हुँदासम्म ७६ अंकको गिरावटसँगै २५११.१० अंकमा सीमित भएको छ । र, यो पछिल्लो ७ महिना यताकै सबैभन्दा कम हो ।

मंगलबारको कारोबारमा ९६ लाख ७५ हजार ६०१ कित्ता सेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँ ३५ पैसामा कारोबार भएको छ । यो दिन २०० वटा कम्पनीको सेयर ओरालो लाग्दा ११ वटा मात्रै कम्पनीको सेयरमा हरियाली देखिएको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ सबैमा गिरावट देखिएको छ भने फाइनान्स, जलविद्युत् र विकास बैंकमा अन्यको तुलनामा उच्च गिरावट देखिएको छ ।

यो दिन सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा नेपाल हाइड्रो डेभलपर्स, नेशनल हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माइलुङ खोला जलविद्युत् कम्पनी, पोखरा फाइनान्स, लिबर्टी इनर्जी कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी, पाँचथर पावर कम्पनीलगायतका छन् ।


क्लिकमान्डु