मनसुन सक्रिय हुँदा देशका विभिन्न भागमा सडक अवरुद्ध



काठमाडौं । मनसुन ढिलासम्म सक्रिय हुँदा देशको विभिन्न भागमा भारी वर्षा भएका कारण सडक र पुलहरु अवरुद्ध भएका छन् । दशैं सकेर आफ्नो काममा फर्किने धेरै जसो मानिसहरु बाटो अवरुद्ध भएकाले बीच बाटोमै अलपत्र परेका छन् ।

विकासका काम समयमा हुन नसक्दा बाटो खराब अवस्थामा छन् । यस्तो बाटो हुदै दैनिक हजारौ मानिस यात्रा गर्न बाध्य छन् । यस्तै बाध्यताले निम्त्याएको एउटा काहाली लाग्दो घटना मुगुमा दशैं अघि मात्र भएको थियो । त्यस घटनामा ३२ जनाले आफ्नो ज्यान अकालमा गुमाएका छन् ।

भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमीवायु प्रणालीको नेपालमा परेको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारसम्म नै पानी पर्ने र केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकाले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

यस्ता मौसमीवायुको प्रभावका कारण नेपालले हालसम्म यो वर्ष मानवीय र भौतिक क्षति धेरै व्यहोरेको छ । यसले निम्ताएको क्षतिको पुनर्निर्माणसमेत यसै मौसमीवायु ढिलासम्म सक्रिय हुँदा केही कामसमेत गर्न नसकिएको सडक विभागले बताउँदै आइरहेको छ ।

हाल अवरुद्ध सडक

भीमदत्त राजमार्ग यतिबेला अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भिरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो ।

पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् ।

राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अलपत्रमा परेका प्रहरीले जानकारी दिएको छ ।

मेलम्ची सडक हुँदै फट्टे, दुवाचौर, बरुवा जाने फट्टेको हिम पाइप पुनः सञ्चालन आएको छ । त्यस क्षेत्रका बासिन्दाहरु हिमपाइपमाथि बनाएको बाटो बगाएपछि चिन्तित बनेका थिए ।

तर, यो पनि कति खेर खोलाले बगाउँछ केही भन्न सकिने अवस्था छैन । यो पुल निर्माण नहुञ्जेल त्यहाँका बासिन्दाहरु मध्यपहाडी हुँदै आफ्नो गन्तव्य स्थलसम्म पुग्ने गरेका प्रहरीले बताएको छ ।

मेलम्चीमा असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

त्यस्तै, ट्राफिक प्रहरीका प्रवक्ता एसपी सञ्जिव शर्मा दासकाअनुसार हाल पूर्वपश्चिम राजमार्गको डाइभर्सन खोलाले बगाएर बाटो अवरुद्ध भएको छ ।

‘यस क्षेत्रमा अहिले वैकल्पिक माध्यम प्रयोग गर्दै सवारी साधन आवतजावत भइरहेको छ,’ दासले भने ।

बेनी–घाँसा खण्डको चमेरे, महभीर, गुइठे, काप्रे र बाँदरजुँगभीरमा सडक बढी हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्ता डोजरले खनेर छोडेकाले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको ट्राफिक प्रहरीका प्रवक्ता एसपी सञ्जिब शर्मा दासको भनाइ छ ।

दासकाअनुसार हाल मौसमले साथ दिइरहेको छैन् । यसका बीचमा पनि हामीले सक्ने सहयोग आम जनातालाई आफ्नो गन्तव्यमा पुग्न सहजता कायम गरिरहेका छौं । हाल सबै जसो ठाउमा मानिसहरुलाई यात्रा गर्न सहज नै रहेको प्रवक्ता दासले बताए ।


क्लिकमान्डु