बैंकले निक्षेपमा ब्याजदर बढाउँदा सेयर बजारमा पहिरो, कारोबार रकम ३ अर्ब पनि पुगेन



काठमाडौं । दशैंको विदापछि खुलेको आइतबार हरियाली छाएको बजारमा सोमबार राताम्मे भएको छ । सोमबारदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा युद्धस्तरमा बढाएपछि त्यसको असर सेयर बजारमा देखिएको हो ।

सोमबार नेप्से परिसूचक ६८.९० अंकले घटेर २५८८ अंकमा सीमित भएको छ । भारी अंकले नेप्से घटेका दिन कारोबार रकममा पनि बढ्न सकेन ।

यो दिन ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९० रुपैयाँमा कारोबार भएको छ । यो दिन जम्मा १० वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै २०६ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।

यो दिन उपसमूहतर्फ ट्रेडिङबाहेक सबैमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा घलेम्दी हाइड्रोपावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनीलगायतका कम्पनीको सेयर मूल्य पनि घटेको छ ।


क्लिकमान्डु