दशैंको माहोलले घरजग्गा कारोबार घट्यो, असोजमा ७ अर्ब राजश्व संकलन



काठमाडौं । उच्च रुपमा कारोबार हुँदै आएको घरजग्गा दशैंको माहोलले घटेको छ । मासिकरुपमा नयाँ रेकर्ड कायम गर्दै आएको घरजग्गा कारोबार दशैंको माहोलले कारोबार घटेको हो ।

मासिक रुपमा ७० हजारभन्दा बढी घरजग्गा किनबेच भएकोमा असोज महिनामा दशैंले गर्दा ५९ हजारमा सीमित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । दशैंको माहोलले अन्य महिनाको जस्तो सेवा प्रवाह र कारोबार नहुने हुँदा कम भएको विभागको भनाइ छ ।

असोज महिनामा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट १ लाख ६८ हजार ८ सय सेवा प्रवाह भएकोमा ५९ हजार ३ सय ७७ वटा घरजग्गा किनेबेच भएको छ ।

भदौ महिनामा सोही मालपोत कार्यालयबाट २ लाख बढी सेवा प्रवाह हुँदा ७० हजार ३ सय २६ घरजग्गाको किनबेच भएको थियो । मासिक रुपमा २ लाख बढी सेवा प्रवाह हुने र सोहीअनुसार किनबेच हुँदै आएको थियो । तर, असोजमा दशैंले गर्दा घरजग्गा कारोबारमा कमी आएको विभागले जनाएको छ ।

असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ५९ हजार लिखित पारित हुँदा ३९ सय ३६ नामसारी, ४ हजार संशोधन, ५७ हजार ६ सय १८ रोक्का, २९ हजार ८ सय ८० फुकुवा, र १२ सय ५३ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

असोज महिनामा सबैभन्दा बढी इनरुवा सुनसरी मालपोत कार्यालयबाट बढी किनबेच भएको छ । असोज महिनामा सो मालपोत कार्यालयबाट ६ हजार ७ सय ३२ सेवा प्रवाह हुँदा २८ सय ५७ घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, असोज महिनामा बेलाबारी मोरङबाट २६ सय ३२, भद्रपुर झापाबाट २२ सय ६९, लगनखेलबाट २ हजार ९३, जनकपुरधाम धनुषाबाट २१ सय ६६, भक्तपुरबाट २ हजार ५ र नेपालगञ्जबाट १७ सय ९५ घरजग्गा किनबेच भएको छ ।

उपत्यकामा मात्रै ९ हजार बढी किनबेच
असोज महिनामा उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट मात्रै ९ हजार १४१ घरजग्गाको किनबेच भएको छ । विभागको तथ्याङ्कअनुसार असोज महिनामा लगनखेल कार्यालयले सबैभन्दा बढी घरजग्गा किनबेच गरेका छन् ।

उक्त मालपोत कार्यालयबाट २ हजार ९५ घरजग्गा किनबेच भएको छ । त्यसैगरी, भक्तपुरबाट २ हजार ५, कलंकीबाट १७ सय ९५, साँखुबाट १ हजार १, चावहिलबाट ८ सय ७९, मनमैजुबाट ६ सय ५९, डिल्लिबजारबाट र टोखाबाट ३ सय ४० घरजग्गाको किनबेच भएको छ ।

७ अर्ब बढी राजश्व संकलन
असोज महिनामा कारोबार कम भएसँगै भदौ महिनाको तुलनामा राजश्व संकलनमा पनि गिरावट आएको छ । भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ८ अर्ब २६ करोड १७ लाख २८ हजार राजश्व संकलन गरी नयाँ रेकर्ड कायम गरेको थियो ।

तर, असोज महिनामा दशैंको माहोलले कारोबार घटेसँगै राजश्व संकलनमा केही कमी आएको छ । असोज महिनामा ७ अर्ब ३३ करोड २ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

विभागकाअनुसार उक्त संकलित राजश्व घरजग्गा कारोबार गरेको विभिन्न विधाबाट उठाइएको जनाएको छ ।

त्यसमध्ये सेवा करवापत ४० करोड ५९ लाख, बागमतीवापत २३ करोड ८० लाख, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब २३ करोड ८२ लाख, पूँजीगत लाभ करवापत १ अर्ब ७७ करोड ९९ लाख रुपैयाँ र अन्य विभिन्न विधा गरेर ७ अर्ब बढी राजश्व संकलन गरेको हो । त्यस्तै सरकारले असोजमा मात्रै ६१ करोड ४८ लाख ६८ हजार छुट दिएको तथ्याङ्कले देखाउँदछ ।

करिब ५० प्रतिशत राजश्व उपत्यकाबाट मात्रै संकलन
देशभरको मालपोत कार्यालयबाट ७ अर्ब बढी राजश्व संकलन भएको अवस्थामा उपत्यकाका मालपोत कार्यालयबाट मात्रै करिब ५० प्रतिशत राजश्व संकलन भएको छ । उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट मात्रै ३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन देशभरका मालपोत कार्यालयबाट संकलन भएको राजश्वको आधा हिस्सा हो ।

उपत्यकाका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट ७३ करोड ५७ लाख रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, डिल्लिबजारबाट ५७ करोड ३३ लाख, कलंकीबाट ५५ करोड ६६ लाख, भक्तपुरबाट ४३ करोड ५९ लाख, चावहिलबाट ४० करोड ११ लाख, मनमैजुबाट १६ करोड २३ लाख, साँखुबाट १५ करोड ६९ लाख र टोखाबाट १५ करोड १२ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

६१ करोड छुट
असोज महिनामा मात्रै दशेभरका मालपोत कार्यालयबाट ६१ करोड करोड बढी छुट दिएको छ । सरकारले प्रदेशअनुसार महिला, दलित, एकल महिला र बालकको हकमा २५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

जसमा कुनै पनि व्यक्तिले आफ्नो जग्गा महिलाको स्वामित्व गर्न चाहेमा छुटको व्यवस्था भएकाले असोज महिनामा ६१ करोड ४८ लाख ६८ हजार रुपैयाँ छुट दिएको छ । सरकारले भदौ महिनामा ६६ करोड ५६ लाख ७५ हजार छुट दिएको थियो ।


क्लिकमान्डु