ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा गरेको राष्ट्र बैंकको निष्कर्ष, प्रवक्ता भन्छन्: निगरानी गर्दैछौं



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले बैंकहरुले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेको निष्कर्ष निकालेको छ ।

धेरै जसो वाणिज्य बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपमा ब्याजदर बढाएका छन् । बैंकहरुमा सबैभन्दा बढी ब्याजदर बढाउनेमा व्यक्तिगततर्फ एनआईसी एशिया र संस्थागतमा हिमालयन बैंक छन् ।

असोजमा ब्याजदर बढाएर निक्षेप तानेका बैंकहरुले कात्तिकदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर वृद्धिको विषयमा राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गरेका थिए ।

छलफलमा बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा असोजदेखि नै शुरु भएको र कात्तिकमा बढेको निष्कर्ष राष्ट्र बैंकका अधिकारीहरुले निकालेका छन् ।
नेपाल राष्ट्र बैंकले प्यानिक हुने गरेर ब्याजदरमा बृद्धि चाहेको थिएन । बैैंकहरुले भने प्यानिक नै हुने गरेर ब्याजदर बढाएका छन् ।

एनआईसी एशियाले व्यक्तिगततर्फ ११.१० प्रतिशत ब्याजदर दिने योजना ल्याएको छ । व्यक्तिगततर्फ एनआईसी एशिया र लक्ष्मी बैंकले सबैभन्दा बढी ब्याजदर बढाएका छन् ।

असोज महिनामा सानिमा, सनराइज, मेगा बैंकले निक्षेप बढाएका थिए । राष्ट्र बैंक असोज महिनामा नै ब्याजदर बढाउने सानिमा तथा सनराइजसँग समेत सन्तुष्ट थिएन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले ब्याजदर बजारलाई नै छाड्ने निर्णय गरेको हुँदा हस्तक्षेप गर्न नसकिने बताए ।

‘केही बैंकहरुले अस्वस्थ प्रतिष्पर्धा गरेपनि हाम्रो निष्कर्ष हो, हामीले ब्याजदर बढेको विषयलाई अध्ययन गरिरहेका छौं, संयमित हुन समेत अनुरोध गरेका छौ,’ उनले भने ।

प्रत्येक बैंकको डाटा लिएर अध्ययन गरिरहेका छौं, त्यसपछि एक्सन लिन्छौंः प्रवक्ता ढकाल

बैंकहरुले युद्धस्तरमा निक्षेपको ब्याजदर बढाएका छन् । राष्ट्र बैंकले यसलाई कसरी लिएको छ ?
वाणिज्य बैंकले ब्याजदरको विषयमा अस्वस्थ प्रतिष्पर्धा गरिरहेको जस्तो देखिएको छ । हामीले संयम हुन भनिरहँदा पनि संयम हुन नसकेको हो कि जस्तो हाम्रो बुझाइ छ । ब्याजदर बढाउँदा एउटा बैंकमा भएको निक्षेप अर्को बैंकमा जाने मात्रै हो । त्यसैले बजारमा स्थिरता होस् र संयम होउन भन्ने हाम्रो चाहना हो । अब वाणिज्य बैंकहरुको ब्याजदरको तथ्यांक संकलन गरेर हेर्नुपर्ने हुन्छ । तर झट्टै हेर्दा अलिकति स्वस्थ प्रतिष्पर्धा होइन कि भन्ने देखिएको छ ।

बैंकहरुले ११ प्रतिशतभन्दा बढीसम्म निक्षेपको ब्याजदर बढाइसकेका छन् । ब्याजदर बढाउने बैंकले निक्षेप बढाउने तर कम्प्लायन्समा बस्ने बैंकहरुको के गर्ने ? राष्ट्र बैंकले अभिभावकीय जिम्मेवारी कसरी निर्वाह गर्छ ?
हामीसँग केही खेल्ने ठाउँहरु छन् । ब्याजदर बढायो भन्दैमा धेरै फरक पर्दैन । अहिले केहीले घटाएका पनि छन् । ब्याजदर बढाएर निक्षेप तान्ने र पछि घटाउने र अर्कोले पनि त्यसै गर्दा कसैलाई पनि राम्रो गर्दैन । र, ब्याजदरमा आएको यो तहसम्मको वृद्धिदरले वित्तीय स्थायित्वमा फरक पार्दैैन ।

ब्याजदर बढाउने बैंकहरुलाई के गर्नुहुन्छ ?
२०४६/४६ सालदेखि नै हामीले बैंकहरुलाई ब्याजदर निर्धारणमा स्वतन्त्र छाडिएको हो । हामीले यति ब्याजदर तोक्नुहोस् भनेर भनेका छैनौं । तर बजारमा भइरहेको गतिविधिलाई नजिकबाट हेरिरहेका छौं । तर ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले कामहरु पनि गरिरहेको छ । अब अध्ययनपछि प्राप्त हुने निष्कर्षबाट के गर्नुपर्छ त्यो उपाय अबलम्बन गर्छौ ।

कात्तिकमा त बढ्यो मंसिरमा ब्याजदर बढ्न नदिने भन्नेतर्फ पुग्नु भएको हो ?
त्यसरी भन्न मिल्दैन । यो सबै बजारको आवश्यकता, माग र आपूर्ती, रेमिट्यान्सलगायतका हिसाबले पनि फरक पार्छ । आजैका मितिमा हामीले यस्तो पोलिसी ल्याउन सक्छौं भन्ने छैन । राष्ट्र बैंक आफ्नो भूमिकामा सहज छ । अध्ययनपछि उपयुक्त निकासमा पुग्छ । यहाँ एउटा मात्रैले बढायो त्यो खराब र नबढाउने खराब भन्ने पनि होइन ।


क्लिकमान्डु