पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने



पोखरा । जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइन खेलकोको शुरुवात गरिएको छ । 

समुन्द्री सतहदेखि १ हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरु नभएकाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश महर्जनले बताए ।

विश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १ सय चालीस किमि प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने महर्जन बताउँछन् ।

पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरुको अदभूत दृश्यावलोकन गर्ने मौका पाइन्छ ।

३५ देखि १२० किलो ताैलसम्म भएका व्यक्तीले खेल्न सक्ने जिपलाइनमा १२ वर्षदेखिमाथिका व्यक्तीले खेल्न सक्छ्न् । ९४ वर्षिय बेलायतकी नागरिक जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबैभन्दा जेष्ठ नागरिक रहेको महर्जन बताउँछन् ।

हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकले सेफ्टी अडिट गर्ने महर्जनको भनाइ छ ।

जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्वबिख्यात, उत्कृष्ट र सुरक्षित रहेको महर्जन बताउँछन् । हाइग्राउण्डले प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको  प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको महर्जन बताउँछन् ।

नेपालीलाई ६ हजार ५०० सय र विदेशीलाई ८ हजार ५०० सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रहेको छ । 

‘अगाडि माछापुच्छ्रेको दृश्यले मोहित पार्दै छ भने तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन हेर्दा मनै सिरिङ्ग हुन्छ,’ महर्जन थप्छन् ‘हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यहाँको अर्को आकर्षण हो ।’

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रीजको मोडलमा बनाइएको टावरमा बन्जी गर्न सकिन्छ ।

‘यो नेपालकै पहिलो टावर बन्जी पनि हो,’ महर्जन थप्छन् ‘जोडिले सँगै आङ्गालो मारेर बन्जी गर्ने  टेन्डम बन्जी पनि नेपालमा हामिले नै शुरू गर्यौं जुन अहिले निकै आकर्षणको केन्द्र रहेको छ ।’ 

जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको  व्यवस्था पनि कम्पनीले नै गर्नेछ जसको अतिरिक्त शुल्क लाग्दैन । साथै कम्पनीले हेम्जामा छिट्टै विभिन्न एडभेन्चर खेलहरु पनि थप्ने योजना रहेको बताइएको छ ।


क्लिकमान्डु